बाली लगाउने बेला किसानलाई सधैं मल अभाव

काभ्रेमा २२ हजारदेखि २५ हजार टन रासायनिक मल आवश्यक तर कोटा प्रणालीअनुसार ५ हजार ५ सय टन मात्रै उपलब्ध

असार १, २०८२

ज्योती श्रेष्ठ

Farmers are always short of fertilizer when planting crops

काभ्रे — पनौती नगरपालिका–५ ढलमलेकी पवित्रा थापालाई यतिबेला धान रोप्ने चटारो छ । सबै तयारी भए पनि आवश्यक मात्रामा रासायनिक मल नपाउँदा उनले ढिलो गरी रोपाइँ थालेकी छन् । ‘हामीले पाउने भनेको जम्मा ५ किलो युरिया मल हो, त्यही पनि सजिलै कहाँ पाइन्छ र ?, घण्टौं लाइन बसेर पाइन्छ, एक बाली लगाउन एक बोरा मल चाहिन्छ,’ उनले भनिन् ।

उनले अहिले छिमेकीसँग मल सापटी मागेर रोपाइँ सुरु गरेकी हुन् । ‘धान लगाउने बेलामा मात्रै होइन, हरेक बाली लगाउने बेलामा सधैं यस्तै समस्या झेल्नुपर्छ,’ थापाले भनिन् । 

पनौती–५ सुब्बागाउँकी सुकुमाया श्रेष्ठलाई धान रोप्न र मकैका लागि मल नपाएको बताइन् । ‘५ किलो मल लिन १० ठाउँ धाउनुपर्छ, निकै सास्ती खेप्नुपर्छ,’ उनले भनिन् । उनलाई रोपाइँ गर्न हतार भइसक्यो तर मल पाएकी छैनन् । एक–दुई दिनमा पाइएला कि भन्ने लागेको छ । पनौती–५ की रमा भुजेलले पर्याप्त मात्रामा मल हाल्न नपाउँदा बाली राम्रो नभएको बताइन् ।

‘मल नपुगेपछि बाली नै राम्रो हुँदैन,’ उनले भनिन्, ‘पाँच वर्षयता मकै, आलु, धानमा पर्याप्त मात्रामा मल हाल्नै पाइएको छैन, पहिला मल पुग्थ्यो, बाली पनि राम्रो हुन्थ्यो, अहिले त मल पाउनै गाह्रो छ ।’ बाली लगाउने बेलामा कहिले बीउ नपाउने त कहिले मल नपाइने समस्या रहेको भुजेलले बताइन् ।

किसानलाई यतिबेला धान रोप्ने चटारो छ । तर देशैभर रासायनिक मलको अभावका कारण किसानले आवश्यक मात्रामा पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय धुलिखेलमा भेटिएका नमोबुद्ध दाप्चाका एक किसानले पर्याप्त मात्रामा मल खरिद गर्न नपाएको बताए ।

‘सरकारले कोटा प्रणालीमा मल वितरण सुरु गरेदेखि पर्याप्त मात्रामा मल पाइएको छैन,’ उनले भने, ‘हामीलाई चाहिने २ सय बोरा मल हो, कोटाको आधारमा मल दिइने भएकाले जम्मा ८० बोरा मात्रै पाएका छौं ।’ उनका अनुसार यहाँबाट लगेको ८० बोरा मल किसानले मुस्किलले ५ किलोभन्दा धेरै पाउँदैनन् ।

युरिया खरिद गर्न सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ देखि कृषि सामग्री कम्पनीको कार्यालय धुलिखेलसम्म आइपुगेका सुनीलकुमार महतले कोटाका आधारमा ५० बोरा मात्रै मल पाए । उनका अनुसार किसानको मागअनुसार ४ सय बोरा मल पाउनुपर्ने हो । तर, कोटाका आधारमा दिइने भएकाले आवश्यकताभन्दा कम मल पाएको उनले गुनासो गरे ।

‘३ वर्षयता आवश्यक मात्रामा मल पाइएको छैन,’ उनले भने, ‘किसानको आवश्यकताअनुसार मल पाउने दिन कुर्नर्बुाहेक अर्को विकल्प छैन, अहिलेका लागि भने तोकिएको कोटाअनुसार मल पाइएको छ, पाउँदै नपाउनुभन्दा यति भए पनि पाइएको छ ।’

सिन्धुपाल्चोकबाट रासायनिक मल खरिद गर्न धुलिखेल आइपुगेका व्यवसायी नानीराम महतले गोदाममा नै पुग्ने मल नभएको बताए । ‘यहींबाट पुग्ने गरी मल नदिएपछि किसानलाई पर्याप्त मल कसरी वितरण गर्न सकिन्छ,’ उनले भने । रासायनिक मल वितरणमा सरकारले लागू गरेको कोटा प्रणालीका कारण आवश्यकताअनुरूप काभ्रेका किसानलाई मल वितरण गर्न नसकिएको कृषि सामग्री कम्पनी काभ्रेका प्रमुख योगेन्द्र पराजुलीले बताए ।

उनका अनुसार यहाँको किसानको आवश्यकताअनुसार २२ हजारदेखि २५ हजार टन रासायनिक मल चाहिन्छ । तर, कोटा प्रणालीअनुसार जिल्लाका लागि ५ हजार ५ सय टन मात्रै उपलब्ध हुँदा किसानलाई आवश्यक मात्रामा मल वितरण गर्न नसकिएको उनले बताए । 

‘करिब एक सातादेखि यहाँको गोदाम नै खाली थियो,’ उनले भने, ‘भर्खरै मल आइपुगेको छ, रोपाइँको समय सुरु भइसकेको छ, किसानलाई मल वितरण गर्ने कोसिस गरिरहेका छौं ।’ उनका अनुसार काभ्रेका लागि सरकारले छुट्याएको कोटाअनुरूप मल किसानका लागि पुग्दैन ।

‘यहाँका किसानले विशेष गरेर आलु, मकै, धान लगाउने गर्छन्, २/३ बाली त आलु लगाउँछन्, अन्य तरकारी पनि लगाउँछन्, जसमा किसानले रासायनिक मल धेरै प्रयोग गर्ने गर्छन्,’ उनले भने, ‘यहाँ लगाइने बाली, उपयोग गरिएका जमिन र किसानको आवश्यकताका आधारमा सरकारले रासायनिक मल वितरणका लागि कोटा प्रणाली तय गर्नुपर्ने हो तर त्यसो गरिएको छैन ।’ 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully