सबैभन्दा बढी ङादी ग्रुप पावरको १ अर्ब ८ करोड १४ लाखको सेयर कारोबार
काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार भने उच्च भएको छ । एकै दिन १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको हो । यो पछिल्लो तीन महिनायताकै उच्च हो । यसअघि २० फागुनमा १२ अर्ब ९४ करोड ६४ लाखको सेयर कारोबार भएको थियो ।
कारोबार रकमका आधारमा बिहीबार ङादी ग्रुप पावर सबैभन्दा अगाडि रह्यो । यो कम्पनीको १ अर्ब ८ करोड १४ लाखको कारोबार भएको छ । यसैगरी, सानिमा माई हाइड्रोपावरको ७५ करोड ३८ लाख, राधी विद्युत् कम्पनीको ५४ करोड ४१ लाखको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार युनिभर्सल पावर कम्पनीको ४८ करोड ८८ लाख र बुटवल पावर कम्पनीको ४६ करोड ९० लाखको कारोबार भएको छ । जलविद्युत् उपसमूह ८.२३ अंकले बढ्दा धेरै कमाउने कम्पनीको सूचीमा जलविद्युत् कम्पनी नै अघि रहे । पियोर इनर्जीको ९.९९ प्रतिशतले सेयर मूल्य बढ्यो ।
चन्द्रागिरि हिल्सको ६.७८, रसुवागढी हाइड्रोपावर कम्पनीको ५.९९, तेह्रथुम पावर कम्पनीको ५.९९ र नेपाल फाइनान्सको ४.९७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यस्तै, गुराँस लघुवित्तको ९.९०, रिभर फल्स पावरको ६.९७, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ५.५८, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.०१ र ग्रिन डेभलपमेन्ट बैंकको ४.७९ प्रतिशत मूल्य घटेको छ । बिहीबार नेप्से परिसूचक भने ९.०८ अंकले घटेको छ । शून्य दशमलव ३४ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ५५ दशमलव ३८ बिन्दुमा ओर्लिएको हो । कुल १ लाख २ हजार ८९५ पटकको किनबेचबाट २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
होटल तथा पर्यटन उपसमूह १४४.८८, फाइनान्स २१.७४, सामूहिक लगानी कोष शून्य दशमलव शून्य १ प्रतिशतले बढे । घट्ने उपसमूहमा जीवन बिमा, निर्जीवन बिमा, व्यापार, विकास बैंक, लघुवित्तलगायत रहे । अबको करिब एक महिनामा राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदै छ । हालै राष्ट्र बैंकको गभर्नर भएका विश्वनाथ पौडेलले सेयर बजारलाई प्रोत्साहन गर्ने बताएका छन् ।
उनले सेयर बजारको लगानी आर्थिक वृद्धिमा योगदान पुर्याउने खालको बनाउने बताएका थिए । जसअनुसार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिमभार १ सय ५० प्रतिशतबाट घटाएर १ सय प्रतिशत मात्र कायम गरेका छन् । तर, यो निर्णयले सेयर बजारमा सकारात्मक प्रभाव देखिएन । सोही कारण आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर बजारप्रति के कस्तो निर्देशन आउँछ, त्यसका आधारमा लगानी निर्णय गर्ने भनेर लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको जानकार बताउँछन् ।
नेप्से घटेसँगै पछिल्ला दुई कारोबार दिनमा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा ३७ अर्ब ९५ करोड ११ लाख रुपैयाँले घटेको छ । गत मंगलबार ४४ खर्ब ६० अर्ब ९८ रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार ४४ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ ।
पुँजीकरण घट्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा कमी हुनु हो । यही आधारमा पुँजीकरण घट्दा लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको रूपमा विश्लेषण गरिन्छ ।
