उद्यमीलाई न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाखसम्म कर्जा
काठमाडौँ — चालु आर्थिक वर्षका लागि ६६१ उद्यमी छनोट भएकामा हालसम्म ७८ जनाले ८ करोड २५ लाख रुपैयाँ स्टार्टअप कर्जा लिएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ९७ जनाले कर्जा लिन खाता खोलेको जनाएको छ । आगामी असारभित्र छनोट भएका सबै उद्यमीलाई कर्जा प्रवाह गर्ने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले गत भदौ ११ मा कर्जा प्रवाहका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो । त्यति बेला अनलाइन र भौतिक रूपमा उपस्थित भई ५ हजार १५८ उद्यमीले प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये पुस १९ मा १ हजार ३१४ उद्यमी परियोजना प्रस्तुतीकरणका लागि छनोट भएका थिए । छनोट भएकामध्ये १ हजार ७३ उद्यमीले पुस अन्तिम सातादेखि चैतको दोस्रो सातासम्म परियोजना प्रस्तुतीकरण गरेका थिए । त्यसपछि गत वैशाख २१ मा स्टार्टअप कर्जा पाउन योग्य ६६१ उद्यमीको नाम प्रतिष्ठानले सार्वजनिक गरेको थियो ।
साथै वैशाख २६ मा कुन उद्यमी राष्ट्रिय वाणिज्य बैंकको कुन शाखामा जानेसमेत सूचना जारी गरेको थियो । कर्जाका लागि सिफारिस भएका उद्यमीले नामसूची सार्वजनिक भएको ४५ दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क नगरे परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले स्टार्टअप कर्जा प्रवाहका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार विनियोजित बजेटबाट ३ प्रतिशतसम्म प्रतिष्ठानको प्रशासनिक खर्च, कर्जा सुरक्षा (बिमा) का लागि २५ प्रतिशत निक्षेप तथा कर्जा सुरक्षा कोषमा र बाँकी रकम उद्यमीहरूलाई प्रवाह गरिनेछ । प्रतिष्ठानले ७७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्ने जनाएको छ ।
प्रतिष्ठानले उद्यमीलाई न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा वितरण गर्नेछ । गत आर्थिक वर्ष प्रतिष्ठानले १६५ उद्यमीलाई २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान/भ्याट दर्ताको सक्कल, उद्यमीको नागरिकताको सक्कल, आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटो, व्यवसायको छाप, परियोजना लिज/भाडामा सञ्चालनमा रहेको भए सम्झौताको प्रतिलिपि तथा व्यवसायको प्रकृतिअनुसार अन्य निकायबाट लिनुपर्ने अनुमतिपत्र लिएर तोकिएको बैंक शाखामा जानुपर्नेछ ।
छनोट भएका परियोजनाको प्रस्तुतीकरण र बैंकबाट ‘क्रेडिट अप्रेजल’ भई प्राप्त अंकभारको ५० प्रतिशतभन्दा बढी ल्याउने उद्यमीलाई प्राथमिकताका आधारमा कर्जा प्रवाहका लागि सिफारिस गरिएको प्रतिष्ठानको सूचनामा उल्लेख छ । प्रस्तावकर्ताको व्यवसायको फोटो, भिडियो, वित्तीय विवरण तथा अन्य विवरण प्रस्तुतीकरण र मूल्यांकन समितिको प्रश्नोत्तरलाई समेत आधार मानी प्रतिष्ठानले गठन गरेको मूल्यांकन समितिले मूल्यांकन गरेको हो । सरकारले आगामी आर्थिक वर्ष स्टार्टअप कर्जा प्रवाह गर्न ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
