काठमाडौँ — चालु आर्थिक वर्षको असारमा मात्रै साढे ३ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई)प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार १४१ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको हो ।
स्वचालित मार्ग (अटोमेटिक रुट) भन्दा अप्रुभल रुटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ । असारमा मात्रै स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ८८ उद्योगमा ५० करोड १७ लाख ७० हजार रुपैयाँ र अप्रुभल रुटबाट ५३ उद्योगमा ३ अर्ब ४ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको असारसम्म ७१७ उद्योगमा ६० अर्ब ६० करोड ९४ लाख ४३ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिने गरेको समेत सरोकारवालाको भनाइ छ । प्रतिबद्धता तथा स्वीकृत रकम एकै पटक नभित्रिनेसमेत सरकारी अधिकारी नै बताउँछन् ।
सबै भन्दा बढी लगानी प्रतिबद्धता सूचना तथा प्रविध उद्योग र पर्यटनमा आएको छ । सूचना तथा प्रविधि उद्योगमा ३१३. ४४ प्रतिशत, पर्यटनमा २६६.३७ऽ सेवा क्षेत्रमा ७६.११, उत्पादन क्षेत्रमा ४८.७, कृषि उद्योगमा ११.११ पूर्वाधार क्षेत्रमा २ र ऊर्जा क्षेत्रमा १ प्रतिशत मात्रै लगानी प्रतिबद्धता आएको छ ।
नेपालमा लगानी गरेबापत विदेशी लगानीकर्ताले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ९ अर्ब ६० करोड ८ लाख ३२ हजार रुपैयाँ लाभांश फिर्ता लैजान गरी उद्योग विभागबाट स्वीकृति पाएको छ । विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ९७ करोड २८ लाख ९५ हजार रुपैयाँ लाभांश फिर्ता गर्न स्वीकृत गरिएको थियो ।
विभागका अनुसार ११ महिनामा विदेशी लगानीकर्ताले १ अर्ब ६८ करोड १४ हजार रुपैयाँ रोयल्टी फिर्ता लैजान स्वीकृति दिएको हो । रोयल्टीबापत ९९ लाख १७ हजार २० अमेरिकी डलर, ८३ करोड १७ लाख ३७ हजार भारु र ६१ हजार ४३१ युरो समेत बाहिर लैजान स्वीकृत गरिएको विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको जेठमा मात्र लाभांशबापत ८ करोड ७८ लाख २ हजार रुपैयाँ स्वीकृत गरिएको विभागको तथ्यांक छ । रोयल्टीबापत १६ करोड १४ लाख ९५ हजार रुपैयाँ, ५ लाख ५२ हजार २८९ अमेरिकी डलर र ४२ करोड ५१ लाख ८४ हजार भारु फिर्ता लैजान स्वीकृत गरिएको छ ।
