जिम्मेवारीपूर्वक सशक्त भूमिका निर्वाह गर्न निर्जीवन बिमा कम्पनीलाई निर्देशन  

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

Instructions to non-life insurance companies to play a strong role in a responsible manner

काठमाडौँ — बिमा कम्पनीलाई वित्तीय रूपमा सबल बनाउन, मुनाफा सुनिश्चित गर्न र बिमितको हित रक्षा गर्न जिम्मेवारीपूर्वक सशक्त भूमिका निर्वाह गर्न निर्जीवन बिमा कम्पनीलाई बिमा प्राधिकरणले निर्देशन दिएको छ । बुधबार निर्जीवन बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यसँगको भेटघाटमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले निर्देशन दिएका हुन् ।

बिमा उद्योगको विद्यमान अवस्था, दाबी भुक्तानी, लगानीका क्षेत्र, डिजिटलाइजेशन, संस्थागत सुशासन, वित्तीय विवरण, बिमा शिक्षा र सेवा प्रवाहलगायत विषयमा बिमकका संचालक समितिका अध्यक्ष तथा सदस्यसँग छलफल गरी राय सुभाव प्राप्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल बिमा प्राधिकरणको आयोजनामा निर्जीवन बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बिमा सम्बन्धी समसामयिक विषयमा आज काठमाडौंमा छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष ओझाले बिमा कम्पनीलाई वित्तीय रूपमा सबल बनाउन, मुनाफा सुनिश्चित गर्न र बीमितको हित रक्षा गर्नका लागि जिम्मेवारीपूर्वक सशक्त भूमिका निर्वाह गर्न निर्जीवन बिमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यलाई निर्देशन दिए ।

‘बिमा कम्पनी सबल हुनका लागि बाध्यकारी बिमाको दायराबाट बाहिर निस्कनुपर्छ, बिमा ऐन नियम जिम्मेवारीपूर्वक पालना गर्नुपर्छ, कम्पनीको नीतिगत र दीर्घकालीन विषयमा संचालक समिति जानकार रहनुपर्छ,’ उनले भने, ‘ प्राधिकरण शूक्ष्म व्यवस्थापन गर्न चाहँदैन, शूक्ष्म व्यवस्थापनको अवस्था आउन नदिन व्यवस्थापनलाई संचालक समितिले जिम्मेवार बनाउनुपर्छ, नियन्त्रण गर्नुपर्छ ।’

बिमा कम्पनीका प्रदेश कार्यालयलाई दाबी फर्छ्यौटको अधिकार सहित सशक्त बनाउन निर्देशन दिदैँ अध्यक्ष ओझाले प्राधिकरणका प्रदेश कार्यालयमा समेत गरी दाबी भुक्तानीका उजूरीहरू बढिरहेकाले समयमैं दाबी भुक्तानी दिएर बिमाप्रतिको विश्वास बढाउनु आवश्यक रहेको बताए ।

अध्यक्ष ओझाले बिमा क्षेत्रको विकास एवम् विस्तारका लागि प्राधिकरणले सहजकर्ता र नियामकको भूमिका समानान्तर रूपमा निर्वाह गर्दै आएको बताए ।  बिमा उद्योगको विकास, बिमितको हित रक्षा, बिमाको दायरा विस्तार र लक्षित समूहसम्म बिमाको पहुँच पुर्‍याउनका लागि प्रक्षेपित सेवा दिएर सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए ।

नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बिमा उद्योगलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन, बीमितको हित रक्षागर्न र बिमा क्षेत्रमा देखिएका समस्याहरू समाधानगर्नका लागिप्राधिकरणले नियमकीयभूमिका सागसागै सहयोगीकोभूमिकासमेत निर्वाह गर्दै आएको बताए ।

कान्तिपुर

Link copied successfully