२३ हजार २५० केजी काँचो र सुकाएको चाना अदुवा युरोप निकासी

असार २, २०८२

माधव अर्याल

23 thousand 250 kg raw and dried rice ginger exported to Europe

पाल्पा — पाल्पाको निस्दी गाउँपालिका–५, गल्धाका किसानले उत्पादन गरेको २३ हजार २ सय ५० किलो काँचो तथा सुकाएको चाना अदुवा यसवर्ष युरोप निकासी भएको छ ।

गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिलमाया सारुका अनुसार आइतबार १४ हजार ५ सय ६० किलो सुकाएको चाना अदुवा गल्धाबाट युरोपका लागि निकासी गरेको हो । यो काँचो अदुवा झण्डै ६५ हजार किलो हुन्छ । 

यसबाट सहकारीलाई ७१ लाख ९१ हजार १ सय ८४ रुपैयाँ आम्दानी भएको उनले बताइन् । व्यवस्थापक सारुका अनुसार यसअघि यसैवर्ष अर्गानिक प्रमाणित भएको काँचो अदुवा ८ हजार ६ सय ९० केजी युरोप निकासी भइसकेको छ । 

यसबाट ८ लाख १९ हजार ४ सय ६७ रुपैयाँ सहकारीले आम्दानी गरेको उनले बताइन् । सहकारीले तीन वर्ष अघिदेखि अदुवाको सुकेका चाना निकासी गर्दै आएको थियो । 

यसवर्ष अर्गानिक प्रमाणित भएको काँचो अदुवासमेत निकासी गर्न सफल भएको सहकारीकी अध्यक्ष अममाया मश्राङ्गीले बताइन् । ‘२० हजार केजी काँचो अदुवाको माग थियो,’ उनले भनिन्, ‘तर माग अनुसार उत्पादन हुन नसक्दा थोरै मात्र निकासी गरेका हौं ।’ 

जुसजन्य प्रयोजनका लागि लगाइएको बोसे अदुवा राम्रो नफलेका कारण लक्ष्य अनुसार पठाउन नसकेको उनले बताइन् । सुकेको चाना अदुवाको पनि २० हजार किलो माग थियो । अर्गानिक प्रमाणित भएको अदुवा कम भएकाले थोरै निकासी भएको हो । 

23 thousand 250 kg raw and dried rice ginger exported to Europe

सहकारी अन्तर्गतका २ सय ७२ जना किसानसंग अर्गानिक प्रमाणित गरेको अदुवा खरिद गरी युरोप निकासी गर्दै आएको छ । यहाँका महिलाले विभिन्न सरोकारवाला निकायको सहयोगमा चार वर्षदेखि अदुवा प्रशोधन उद्योगसमेत संचालन गर्दै आएका छन् । तीन वर्ष अघिदेखि सुकाएको अदुवाको चाना मुलुकभित्रका सहरका साथै युरोपसम्म निर्यात गर्दै आएको छ ।

सदरमुकाम तानसेदेखि ६५ किलोमिटर टाढा पर्ने यस गाउँमा उत्पादन भएको अदुवा अकिस्टा नेपालले नसे जातको अदुवाको २० हजार केजी सुकाएको चाना माग गरेको थियो । सुकाउनुअघि काँचो अदुवा ६० देखि ६५ हजार केजी हुन्छ । 

सहकारी संस्थाले २०८१ जेठ महनिामा ४ हजार ४ सय ६० केजी अदुवाको चाना युरोपको बजारमा पठाएको थियो । संस्थाले २०८० सालमा अर्गानिक प्रमाणित गरेर ८ सय ५ किलो अदुवाको चाना नमुना परीक्षणका लागि युरोप पठाएको थियो । सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा अदुवा धुने, चाना पार्ने, सुकाउने, पिस्ने, प्याकेजिङ गर्ने सामग्री सहयोग जुटाएर महिलाहरुलाई रोजगार दिएको छ ।

महिलालाई आत्मनिर्भर गराउन नगदेबाली अदुवा लगाउन प्रोत्साहन गर्दै आएको संस्थाकी नारायणी ढुंगानाले बताइन् । गल्धा क्षेत्रको मात्र अर्गानिक प्रमाणित भएकाले आगामी दिनमा नजिकका ज्यामिरे, मित्याल, झिरुवास र सहलकोटको अदुवा पनि अर्गानिक प्रमाणितको पहल गर्ने संस्थाले जनाएको छ । 

निस्दीमा उत्पादित अदुवा स्थानीय व्यापारीले खरिद गरी यसअघि बुटवल, भैरहवा, काठमाडौंदेखि छिमेकी देश भारतसम्म मात्र पुगेको थियो । गतवर्ष ३९ हजार ८ सय ८४ केजी अदुवा खरिद गरी ३९ लाख ७६ हजारमा खरिद गरी ४७ लाख ६८ हजारमा बिक्री गरेको थियो ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully