मध्यपहाडी राजमार्गको सुरुवाती बिन्दुमा तेस्रो पटक म्याद थप्दा पनि काम लथालिंग

राजमार्गलाई तीन खण्डमा कालोपत्र गर्ने जिम्मेवारी लिएका रोशन शिवशक्ति जेभी र सन्तोषी शिवशक्ति जेभीले काममा लापरबाही गर्दा निर्माणले गति लिन सकेन 

असार २, २०८२

लक्ष्मी गौतम

The work on the starting point of the Madhyapahari highway is still in progress despite the third extension of the deadline

पाँचथर — राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको सुरुवाती बिन्दुमा सडक निर्माणको काम लथालिंग बनेको छ । राजमार्गलाई विभिन्न तीन खण्डमा कालोपत्र गर्ने जिम्मेवारी लिएका रोशन शिवशक्ति जेभी र सन्तोषी शिवशक्ति जेभीले काममा लापरबाही गर्दा निर्माणले गति लिन नसकेको हो ।

हालसम्म यो सडकअन्तर्गतको पहिलो खण्डमा २७, दोस्रो खण्डमा १४ र तेस्रो खण्डमा ४९ प्रतिशत मात्रै काम भएको छ । जब कि यो सडक २०७८ सालमै पूरा भइसक्नुपर्थ्यो । 

निर्माण व्यवसायीले ज्याला भुक्तानी नदिएका कारण मजदुरले काम छाडेपछि मध्यपहाडी लोकमार्गअन्तर्गत ५१ किलोमिटर क्षेत्र लाथलिंग छ । विभिन्न तीन खण्डमा राजमार्ग कालोपत्र गर्ने जिम्मेवारी लिएका रोशन शिवशक्ति जेभी र सन्तोषी शिवशक्ति जेभीले भुक्तानी नदिएका कारण १ सय ५० जना कामदार १५ दिनअघि काम छोडेर हिँडेका छन् । ६ महिनादेखि काम गरेको ज्याला नपाएको उनीहरूको गुनासो छ । 

निर्धारित समयमा काम नसकेको कम्पनीलाई सरकारले पटक–पटक गरेर तीन पटक म्याद थपिदिएको छ । तेस्रो पटक थपिएको म्याद आउँदो मंसिरमा सकिँदै छ । सन्तोषी शिवशक्ति जेभीका कारण दोस्रो खण्ड झनै लथालिंग छ ।

पहिलो र तेस्रो खण्डमा पनि वर्षायाममा गाडी गुड्ने सम्भावना न्यून रहेको याङ्वरक गाउँपालिका–१ का वडा सदस्य नरबहादुर गुरुङ बताउँछन् । निर्माण व्यवसायीले कामदारलाई झन्डै एक करोड पारिश्रमिक भुक्तानी दिन बाँकी रहेको उनले जनाए । 

निर्माण व्यवसायी सुरेन्द्र पाठकले पटकपटक काम अगाडि बढाउने प्रतिबद्धता जनाए पनि आवश्यक औजार, उपकरण, यन्त्र र जनशक्ति नखटाएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय फिदिमको भनाइ छ । याङ्वरक–४ दारिम्बादेखि ओयाम वडा २ फलैंचा र वडा १ च्याङथापु हुँदै सिक्किमसँगको सीमावर्ती नाका चिवाभन्ज्याङ जोड्ने यो सडकको काम चाँडो सक्न पटकपटक ताकेता गर्दा पनि व्यवसायीले नटेरेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय प्रमुख दीपेन्द्र पाण्डेले बताए । 

सडक कालोपत्र गर्ने ठेक्का लिएको निर्माण कम्पनी सन्तोषी शिवशक्ति जेभीका सञ्चालक पाठकले तीनवटै खण्डको ठेक्का पाउनु पनि दुर्भाग्यपूर्ण भएको पाण्डेको टिप्पणी छ । सडक लथालिंग हुँदा पाँचथरको याङ्वरक गाउँपालिका–१ २ र ३ सँगै छिमेकी जिल्ला ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ र २ का बासिन्दालाई सास्ती भएको छ । वर्षायाममा यो ठाउँमा खाद्यान्न र दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ हुनेमा स्थानीय चिन्तित छन् । 

जिल्ला प्रशासन कार्यालय आयोजना कार्यालय हुँदै मन्त्रीस्तरमा यो सडकको ठेक्का तोड्न छलफल भइरहे पनि त्यसले सार्थकता पाएको छैन । ठेक्का तोडिएपछि कसरी काम गर्ने भन्ने विषयमा अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीचको तादात्म्य नमिल्दा पनि सडकको यो अवस्था भएको हो ।

दारिम्बादेखि चिवाभन्ज्याङसम्मको ५१ किलोमिटर सडक कालोपत्र गर्न २ वर्षभित्र सक्ने गरी १ अर्ब २५ करोड रुपैयाँ लागतमा काम सक्ने गरी २०७६ माघमा शिवशक्ति निर्माण सेवाले सरकारसँग ठेक्का सम्झौता गरेको थियो । ठेक्का लिएको ६ वर्षसम्म यो सडकमा अपेक्षित प्रगति हुन सकेको छैन । 

यहाँको ओयाम खोला, ओसाम खोला र फलाम खोलाका पुलसँगै विभिन्न खोल्सामा लगाएका कल्भर्ट र कजवे गत वर्ष असार २ को वर्षाले बगेका थिए । यी खोला–खोल्सामा पानी नपर्दा जेनतेन गाडी र मान्छे तर्न सके पनि वर्षाका बेला वारपार गर्न सकिँदैन । 

शिवशक्ति निर्माण सेवाका प्रोपाइटर सुरेन्द्र पाठक भने सधैंझैं कोरोनाकाल, २०७९ को निर्वाचन हुँदै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण निर्धारित समयमा काम गर्न नसकेको दाबी गर्छन् । ठेकेदारले जेजस्तो बहाना बनाए पनि काममा पटक्कै ध्यान नदिएको आयोजना प्रमुख पाण्डेय बताउँछन् । ‘हिउँदभर कहाँ जान्छन्, वर्षा लाग्न थाल्दा २–४ कामदार ल्याएर फिल्डमा छोड्छन् । उनको यही प्रवृत्तिले सडक यो हालतमा पुगेको हो,’ पाण्डेयले भने । 

दारिम्बादेखि चिवाभन्ज्याङ जोड्ने यो सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । तीनवटै खण्डको ठेक्का शिवशक्ति निर्माण सेवाले ‘ज्वाइन्ट भेन्चर’ (जेभी) मा पाएको हो । पहिलो खण्डमा रोशन/शिवशक्ति जेभी, दोस्रो खण्ड सन्तोषी/शिवशक्ति जेभी र तेस्रो खण्ड रोशन/शिवशक्ति जेभीले ठेक्का लिएका छन् । यद्यपि तीनवटै खण्डका प्रोपाइटर भने सुरेन्द्र पाठक नै हुन् । वर्षा सुरु हुनुअघि करिब दुई घण्टामा पार गर्ने थर्पुदेखि च्याङथापुसम्मको २१ किलोमिटर सडक पार गर्न आजकाल दिनभर लाग्ने गरेको चालक मोहन लिम्बू सुनाउँछन् ।

निर्माण व्यवसायीको लापरबाहीकै कारण थर्पुदेखि ओयामसम्मको सडक खण्ड क्षतविक्षत भएको याङ्वरक–३ का वडाध्यक्ष विमल राईले जनाए । ठेकेदारले काम अधकल्चो छोड्दा थर्पु–च्याङथापु सडक खण्डमा दैनिकजसो दुर्घटना हुने गरेको याङ्वरक–३ कै विज्ञान प्रसाईंले सुनाए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully