विस्तारित कर्जाको छैटौं किस्ताका लागि आईएमएफले गर्‍यो नेपालको मूल्यांकन

स्थलगत मूल्यांकनका लागि गत मे २६ देखि जुन १० सम्म सार्वत जहानको नेतृत्वमा आईएमएफको टोली काठमाडौंमा थियो 

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

The IMF has assessed Nepal for the sixth tranche of extended credit

काठमाडौँ — विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको छैटौं किस्ताका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको स्थलगत समीक्षा पूरा गरेको छ । गत साता नेपाल आएको कोषको एक टोलीले छैटौं किस्ताका लागि मूल्यांकन समीक्षाको काम सकेको हो । स्थलगत मूल्यांकनका लागि गत मे २६ देखि जुन १० सम्म सार्वत जहानको नेतृत्वमा आईएमएफको टोली काठमाडौंमा थियो । 

टोलीले तयार पारेको प्रतिवेदन आईएमएफको व्यवस्थापन र कार्यकारी समितिबाट स्वीकृत भएपछि नेपालले छैटौं किस्ताबापतको ४ करोड २७ लाख अमेरिकी डलर (करिब पौने ५ अर्ब रुपैयाँ) नेपालले प्राप्त गर्नेछ । आईएमएफले नेपाललाई यो सुविधाअन्तर्गत कुल ४९ अर्ब रुपैयाँ विस्तारित कर्जा सुविधा (ईसीएफ) दिने सहमति भइसकेको छ । 

नेपालको वित्तीय क्षेत्र सुधार र बजेटरी प्रणाली सुधारका लागि आईएमएफले यस्तो सुविधा दिन लागेको हो । विगतमा नेपालको विदेशी मुद्रा सञ्चिति उच्च दरले घटिरहेको र शोधनान्तर स्थिति घाटामा रहे पनि त्यसलाई व्यवस्थापन गर्न भन्दै सरकारले आईएमएफसँग विस्तारित कर्जा सुविधा लिने सम्झौता गरेको थियो । यसअनुसार पाँच किस्ताबापतको रकम प्राप्त गरिसकेको छ भने छैटौं किस्ताका लागि अहिले स्थलगत मूल्यांकन गरेको हो । 

कर्जा सुविधाका लागि नेपालले आयातमा प्रतिबन्ध लगाउन नमिल्ने, स्वतन्त्र लेखापरीक्षकबाट ठूला १० वाणिज्य बैंकको लेखापरीक्षण (अडिट) गर्नुपर्ने, कर्जा वर्गीकरणलाई प्रभावकारी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउनुपर्नेलगायत सर्त आईएमएफले राखेको थियो । सोही सर्तअनुसार १० ठूला बैंकको अडिट गर्न राष्ट्र बैंकले कम्पनी पनि छान्ने प्रक्रिया सुरु गरिसकेको छ । पहिलो चरणमा छानिएको मूल्यांकनकर्ता कम्पनीको विषयमा प्रश्न उठाउँदै अदालतमा रिट परेको छ । 

यो सहयोगअन्तर्गत वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षण बलियो बनाउने र वित्तीय स्थायित्व कायम गर्ने, बैंकहरूको सम्पत्तिको गुणस्तरमा कोभिड–१९ को प्रभाव निगरानी गर्ने, सम्भावना भएका तर अल्पकालमा पुँजी अभावमा रहेका व्यावसायिक संस्थाहरूमा गएको कर्जाको पुनःसंरचना गर्ने कार्यक्रम छ ।

आईएमएफको टोलीले नेपालमा आर्थिक गतिविधिमा सुधार हुन थालेको, निर्माण र उत्पादन क्षेत्रमा लयमा फर्किन थालेको र जलविद्युत् क्षमता वृद्धि भइरहेको जनाएको छ । कृषिमा सुधार देखिने भएकाले गत सेप्टेम्बरमा आएको बाढीबाट भएको आर्थिक प्रभाव केही कम हुने कोषको तर्क छ । 

चालु आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धिदर ४ प्रतिशत हुने आईएमएफको प्रक्षेपण छ । गत मार्चमा भने चालु आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४.२ प्रतिशत हुने प्रक्षेपण आईएमएफको थियो । अर्थतन्त्रमा देखिएका समस्या अझै समाधान नभएकाले चार प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने आईएमएफको प्रक्षेपण छ । 

बैंकहरूमा खराब कर्जा अझै उच्च (५.२ प्रतिशत) रहेको र सहकारीलगायतका क्षेत्रमा सुधार आउन नसकेको आईएमएफ उल्लेख गरेको छ । बैंकहरूको खराब कर्जा सुधारका लागि यसमा निहित जोखिममा सावधानी अपनाउँदै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्नुपर्ने उल्लेख गरेको छ । बचत तथा ऋण सहकारीको वित्तीय अवस्था अझै पनि चुनौतीपूर्ण रहेको आईएमएफले औंल्याएको छ ।

आगामी वर्षका २०८२/८३ मा भने आर्थिक वृद्धिदर बलियो हुने प्रक्षेपण कोषले गरेको छ भने मुद्रास्फीति नेपाल राष्ट्र बैंकको लक्षित सीमाभित्रै रहने अपेक्षा छ । यद्यपि आर्थिक प्रक्षेपणमा असर गर्ने केही महत्त्वपूर्ण जोखिमहरू जस्तै पुँजीगत परियोजनाहरूको कार्यान्वयनमा कमी, वित्तीय क्षेत्रमा बढ्दो समस्या, विश्वव्यापी व्यापार अवरोध तथा संक्रमण र अनिश्चिततालगायत समस्या कायमै रहेको विश्लेषण छ । 

आर्थिक वर्ष २०८२/८३ को बजेटले राजस्व र ऋण स्थायित्व कायम गर्ने कार्यक्रम ल्याएको छ । जसमा पुँजीगत खर्च बढाउने, निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने र सार्वजनिक विद्यालयको दिवा भोजन कार्यक्रम विस्तार गर्ने योजना पनि समावेश छ । बजेटमा उल्लिखित यस्ता कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भए आगामी आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने आईएमएफको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully