'समाजवाद भनेर नथाक्ने पार्टीहरुको झिलिमिली पुँजीवाद प्रकट भएको बजेट हो यो'
काठमाडौँ — नेकपा एसका सांसद राजेन्द्रप्रसाद पाण्डेले दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षाविपरीत बजेट ल्याएको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद पाण्डेले कम्युनिस्ट पार्टीको अध्यक्ष प्रधानमन्त्री, कम्युनिस्ट पार्टीकै अर्थमन्त्री र दुई तिहाई सरकारले संविधानमा उल्लेखित समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा प्रतिबद्ध भनेर भनिए पनि सोहीअनुरुप बजेट आउन नसकेको बताएका हुन् ।
बजेट व्यापारी र सरकारबीचको सम्झौताको दस्ताबेज भएको आरोप लगाउँदै सांसद पाण्डेले बलियो सरकारको अति कमजोर र समाजवाद भनेर नथाक्ने पार्टीहरूको झिलिमिली पुँजीवाद बजेटमा प्रकट भएको दाबी गरे ।
'कम्युनिस्ट पार्टीको अध्यक्ष प्रधानमन्त्री, कम्युनिस्ट पार्टीकै अर्थमन्त्री र संसद्मा दुई तिहाई मतको शक्तिशाली सरकारले आम अपेक्षाविपरीत बजेट ल्याएको छ । दुवै दल संविधानमा उल्लेखित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न प्रतिबद्ध भनेर भन्ने गरिएको भए पनि सोहीअनुसारको बजेट आएन । बजेट व्यापारी र सरकारबीचको सम्झौताको दस्ताबेज हो यो । बलियो सरकारको अति कमजोर, समाजवाद भनेर नथाक्ने पार्टीहरुको झिलिमिली पुँजीवाद प्रकट भएको बजेट हो यो,' उनले भने ।
अहिले राजस्व र वैदेशिक अनुदानबाट प्राप्त रकमले चालु र वित्तीय व्यवस्थाको खर्च धान्न सक्ने नदेखिएको पनि सांसद पाण्डेको भनाइ छ । 'वैदेशिक अनुदान तीन वर्ष अगाडिदेखिको हेर्दा ६३ अर्ब सोचेकोमा २४ अर्ब, ४४ अर्बको आशा गरिएकोमा २३ अर्ब, ४९ अर्ब आशा गरिएकोमा २४ अर्ब यस्तो अवस्थामा अत्यन्तै न्यून उठेको देखिन्छ । यसलाई हेर्दा सरकारले सोचेअनुसार राजस्व परिचालन हुनसक्दैन,' उनले भने ।
