पशु सेवा विभागको प्रारम्भिक अध्ययनअनुसार खोप नलगाइएका गाईभैंसीमा रोग देखिएको पुष्टि
काठमाडौँ — दुई वर्षअघि देशभर गाईभैंसीमा महामारीझैं फैलिएको लम्पी स्किन रोग अहिले फेरि झापामा देखिएको छ । पशु सेवा विभागका अनुसार झापाको मेची नगरपालिकाका केही गाउँमा लम्पी रोग देखिएको हो । प्रारम्भिक अध्ययनमा खोप नलगाइएका गाइभैंसीमा रोग देखिएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक रामनन्दन तिवारीले रोग पहिचान गर्न टोली परिचालन गरेको जानकारी दिए । ‘एउटै गोठमा रहेका खोप लगाइएका गाईबस्तुमा रोग छैन, तर खोप नलगाइएकामा देखिएको छ,’ उनले भने । उनका अनुसार खोपले एक वर्षसम्म काम गर्छ । अवधि सकिएपछि फेरि दोहोर्याउनुपर्छ । खोप लगाउन छुटेका गाईभैंसीमा रोग देखिएको उनको भनाइ छ । जिल्लामा रोग देखिए पनि गाउँपालिका, प्रदेश सरकारबाट केन्द्र सरकारलाई रिपोर्टिङ भएको छैन ।
नेपालमा पहिलो पटक २०७७ असारमा लम्पी देखिएको थियो । २०७७ र २०७८ मा १६ जिल्लाका २९ पालिकामा फैलिएको रोगबाट ३ हजार ३ सय १ पशु संक्रमित भएका थिए भने १३ पशु मरेका थिए । सरकारले नियन्त्रणमा चासो नदिँदा २०७९ चैतमा फेरि देखापरेको थियो । २०७९ चैतमा कोशी प्रदेशबाट महामारीका रूपमा फैलिएको रोगबाट १५ लाख ३६ हजार पशु संक्रमित भएका थिए ।
कोशी प्रदेशबाट सुरु भएको रोग ७७ जिल्लामै पुष्टि भएको थियो । ७ महिनामा ६५ हजार ४ सय ४१ पशु मरेका थिए । धान रोपाइँकै मुखमा किसानको पशु मर्दा रोपाइँमा असर गरेको थियो । लम्पीकै कारण धान रोपाइँसमेत ढिलाइ भएको किसानले बताएका थिए । रोग नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको सरकारबाट सबै किसानले राहत पनि पाएनन् । बिमा कम्पनीबाट क्षतिपूर्ति पाउन नसकेका उनीहरूले सरकारले महामारी घोषणा गरे पनि राहत पाउन नसकेको बताएका छन् ।
अहिले रोगबारे गुनासो आएपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सोमबारको बैठकले पशु सेवा विभागअन्तर्गतका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेश मन्त्रालयअन्तर्गतका सम्बन्धित अधिकृत र स्थानीय तहसमेतको सहभागितामा टोली गठन गरेको छ । तत्काल रोग देखापरेका क्षेत्रमा टोली परिचालन भएको जनाएको छ ।
‘विभागका चिकित्सक मुकुल उपाध्यायको संयोजकत्वमा खटिएको टोलीले मंगलबार मेची नगरपालिकाको केही गाउँमा निरीक्षण गरेका छन् । संख्यात्मक रूपमा भन्न नसकिए पनि केही पशुमा लम्पी स्किन रोग फेला परेको छ,’ मन्त्रालयअन्तर्गत पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक तपेन्द्रप्रसाद बोहराले भने, ‘अबको विकल्प भनेको खोप नै हो । चालु आर्थिक वर्षमा पशु सेवा विभागले १४ लाख डोज खोप खरिद गरेर प्रदेशमा पठाएको छ । प्रदेश–स्थानीय तहको सहकार्यमा गाईभैंसीमा खोप लगाउनुपर्छ ।’
विभागका अनुसार लम्पी स्किन भैंसीमा विषाणुबाट लाग्ने संक्रामक रोग हो । गर्मीयाममा तीव्र रूपमा फैलिन्छ । यो रोग लामखुट्टे, झिंगा, किर्ना, भुसुनालगायतको टोकाइबाट सर्छ । संक्रमित पशुसँग प्रत्यक्ष सम्पर्कमा आएका अन्य पशुमा समेत रोग सर्छ । छोटो समयमा सर्ने हुँदा नियन्त्रण गर्न पहिलो प्राथमिकता गोठको सफाइ
जरुरी रहेको विभागले जनाएको छ । रोगको शंका लागेका पशुलाई बथानबाट छुट्याएर अलग्गै राख्नुपर्ने विभागको भनाइ छ ।
त्यस्तै, स्वस्थ गाईभैंसीमा अनिवार्य खोप लगाउनुपर्ने महानिर्देशक तिवारीले बताए । ‘अहिले सबै ठाउँमा खोप उपलब्ध छ । रोगबाट बच्न तत्काल खोप लगाउनु जरुरी छ । खोप खरिदमा संघीय सरकारले साझेदारी गरेको छ,’ उनले भने, ‘सबैको पहुँचमा ल्याउन प्रदेश र स्थानीय सरकारले पनि साझेदारी गर्नुपर्छ । रोग देखिएका ठाउँका किसानले खोप माग गर्नुपर्छ ।’ विभागबाट अनुमति पाएर आयात गरिएको एउटै खोपको मूल्य २ सयदेखि ३ सय रुपैयाँ पर्छ ।
नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष मनोजकुमार शाहीले लम्पीको भाइरस देशभर नै रहेको बताए । ‘यो रोग गर्मीमा बढी सक्रिय हुने भएकाले फेरि देखियो । तीव्र रूपमा फैलिए फेरि अर्बौं रुपैयाँको नोक्सानी हुन्छ,’ उनले भने, ‘रोग नियन्त्रण गर्न सरकारले व्यापक तयारी गर्नुपर्छ । पहिलो प्राथमिकता खोप नै हो ।’ मुलुकभित्र रहेका गाईभैंसीमध्ये कम्तीमा ८० प्रतिशतलाई खोप लगाउनुपर्ने उनले बताए । त्यसका लागि प्रदेश र स्थानीय तहमा भेटनरी अस्पताल हुनुपर्ने तर पशु चिकित्सकको नै अभाव रहेको उनको भनाइ छ ।
