एक अर्ब ३७ करोड असुलउपर गरी जेल सजाय मागसहित ६ जनाविरुद्ध मुद्दा
काठमाडौँ — राजस्व अनुसन्धान विभागले आफ्नो कम्पनीको पोर्टल सर्भर अस्ट्रेलियाबाट सञ्चालन गरेर काठमाडौंको तीनकुनेमा कार्यालय राखी व्यापारिक कारोबार गरी ठूलो रकम राजस्व छली गरेको अभियोगमा ६ जनाविरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
अस्ट्रेलियामा कम्पनीको कारोबारको पोर्टल सर्भर सञ्चालन गरेर नेपालबाट व्यापारिक कारोबार गरी एक अर्ब ३६ करोड ८८ लाख ११ हजार राजस्व छलेको अभियोगमा मुद्दा दायर गरिएको हो ।
आरोपितहरुबाट छली गरेको राजस्व रकम असुलउपर गरी उनीहरुलाई जेल सजायसमेत गर्नुपर्ने मागदाबी गरिएको छ । विभागका अनुसार नेपाल क्यान मुभ प्रालिले आर्थिक वर्ष २०७६/०७७ देखि कम्पनीको कारोबार नेपालको कर प्रशासनसँगको पहुँच बाहिर राखेर व्यावसायिक कारोबारका लागि प्रयोगमा ल्याएको अनलाइन प्रणाली पोर्टल डट नेपालक्यानमुभ डट कम (एनसीएम) नियन्त्रणमा लिएर अनुसन्धान गर्दा मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको देखिएको हो ।
विभागले ठूलो परिमाणमा राजस्व छली गरेकाले अभियुक्तहरु मिलेमतो गरी भाग्न सक्ने भएकाले विदेश आवतजावतमा रोक लगाउन अध्यागमन विभागलाई अनुरोधसमेत गरेको छ । विभागले यस प्रकारको कारोबारबाट भएको राजस्व छलीको मुद्दा पहिलोपटक दायर गरेको हो ।
विभागको टोलीले २०८१ फागुनसम्मको करोबार खुल्ने कम्पनीको ट्रायल व्यालेन्ससहितको कागजात बरामद गरी अनुसन्धान गर्दा पोर्टलको सर्भर अस्ट्रेलियामामा राखी सेवा बिक्रीको ठूलो कारोबार आन्तरिक राजस्व कार्यालयमा पेस नगरेको देखिएको थियो । पेस गरेको कारोबारमा पनि ठूलो मात्रामा आयकर तथा भ्याट छली गरेको देखिएको छ । काठमाडौंका तीनकुनेमा कार्यालय राखेर उनीहरुले कार्गो, कुरियर सेवा सञ्चालन गरेको देखिएको छ ।
उनीहरुले अनलाइनबाट बिक्री हुने सामान डेलभरीमा सघाएको र यसबापत लिने सेवा शुल्क पनि कारोबारमा न्यून देखाएको अनुसन्धानबाट देखिएको छ । विभागले राजस्व चुहावट कसुरमा कम्पनीका सञ्चालकहरु तिलोतमा नगरपालिका–२ रुपन्देहीका सुदिप आचार्य, रुरु गाउँपालिका–५ गुल्मीका जीवन ज्ञवाली, झापा गाउँपालिका–६ झापाका गंगाबहादुर थापा, मध्यपुर नगरपालिका–३ भक्तपुरका मनिष प्रसाद आचार्य, तानसेन नगरपालिका– ७ पाल्पाकी मठु पौडेल तथा कम्पनीका कर्मचारी (उपकार्यकारी निर्देशक) लालबन्दी नगरपालिका–१ सर्लाहीका संगम पौडेलविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुमध्ये गंगाबहादुर, मनिष र संगमलाई पनि पक्राउ गरेर अदालत बुझाइएको छ । पक्राउ परेकी मिठुलाई विभागले तारेखमा राखेको छ भने २ जना फरार छन् । उनीहरु भाग्न सक्ने भएकाले विदेश आउजाउमा रोक लगाउन अध्यागमन विभागलाई पत्राचार गरिएको राजस्व विभागले जनाएको छ ।
अनुसन्धान अधिकृतका अनुसार अभियुक्तहरुले सुरुमा आफ्नो कारोबार लुकाउन खोजेका थिए । अनुसन्धानका क्रममा राजस्व चुहावट रकम धेरै देखिएपछि उनीहरुलाई बयान लिने क्रममा पक्राउ गरिएको थियो । राजस्वले कम्पनीको कार्यालय तीनकुनेमा गत फागुनको अन्तिम साता छापा मारेको थियो ।
विभागकी उपकार्यकारी निर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा कम्पनीको ५५.३३ प्रतिशत शेयर भएका सुदिप र १६ प्रतिशत शेयर भएका जीनवलाई विभागले पटक–पटक सम्पर्कमा ल्याउन खोज्दा पनि सम्भव नभएको उल्लेख छ । अनुसन्धान अधिकारीका अनुसार सुदिप र जीवनले भने अष्ट्रेलियामा रहेर कारोबार सञ्चालन गरी राजस्व छलीमा मुख्य भूमिका निर्वाह गरेको देखिन्छ ।
कम्पनीको सेवा बिक्रीलाई तोडमोड गरी म्यानुअल बिलिङगरी वास्तविक कारोबार लुकाएको मूल्य अभिवृद्धि कर (भ्याट) योग्य रकम ७८ करोड २८ लाख ४६ हजार ७ सय ६७ देखिएको थियो । उक्त रकमको १३ प्रतिशतले हुने मूल्य अभिवृद्धि कर तथा १५ प्रतिशतले हुने व्याजसमेत भ्याटतर्फ २६ करोड ७ लाख ५० हजार पाँचसय १५ कर छली गरेको दाबी विभागले गरेको छ ।
त्यस्तै राजस्व चुहावट ऐन अनुसार तत्तत् आर्थिक वर्षको आय समावेश गरी सतप्रतिशतले हुने जरिवाना, किस्ताबन्दीले हुने १५ प्रतिशत किस्ताबन्दी व्याज २०८२ जेठसम्मको ४२ करोड ३६ लाख ५५ हजार, २ सय ४५ कायम गरिएको छ । विभागले भ्याट, आयकर, ब्याज, किस्तालगायतका शीर्षकमा कुल बिगो ६८ करोड ४४ लाख ५ हजार ७ सय ६० कायम गरिएको थियो । बिगोअनुसार सतप्रतिशत जरिवानासमेतबाट हुन आउने १ अर्ब ३६ करोड ८८ लाख ११ हजार रुपैयाँ आरोपीहरुबाट असुल्नुपर्ने माग विभागले गरेको छ ।
उनीहरुलाई राजस्व चुहावट ऐन अनुसार कैद सजायको माग दाबी पनि गरेको छ । विभागले जारी गरेको विज्ञप्ति अनुसार प्रमुख कार्यकारी निर्देशक संगम पौडेललाई भने मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुन माग गरिएको छ । पौडेल मुख्य अभियुक्त नभइ मतियारको रुपमा काम गरेकाले आधा सजाय माग गरिएको हो । राजस्व चुहावट ऐन अनुसार मुख्य अभियुक्तलाई बढीमा ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था रहेको छ ।
