काठमाडौँ — एमाले सांसद भीमप्रसाद आचार्यले बजेटमा गरिएको राजस्व प्रस्ताव चुनौतीपूर्ण रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद आचार्यले बजेट तुलनात्मक रूपमा यथार्थपरक, समस्या केन्द्रित र समस्या पहिचान गर्दै समाधानकेन्द्रित रहेको दाबी गरेका हुन् ।
'बजेटमा अर्थमन्त्रीले राजस्वतर्फ १३ खर्ब १५ अर्ब जुटाउने भन्नुभएको छ । र राजस्वबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने १ खर्ब ६५ अर्ब जोड्दा जम्मा राजस्व १४ खर्ब ८० अर्ब उठाउनुपर्ने प्रस्ताव छ । त्यसमा वैदेशिक अनुदानमा ५३ अर्ब ४५ करोड, वैदेशिक ऋणमा २ खर्ब ३३ अर्ब ६६ करोड, आन्तरिक ऋणमा ३ खर्ब ६२ अर्ब भन्ने छ । यो जुन खालको प्रस्ताव छ यो अत्यन्तै चुनौतीपूर्ण छ,' उनले भने ।
अहिलेको भूराजनीतिक परिस्थितिका कारण आपूर्ति श्रृंखला, मूल्यवृद्धि र निर्यातजन्य कुरामा प्रभाव पर्ने र आयआर्जनका कुरामा नकारात्मक प्रभाव पर्नसक्ने सांसद आचार्यको भनाइ छ । 'भर्खरै अस्ति सुरु भएको इजरायल–इरानबीचको द्वन्दबाट हिजोमात्र ११ प्रतिशत भन्दा बढी कच्चा तेलको मूल्यवृद्धि भएको छ र यसले आपूर्ति श्रृंखलालाई प्रभावित गर्ने, मूल्यवृद्धि गर्ने र निर्यातजन्य कुरालाई प्रभावित भावित पार्ने, आयआर्जनका कुरामा नकारात्मक प्रभाव पर्ने खालको अवस्था सिर्जना भएको छ । त्यसकारण अहिलेको भूराजनीतिक अवस्थामा राखिएको उद्देश्य चुनौतीपूर्ण छ,' उनले भने ।
