चुरे क्षेत्रमा नदी उत्खनन तीव्र

जेष्ठ २९, २०८२

नवराज सुवेदी

River mining intensified in Chure area

झापा — बाहुनडाँगीपूर्व प्रकृति पार्क आसपासको मेची बगर क्षेत्र यतिबेला नदीजन्य सामग्रीको थुप्रोले ढाकिएको छ । पार्क आसपासमा मात्रै आधा दर्जनभन्दा बढी स्थानमा गिट्टी–बालुवा थुपारेर अग्ला अग्ला पहाड बनाइएको छ ।

मेचीनगर नगरपालिकाले गत जेठ १४ मा सार्वजनिक सूचना जारी गर्दै ९ वटा नाका तथा घाटको नाम तोकेर तोकिएको परिमाणमा नदीजन्य सामग्री उत्खनन तथा संकलन भइसकेको जनाउँदै उत्खनन गर्न रोक लगाएको थियो । 

‘आर्थिक वर्ष २०८१/८२ का लागि यस नगरभित्रका टिमाई, निन्दा, हडिया, मेची नदीहरूबाट आईईई प्रतिवेदनले निर्धारण गरेका परिमाणमा नदीजन्य पदार्थ उत्खनन संकलन भइसकेको हुँदा निम्न नाका–घाटबाट उत्खनन संकलन नगर्नू/नगराउनू । उत्खनन संकलन गरे कारबाही हुने,’ नगरले सूचनामार्फत निर्देशन दिएको थियो ।

उक्त सूचनामा ९ नाका तथा घाटको नाम समावेश गरेर उत्खनन रोक्न भनिएको पहिलो नम्बरमा थियो, मेची खोला प्रकृति पार्क उत्तर–पूर्व बाहुनडाँगी । मेची खोलाको प्रकृति पार्क उत्तर–पूर्वबाट नदीजन्य पदार्थ उत्खनन नगर्न नगरले गत जेठ १४ मै निर्देशन दिएको थियो । त्यसको ११ दिनपछि जेठ २५ मा आइतबार त्यहाँ पुग्दा प्रकृति पार्कभन्दा करिब एक किलोमिटर उत्तरबाट नदीजन्य पदार्थ उत्खनन निर्बाध संकलन भइरहेको थियो । 

प्रकृति पार्क उत्तर एस्क्साभेटर प्रयोग गरेर दर्जनौं टिपरले नदीजन्य सामग्री ओसारिरहेका थिए । उनीहरूलाई कसैको पर्वाह थिएन । नेपाल प्रहरी संकलन भइरहेको स्थानको नाकामै तैनाथ थिए । तर नदीजन्य पदार्थको ओसारपसार रोकिरहेका थिएनन् । नगरपालिका मातहतको नगर प्रहरी गाडी नै लिएर त्यहाँ पुगे पनि रोकेनन् । कति मात्रामा यहाँबाट नदीजन्य सामग्री उत्खनन भइरहेको छ ? कहाँ लगिँदै छ भन्ने नियमनकारी निकायलाई चासो थिएन ।

यस क्षेत्रमा नदीजन्य पदार्थको ठेक्का द पूर्वाञ्चल निर्माण सेवा मेचीनगर–८ झापाले लिएको नगरको योजना तथा प्रशासन शाखाले जनाएको छ । त्यहाँ अहिले सोही कम्पनीको रसिदमा उत्खनन तथा संकलन कार्य भइरहेको छ । उक्त शाखाका अनुसार द पूर्वाञ्चलले १७ स्थानबाट नदीजन्य सामग्री उत्खनन गर्न पाउने गरी २०८१ फागुन ५ मा एक करोड ७१ लाख ९९ हजार ९ सय ९८ रुपैयाँमा ठेक्का लिएको थियो । जसमा मेची नदीबाट ३२ हजार ४ सय २३ दशमलव २९ घनमिटर, हडियाबाट ८ हजार ८ दशमलव ९१ घनमिटर, निन्दाबाट २३ हजार ८ सय १८ दशमलव ५५ घनमिटर र टिमाईबाट १७ हजार ३ सय ४० दशमलव ०५ घनमिटर नदीजन्य सामग्री उत्खनन तथा संकलन गर्न पाउने उल्लेख छ । 

द पूर्वाञ्चलले नगरसँग सम्झौता गरेबमोजिम अर्थात् आईईई प्रतिवेदनमा तोकिएबमोजिम मात्रै नदीजन्य सामग्री उत्खनन गरेको दाबी गरे पनि स्थलगत रूपमा भने त्यस्तो पाइँदैन । कतै एकै ठाउँबाट धेरै सामग्री निकालेर खाल्डो नै बनाइएको छ भने कतै नदीजन्य सामग्रीको पहाड नै बनाइएको छ । जुन स्थलगत रूपमा मेची नदीको बगर मात्रै पुग्ने हो भने सहजै देख्न सकिन्छ । त्यहाँ केही स्थानीय युवाले पेटी ठेक्का लिएर पनि छुट्टै रूपमा नदीजन्य पदार्थ स्टक गरेको पाइएको छ । 

यसरी फरक–फरक स्थानमा नदीजन्य पदार्थ स्टक गर्ने क्रम चलेकाले मेचीको बगर यतिबेला गिट्टी–बालुवा थुपार्ने स्थान जस्तो देखिएको हो । अर्कोतर्फ काँकडभिट्टा उत्तर–पूर्व मेचीको बगरमा एकै ठाउँबाट धेरै मात्रामा नदीजन्य सामग्री उत्खनन गर्दा त्यहाँ ठूलो खाल्डो बनेको छ । त्यसो त मेचीनगरमा आईईई प्रतिवेदनले निर्धारण गरेको परिमाणमा मात्रै नदीजन्य सामग्री उत्खनन हुने गरेको यसअघिका अभ्यासले पनि देखाउँदैन । यसअघि निन्दा नदीमा नदीजन्य सामग्री उत्खनन गर्ने क्रममा खनिएको गहिरो खाल्डोमा परी मेचीनगर–३ का एक शिक्षकको मृत्यु नै भएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले भने नदीजन्य पदार्थको उत्खनन रोकिसकिएको दाबी गरे । मेची बगरमा एसियन हाइवेका लागि नदीजन्य पदार्थ स्टक गरिएको र तोकिएको परिमाणका पदार्थ स्टक गरेर पछि प्रयोग गर्न मिल्ने उनको भनाइ छ । ‘असार १ बाट खोलामा पस्न पाइँदैन । त्यसयता तोकिएको परिमाणका सामग्री स्टक राखेर चलाउन पाइन्छ । त्यहाँको स्टक एसियन हाइवेको हो,’ उनले भने, ‘नदीजन्य सामग्रीको अवैध चोरी निकासीका सन्दर्भमा भने हामी यसअघिभन्दा चनाखो छौं ।’ 

नगरका योजना तथा प्रशासन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले पनि नदीजन्य सामग्रीको उत्खनन रोकिसकिएको स्थानमा पुनः उत्खनन भएको पाइए आवश्यक अनुसन्धान गरेर कारबाही गरिने बताए । मेचीको बगरमा एकै ठाउँ धेरै उत्खनन गर्दा खाल्डो भएको, यस विषयमा निरीक्षण गरिसकेको र उक्त घटनालाई दृष्टिगत गर्दै सम्बन्धित पक्षलाई सचेत गराइसकेको उनले जनाए । 

नवराज

Link copied successfully