काठमाडौँ — चीनले दुर्लभ खनिज र तीबाट बनेका दुर्लभ चुम्बकीय पदार्थ (रेयर अर्थ म्याग्नेट) निर्यातमा कडाइ गरेपछि यसले विश्वव्यापी आपूर्ति शृंखलामा समस्या ल्याएको पश्चिमा सञ्चारमाध्यमहरूले जनाएका छन् । यसको प्रत्यक्ष असर युरोपेली कार उद्योगमा देखिन थालेको रोयटर्सको समाचारमा उल्लेख छ । कतिपय कार निर्माता कारखाना आफ्ना उत्पादन स्थगित गर्ने अवस्थामा आइपुगेको र मर्सिडिज-बेन्जजस्ता ब्रान्ड पनि अभाव सामना गर्ने विषयमा सोच्न थालेको रोयटर्सले जनाएको छ ।
दुर्लभ खनिज निर्यात गर्ने उदेश्यले कैयौं आपूर्तिककर्ताले चीन सरकरसँग 'एक्स्पोर्ट लाइसेन्स' का लागि निवेदन दिए पनि जम्मा २५ प्रतिशत निवेदन स्वीकृत भएको युरोपेली अटो पार्ट्स संघ 'सीएलईपीए'को गुनासो छ । चीनले दुर्लभ खनिज निर्यात गर्न गत अप्रिलदेखि प्रत्येक ढुवानीका लागि सरकारी अनुमतिपत्र अनिवार्य गरेको छ । यसले मुख्ययता अटोमोटिभ तथा रक्षा क्षेत्रलाई प्रभावित पारेको बताइन्छ । विभिन्न देशमा कारखाना खोलेका अमेरिकी अटो निर्माताहरूलाई पनि यसले असर गरेको छ । उनीहरूले चीनमा नै आफ्ना उत्पादन युनिट सञ्चालन गर्नुपर्ने बाध्यता आएको कतिपयको विश्लेषण छ ।
केही युरोपेली अटो पार्ट्स कारखानाले कच्चा पदार्थ अभावमा उत्पादन नै रोकेको र अन्यले आपतकालीन रणनीति बनाइरहेको बताएका छन् । यसबीच दक्षिण कोरियाली अटो निर्माता ह्युन्डाई मोटर र यसको साझेदार किया कर भने तुलनात्मक रूपमा सुरक्षित देखिएको छ । ह्युन्डाईसँग लगभग एक वर्षसम्मको उत्पादन जारी राख्न पुग्ने दुर्लभ खनिजको भण्डारण रहेको विषयमा रोयटर्सले विशेष समाचार प्रकाशित गरेको छ । कम्पनीका एक अधिकारीको भनाइअनुसार चीनले केही समयका लागि निर्यात नियन्त्रण खुकुलो गर्दा ह्युन्डाईले व्यापक रूपमा खनिज भण्डारण गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने चिनियाँ वस्तुमा अतिरिक्त ट्यारिफ घोषणा गरेपछि चीनले पनि जवाफी कदमका रूपमा खनिज निर्यातलाई नियन्त्रित गरेको मानिएको छ । यसले अमेरिका, जर्मनी, भारतलगायत देशका अटो उद्योगमा तनाव बढाएको छ । फोर्डका वित्त प्रमुख श्येरी हाउसका अनुसार चीनको नियन्त्रणले आपूर्ति व्यवस्थामा थप प्रशासनिक जटिलता थपेको छ र यो कहिले सहज त कहिले चुनौतीपूर्ण भइरहेको छ ।
युरोपेली संघले पनि यो संकटलाई गम्भीर रूपमा लिँदै वैकल्पिक स्रोतहरूको खोजी थालेको छ। संघका औद्योगिक रणनीतिकार स्टेफान सेजुर्नले चीनमा ‘शतप्रतिशतभन्दा बढी निर्भरता’ घटाउन १३ नयाँ खनिज परियोजनाको घोषणा गरेका छन् ।
यसै क्रममा लन्डनमा हालै सम्पन्न अमेरिका-चीन उच्चस्तरीय वार्ताले केही आशा देखाएको छ । वार्तामा ‘दुर्लभ खनिजको स्थितिलाई चाँडै स्पष्ट पार्ने’ सहमति भएको बताइन्छ । राष्ट्रपति ट्रम्पले भने व्यापार युद्ध र खनिज आपूर्तिमा सहमति भइसकेको आशयमा आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा पोस्ट गरेका छन् । उनले ‘डन डिल’ भन्दै समझदारी भएको घोषणा गरेका हुन् ।
खनिज आपूर्तिमा अवरोध भएपछि मर्सिडिज-बेन्जजस्ता कम्पनीले अब सम्भावित जोखिमबाट जोगिन आपूर्तिकर्तासँग ‘बफर स्टक’ निर्माणबारे छलफल गरिरहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । बीएमडब्लूको आपूर्ति नेटवर्कमा केही असरमा परे पनि हालसम्म उत्पादनमा अवरोध नभएको कम्पनीको दाबी छ ।
सीएनएनमा पत्रकार क्रिस इसिडोरले विद्यमान विश्वव्यापी व्यापार युद्धको केन्द्रमा रहेका दुर्लभ खनिजको आपूर्ति शृंखलामा समस्या बढ्दै गए यसले कोभिड महामारीका बेला देखिएको सेमिकन्डर चिपको हाहाकार सम्झाउनेछ । त्यसले नयाँ र सेकेन्ड ह्यान्ड कारदेखि स्मार्टफोनको मूल्यवृद्धि निम्त्याउन सक्ने उनले औँल्याएका छन् ।
कार, जेट इन्जिन, स्मार्टफोनदेखि टेलिभिज स्क्रिनका लागि आवश्यक पर्ने १७ वटा प्रमुख दुर्लभ खनिजमा चीनको एकाधिकार रहेको सीएनएनको विश्लेषण छ । यस्ता खनिज एमआरआई मेसिनको कन्ट्रान्स्ट डाईदेखि कतिपय क्यान्सरको औषधि बनाउनसमेत आवश्यक पर्छन् । प्रकृतिमा थोरै मात्रामा पाइने तर आधुनिक प्रविधि र उद्योगमा असाध्यै आवश्यक १७ प्रकारका रासायनिक तत्त्व नै दुर्लभ खनिज वा रेयर अर्थ एलिमेन्ट्स हुन् ।
सेरियम, प्रोमेथियम, युरोपियम, ल्युटेसियम जस्ता खनिज समुद्र, चट्टान, बालुवामा भेटिन्छन् भने केही खनिज माटोमा आयनका रूपमा टाँसिएका हुन्छन् । केही त पृथ्वीको भूगर्भमा पाइने भएकाले निकाल्न र प्रशोधन गर्न जटिल मानिन्छ । यी खनिजहरू अन्य खनिजसँग मिसिएका हुनाले प्रशोधन र शुद्धीकरण महँगो र जटिल हुने बताइन्छ । चीनले हाल करिब ९० प्रतिशतभन्दा बढी विश्वको दुर्लभ खनिज प्रशोधन गर्छ ।
