बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात : मासिक २५ करोड रुपैयाँ आम्दानी हुने अनुमान

असार १, २०८२

कान्तिपुर संवाददाता

Export of 40MW electricity to Bangladesh: Estimated income of Rs. 25 crores per month

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले शनिबार राति (असार १ अर्थात जून १५) १२ बजेबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बंगलादेश विद्युत् निर्यात गरेको छ । 

गत वर्ष कात्तिक ३० (नोभेम्बर १५) मा पहिलोपटक करिब १२ घण्टा भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष गएराति १२ बजेदेखि पुनः निर्यात सुरु गरेको हो । 

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बंगलादेशमा विद्युत् व्यापारबाट एक अर्ब २५ करोडभन्दा बढी आम्दानी हुने बताएका छन् । उर्जा मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले बंगलादेशमा बिजुली निर्यात गरी मासिक २५ करोड भन्दा बढी आम्दानी गरि पाँच महिनामा एक अर्ब २५ करोडभन्दा बढी आम्दानी हुने बताएका हुन् ।

दक्षिण एसियाबाट तेस्रो मुलुक बिजुली निर्यात गर्ने पहिलो देश नेपाल भएको र बंगलादेशसँग पहिलो पटक विद्युत् व्यवसायिक रुपमा बिक्री सुरु हुनु देश र जनताको लागि निकै गर्व र खुसीको कुरा भएको मन्त्री खड्का भनाइ छ ।

ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल हुने भन्दै मन्त्री खड्काले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरी भारतलाई १० हजार र बंगलादेशलाई ५ हजार मेगावाट निर्यात गरेर आर्थिक रुपमा समृद्धि हासिल गरिने बताए । गत वर्षको असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएको थियो । 

पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपाल उर्जा व्यापारको युगमा प्रवेश गरेको भन्दै भारत र बंगलादेशमा बिजुली निर्यात गरि अर्बौं आम्दानी गर्ने बताए । 'अहिले लोडसेडिङ छैन र हुँदैन पनि । उत्पादित बिजुली बढी भएरै बिक्री सुरु गरिएको भन्दै ट्रिपिङको समस्या कहिलेकाहीँ देखिएर झ्याप झ्याप बत्ति जाने गरेपनि यसलाई हटाउँदै लगिएको छ,' उनले भने । विगतका वर्षमा पनि प्राविधिक कारणले ट्रिपिङको समस्या रहेको र गत वर्षभन्दा अहिले क्रमश: कम हुँदै गएकोले लोडेसेडिङ भन्ने भ्रम नपाल्न उनले आग्रह गरे । 

ऊर्जा सचिव सुरेश आचार्यले भारत र बंगलादेशबीचकाे प्रसारणलाइनको कन्टिजेन्सीका कारण अहिले ४० मेगावाट मात्रै निर्यात भएपनि भविष्यमा ५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य रहेको बताए । 

कान्तिपुर

Link copied successfully