मधेशको अर्थतन्त्र उकासिन्छ : गर्भनर

ऋणमा बिचौलियाको जगजगी नरोके कारबाहीको चेतावनी

असार २, २०८२

अजित तिवारी

Madhesh's economy will grow: Governor

जनकपुर — नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले मधेशको अर्थतन्त्र उकास्न थुप्रै काम भइरहेको बताएका छन् । उनले पूर्वाधारका क्षेत्रमा भइरहेका कामले मधेशको अर्थतन्त्र 'बुम' हुने समय आइरहेको बताए । 

‘मधेशको अर्थतन्त्र चलायमान हुने थुप्रै योजना निर्माणाधीन छ,’ नेपाल राष्ट्र बैंक जनकपुरले सोमबार आयोजना गरेको छलफल कार्यक्रममा गर्भनर पौडेलले भने, ‘आर्थिक क्षेत्रमा देखिएका समस्या हटाउन हरसम्भव प्रयास भइरहेको छ ।’ उनले मधेशको अर्थतन्त्र उकासिने चार कारण पनि बताए । पहिलो- कञ्चनपुर–पथलैया चार लेन राजमार्ग, दोस्रो- काठमाडौं–निजगढ द्रुतमार्ग, तेस्रो- मिर्चैया–घुर्मी–लुक्ला सडकमार्ग र चौथौ- हुलाकी राजमार्गको पूर्णतासँगै मधेशको अर्थतन्त्र उकासिने उनले दाबी गरे । 

‘मिर्चैया–घुर्मी–लुक्ला सडक निर्माणपछि जनकपुर त पोखराजस्तै हुन्छ,’ गर्भनर पौडेलले भने, ‘आन्तरिक र बाहृय पर्यटक जनकपुरमा स्टे गरेर लुक्लासम्म पुग्छन् । यसले नेपालमा धार्मिक र पर्वतीय पर्यटन दुवैलाई टेवा पुग्नेछ ।’ छलफलका सहभागीहरुले मधेश प्रदेशका बैंक तथा वित्तीय संस्थामा ऋण लिँदा बिचौलियालाई प्रयोग गर्ने गरिएको गुनासो गरेका थिए । 

गर्भनर पौडेलले भने ऋण प्रवाह वा बैंक तथा वित्तीय क्षेत्रको कुनै पनि काममा बिचौलिया प्रयोग भएको थाहा पाए राम्रो नहुने चेतावनी दिए । ‘बिचौलियाको प्रयोगमा शून्य सहनशिलता अपनाउनुस्,’ उनले भने, ‘मैले थाहा पाएँ भने राम्रो हुन्न । प्रहरी लगाएर समात्न लगाउँछु ।’ उनले मधेशका बैंक तथा वित्तीय संस्थामा स्थानीय भाषा बुझ्ने फोकल पर्सन राख्न र वित्तीय साक्षरताको कार्यक्रम सञ्चालनमा ल्याउन सुझाव दिए । 

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका उपाध्यक्ष दीपेन्द्र महासेठले किसानलाई चाहिने २–४ लाख रुपैयाँ ऋणमा बैंकले ध्यान नदिँदा बिचौलिया र मिटरब्याजीको जगजगी भएको आरोप लगाए । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बैकिङ क्षेत्र र बिचौलियाबीच रहेको सम्बन्धले ऋणीहरु समस्यामा परेको बताए ।

विभिन्न बैंकका प्रबन्धले मधेश प्रदेशमा कृषि, होटल, ट्रेडिङ, अटोलगायतका क्षेत्रमा ऋणको माग उच्च रहेको बताएका थिए । उनीहरुले कोभिड महामारीपछि र मिटरब्याजी कस्ने कानुन आएपछि मधेश प्रदेशमा साँवा–ब्याज असुल्न समस्या रहेको पनि बताए ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully