दुई दिन लगातार बढेको नेप्से दोहोरो अंकले घट्यो

सोमबार २३.१९ र मंगलबार २५.०७ अंकले बढेको नेप्से बुधबार १३.६९ अंकले घटेको हो

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

NEPSE, which increased for two consecutive days, fell by double digits

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १३.६९ अंकले घटेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ०.५१ प्रतिशतले घट्दा समग्र नेप्से २ हजार ६ सय ६४.४७ विन्दुमा ओर्लेर बन्द भएको छ । सोमबार र मंगलबार लगातार दोहोरो अंकले बढेको नेप्से बुधबार दोहोरो अंकले घटेको हो ।

सोमबार २३.१९ र मंगलबार २५.०७ अंकले नेप्से बढेको थियो । अर्थतन्त्रको शिथिलता कायमै रहेको र कहिले चलायमान हुन्छ भन्ने टुङ्गो नभएकाले सेयर बजारका लगानीकर्ताले लगानी विस्तारको निर्णय गर्न नसकेको धितोपत्र ब्रोकरहरू बताउँछन् । 

यस्तै, अबको करिब एक महिनामा राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदै छ । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल राष्ट्र बैंकको नेतृत्वमा आएसँगै सेयर बजारलाई प्रोत्साहन गर्ने बताएका छन् । गभर्नरमा नियुक्तिसँगै पौडेलले सेयर बजारको लगानीले आर्थिक वृद्धिमा योगदान पुर्‍याउने खालको बनाउने बताएका थिए ।

जसअनुसार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर १ सय प्रतिशत मात्र कायम गरेका छन् । तर, यो निर्णयले सेयर बजारमा सकारात्मक प्रभाव देखिएन । यद्यपि गभर्नर पौडेल सेयर बजारप्रति त्यति नकारात्मक छैनन् ।

यसकारण निकट भविष्यमा आउने आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर बजारप्रति के कस्तो निर्देशन आउँछ, त्यसका आधारमा लगानी निर्णय गर्ने भनेर लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको एक धितोपत्र ब्रोकरले बताए ।

‘लामो समयदेखि बजार बढ्न सकेन, अब छिट्टै मौद्रिक नीति आउँदै छ, गभर्नर पौडेल राष्ट्र बैंक बाहिर हुँदा पनि यो बजारप्रति नकारात्मक थिएनन् । यसकारण लगानीकर्ता आगामी मौद्रिक नीतिमा सेयर बजार बढ्ने खालको नीति आउने अपेक्षा लगानीकर्ताको छ,’ एक धितोपत्र ब्रोकरले भने, ‘मौद्रिक नीति आउनुअघि बजारले खासै दिशा समात्ने सम्भावना छैन । नीति कस्तो आउँछ त्यसका आधारमा बजारको दिशा निर्देश हुन्छ ।’ 

सो दिन कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्यो भने १७० वटाको घट्यो र १ वटा कम्पनीको स्थिर रह्यो । ८१ हजार ७ सय ३ पटकको सेयर कारोबारमा २ करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ९ अर्ब ९० करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । मंगलबार सेयर बजारमा १० अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये जलविद्युत्बाहेक सबैको परिसूचक घटेको छ । सो दिन जलविद्युत् उपसमूहको परिसूचक ४०.८४ अंकले बढ्यो ।

कान्तिपुर

Link copied successfully