पर्यटकले गुलजार बन्यो जेठो हिमाल पुग्ने कान्छो पदमार्ग

जेष्ठ ३०, २०८२

घनश्याम खड्का

Tourists have become Gulzar, the youngest footpath to reach Jheto Himal

(अन्नपूर्ण बेसक्याम्प) म्याग्दी — नेपालको पर्वतारोहणलाई संसारभर चिनाउने जेठो अन्नपूर्ण प्रथम हिमाल पुग्न हालै मात्र स्थानीयले पहिचान र प्रवर्द्धन गरेको कान्छो पदमार्ग गुलजार बनेको छ। अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमाललाई पर्वतारोहणको हिसाबले जेठो हिमाल भनिन्छ । 

अन्नपूर्ण आरोहणको ७५ वर्षपछि सो हिमाल पुग्न पूर्वाधारसहितको सजिलो र छरितो पदमार्ग विकास गरिएपछि ‘जेठो हिमाल पुग्ने कान्छो पदमार्ग’ पछिल्ला केही वर्षदेखि गुलजार बनेको छ। स्थानीय पर्यटन व्यवसायीका अनुसार चैत–वैशाख–जेठ २० गतेसम्ममा कान्छो पदमार्गमा क्याम्प, ब्याकप्याक र टी हाउस ट्रेकमा गरी ६ हजार आन्तरिक पर्यटक पुगे । 

‘अन्नपूर्ण आधार शिविरसम्म पुग्ने यस पदमार्गका कम्तीमा ७ स्थानमा ४०–५० जनासम्म सजिलै खाना र बास बस्न मिल्ने अस्थायी प्रकृतिको बासस्थान बनेपछि आन्तरिक पर्यटक धेरै आउन थालेका छन् । यही सिजनमा मात्र ६ हजार हाराहारी आन्तरिक पर्यटक आएका छन्। हिमाल चढ्न आउने पर्यटकहरू पनि यस वर्ष हेलिकोप्टरबाट गएनन्, हिँडेरै गए,’ मौसिर हर्जोग पदमार्गमा पर्ने गुफाफाँटस्थित होटेलका सञ्चालक अनिल मगरले भने, ‘पदमार्गमा पर्ने अति सुन्दर फुतफुते झरना र बेस क्याम्पमा रहेको निलो पञ्चकुण्ड हिमतालले धेरै पर्यटक आकर्षित भएका छन् ।’

अन्नपूर्ण प्रथम हिमालमा मानव पाइला परेको ७५ वर्ष पूरा भएको छ। सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही माउरिस हर्जोगको टोलीले सर्वप्रथम अन्नपूर्णको चुचुरोमा पाइला राखेको थियो। उनै पर्वतारोही मौरिस हर्जोगले लेखेको र आजसम्म ४० बढी भाषमा अनुवाद भएको र विश्वको सर्वाधिक बिक्री भएको पुस्तक ‘दि अन्नपूर्ण’ नामक पुस्तकले नेपालमा पर्यटनको ढोका उघारेको मानिन्छ । 

संसारमा ८ हजार मिटरभन्दा अग्ला १४ मध्ये ८ वटा हिमाल नेपालमै छन् । अन्नपूर्णमा सफल आरोहण भएको १ वर्षपछि मात्र संसारको सर्वाधिक अग्लो सगरमाथा हिमालको आरोहण भएको थियो । त्यसपछि सगरमाथामा सिजनमै सयौँ पर्वतारोही उक्लिन्छन्, आधार शिविरमा हजारौँ पर्यटक पुग्छन् । तर यही पुस्तकले विश्व विख्यात बनेको जेठो हिमाल अन्नपूर्ण र पहिलो आरोही मौरिस हर्जोगले हिँडेको बाटो भने गुमनाम रह्यो । 

‘संसारकै पर्वतारोहणको इतिहासमा ८ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण प्रथम हिमाल आज भन्दा ७५ वर्ष अघि नै आरोहण भएपछि अझै गुमनाम र ओझेलमा भएको देख्दा अचम्म लागेको छ,’ अन्नपूर्ण हीरक महोत्सव मनाउन बेस क्याम्प पुगेका नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले भने, ‘पहिलो आरोहीले लेखेको ‘दि अन्नपूर्ण’ पुस्तक संसारभर चर्चित हुने तर उनै आरोही हिँडेको बाटो भने कसैले नपछ्याउने भएछ । किताबमा पढिने र मान्छे नपुग्ने किन भयो अध्ययन गरिनु पर्ला ।’

लामिछानेले थपे, ‘अन्नपूर्ण हिमाल संसारलाई हिमाल चिनाउने नाम मात्र होइन नि, नेपाललाई चिनाउने ढोका थियो । तर विडम्बना ७५ वर्षसम्म बाटै ओझेलमा रह्यो, सायद स्थानीय र जिल्लावासीको पहुँच अभाव र सक्रियता पुगेन कि ?’ 

हर्जोग र उनको टोली सदस्यहरू लुइस लचेनल, गास्टन रेबुफा, लियोनेल टेरे समेत  सुरुमा भारतको गोरखपुरबाट समेत देखिने ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका लागि हिँडेको थियो । टोली पोखराबाट म्याग्दी सदरमुकाम बेनी हुँदै म्याग्दी खोला पछ्याउँदै धौलागिरि हिमाल तर्फ जानु पर्नेमा भुलवश काली गण्डकी नदी पछ्याउँदै मुस्ताङको लेते पुगेको थियो । 

लेतेबाट टोली पूर्व मोडिए भेडा गोठालो र सिकारी मार्ग पछ्याउँदै निलगिरी साउथ हिमालको फेदीको ५ हजार मिटर अग्लो खर्क छिचोल्दै अन्नपूर्ण हिमालबाट बग्ने मिस्ट्रीखोला (मिस्री खोला) किनारामा अवस्थित भुस्केटमेला भन्ने पाखोमा पुगेको थियो । त्यसपछि केही घण्टामै निलगिरी नर्थ, तिलिचोपीक र अन्नपूर्ण प्रथम हिमाल फेदीको बेस क्याम्प पुगेको थियो । 

अन्नपूर्ण बेसक्याम्पबाट हिमालको उत्तरीमोहडाहुँदै सन् १९५० जुन ३ तारिकमा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग र लुइस ल्याचेनलले अन्नपूर्ण प्रथम (८०९१ मी.) विना अक्सिजन आरोहण गरेका थिए । हर्जोगले पहिलो वास बसेको पहिलो क्याम्प अहिले तिलिचो पीकबाट झरेको हिम पहिरोले क्षति पुर्‍याएको छ । सो समयको हिमनदी पग्लेर अहिले विशाल हिमताल बनेको छ ।

माथिल्लो ग्लेसियर पातलो हुँदै कालो पहाड मात्र देखिन थालेको छ । ठुला ठुला बरफका ढिक्का फुट्दै चिरा परेका खाल्टो ‘खरपस’ वा क्रेबसहरु गर्मीले पग्लँदै ठुलो पानीको झरनाको रूपमा बग्दै छ । हिमालबाट पानीको झरना खसेको देख्दा झट्ट देख्दा सुन्दर लागे पनि यो भविश्यकालागी खतराको संकेत हो ।

‘हिमालमा तीव्र परिवर्तन भइरहेको छ । ३० वर्ष अघि मैले देखेको अन्नपूर्ण बेस क्याम्प वरपरको हिमनदी अहिले करिब अस्थित्वमै छैन । अन्नपूर्ण चढ्ने बाटोमा पर्ने ग्लेसियर पग्लेर पातलो भइसक्यो,’ हिमाली क्षेत्रमा खोज तथा उद्धारमा सक्रिय इन्द्रसिंह शेरचनले भने, ‘यही सिजनमा अन्नपूर्णको क्याम्प टु मा भएको हिमपहिरोमा ज्यान गुमाएका शेर्पाहरूको उद्धार गर्न पुग्दा त्यहाँ पनि चक्ला चक्ला पर्दै हिउँ तल लच्केको देखेँ।’

अन्नपूर्ण प्रथम आरोहण गर्ने यो बाहेक अर्को मार्ग हालसम्म पहिचान भएको छैन । धेरै म्याप र विवरणहरूमा भने नर्थ अन्नपूर्ण बेस क्याम्प भन्ने भ्रमपूर्ण विवरण पाइन्छ । वास्तवमा अन्नपूर्ण हिमश्रृखलामा कुनै नर्थ अन्नपूर्ण भन्ने हिमालको नाम नै छैन । अन्नपूर्ण प्रथम हिमालको बेस क्याम्प पनि भौगोलिक हिसाबले अन्नपूर्णको पश्चिम फेदीमा अवस्थित छ । तर अन्नपूर्ण आरोहण भने उत्तरी मोहडाबाट मात्र हुँदै आएको छ ।

‘अन्नपूर्ण हिमाललाई सानो तर कष्टपूर्ण हिमाल मानिन्छ । अन्नपूर्ण आरोहण पनि निक्कै टेक्निकल छ’ अन्नपूर्ण आधार शिविरमा भेटिएकी अन्नपूर्ण हिमालको पहिलो महिला आरोही पूर्णिमा श्रेष्ठले भनिन, ‘अब त अन्नपूर्ण बेस क्याम्पसम्मै सजिलो पदमार्ग बनेका छन्, बेस क्याम्पसम्म ब्याकप्याक ट्रेक नै गर्न सकिने छ । टिहाउस ट्रेकको रूपमा विकसित भइरहेको पाएँ ।’

Tourists have become Gulzar, the youngest footpath to reach Jheto Himalअन्नपूर्ण प्रथम हिमालको फेदीमा रहेको पञ्चकुण्ड हिमताल छेउमा राखिएको पर्यटकका टेन्ट तथा टी हाउस । तस्बिर : घनश्याम खड्का/कान्तिपुर

अन्नपूर्ण बेस क्याम्पमा राखिएको पहिलो आरोहीहरू हर्जोग, लाचेनल र शेर्पाको सालिक छेउमा राखिएको ताम्र पत्रमा उल्लेख भएअनुसार सन् २०२५ सम्ममा ५ सय ६ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् । तथ्याङ्कको हिसाबले हेर्दा ३२ प्रतिशत बढी आरोहीहरूले अन्नपूर्ण आरोहण क्रममा ज्यान गुमाएका छन् ।

अन्नपूर्ण हिमालको प्रथम आरोही मौरिसको सन् २०१२ मा ९३ वर्षको उमेरमा मृत्यु भइसकेको छ । मृत्यु अघि अन्तिम पटक हर्जोग सन् २०१० सालमा अन्नपूर्ण बेस क्याम्प पुगेपछि बेस क्याम्पबाट निक्लने खोला मिस्टीखोला पछ्याउँदै सबैभन्दा नजिकको बस्ती नारच्याङमा ओर्लेका थिए । उनै मौरिसको प्रेरणाबाट हालको मौरिस हर्जोग ट्रेल खोलिएको हो । 

हर्जोगले झकझकाएपछि स्थानीय प्रभा माध्यमिक विद्यालयका शिक्षक तेजबहादुर गुरुङको अगुवाइमा विस २०६८ सालमा गाउँको बीचमा बग्ने मिस्ट्रीखोला पछ्याउँदै अन्नपूर्ण हिमाल र आधार शिविर तथा मिस्ट्रीखोलाको मुहान रहेको हिमतालसम्म पुग्ने १६ दिन लामो पदमार्ग पहिचान भएको थियो ।

त्यसपछि शिक्षण पेसा त्यागेर गुरुङ यो पदमार्ग प्रवर्द्धन अभियानमा निरन्तर जुटेका छन् । सो पदमार्गलाई स्थानीय अन्नपूर्ण गाउँपालिकाले विस २०७७ सालमा ‘मौरिस हर्जोग पदमार्ग’ नामाकरण गरेको थियो । जन्मथलो पर्वत छोडेर गुरुङ अहिले अन्नपूर्ण अवस्थित नारच्याङमा घरबाससहित अन्नपूर्ण हिमालमा पर्यटन प्रर्वद्धनमा जुटेका छन् ।

‘दुई दशक अघिसम्म अन्नपूर्ण हिमाल आरोहण गर्ने जाने पर्वतारोही मुस्ताङबाट छिरेर बेसक्याम्प पुग्थे । अन्नपूर्ण हिमाल म्याग्दीको भूगोलमा पर्ने तथ्य र त्यहाँ पुग्ने मार्गको पहिचान नै भएको थिएन । गाउँमा बग्ने खोलो पछ्याउँदै जाँदा त्यसको मुहान अन्नपूर्ण हिमताल र अन्नपूर्ण आरोहण हुने एक मात्र रुट यही हो भन्ने पहिचान भएको हो,’ अन्नपूर्ण पदमार्ग प्रवर्द्धनमा जुटेका अभियन्ता तेजबहादुर गुरुङले भने, ‘अहिले अन्नपूर्ण आधार शिविरमा एक–दुई दिनमै सजिलै टी हाउस ट्रेक गर्दै पुग्न सकिने भएको छ । वाहृयमात्र हैन आन्तरिक पर्यटकले सिजनमा पदमार्ग गुलजार भएको छ ।’

दुई पालिकाको नाम एउटै  ‘अन्नपूर्ण’

अन्नपूर्ण प्रथम र साउथ हिमालको पूर्व र पश्चिममा अवस्थित कास्की र म्याग्दीका दुई पालिकाले आ–आफ्नो नाम ‘अन्नपूर्ण’ राखेका छन् । 

अन्नपूर्ण हिमालबाट उठ्ने पर्यटन रोयल्टी एकलौटी बुझ्दै आएको कास्कीले अन्नपूर्ण हिमालको स्वामित्व लिने ‘अन्नपूर्ण गाउँपालिका’ नामाकरण गरेको छ । त्यस्तै, भूगोलमा पर्ने तथ्य प्रमाणसहित म्याग्दीले पनि सोही हिमालको स्वामित्व लिन ‘अन्नपूर्ण गाउँपालिका’ नाम राखेको हो ।

वित्त आयोगका पदाधिकारीले स्थलगत अध्ययनपछि अन्नपूर्ण हिमालबाट प्राप्त हुने रोयल्टी म्याग्दी र कास्कीलाई बाँडिदिएपछि राजनैतिक तथा निजामती क्षेत्रमा बढी पहुँच र प्रभाव राख्ने कास्कीले ‘सङ्घीय’ मन्त्रालय मार्फत नाम जुधेको भन्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई नाम फेर्न दबाबमूलक पत्राचार गरेपछि विवाद बल्झेको छ ।

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully