राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्यांकमा उपभोक्ता मूल्यवृद्धिदर ४.४० प्रतिशतबाट घटेर २.७७ प्रतिशतमा झरेको देखिए पनि बजारमा प्रायः खाद्य वस्तुको मूल्य बढेकै छ
काठमाडौँ — नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्यवृद्धिदर घटेको उल्लेख गरे पनि बजारले त्यस्तो देखाएको छैन । बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) घटेर २.७७ प्रतिशत रहेको उल्लेख छ ।
गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर ४.४० प्रतिशत रहेको बैंकको दाबी छ । तर बजारभाउ हेर्दा धेरैजसो वस्तुको मूल्य बढेकै छ । सर्वसाधारणले मूल्य घटेको अनुभूति पाएका छैनन् ।
चामल, तेल, बेसार, मकै, गहुँलगायत धेरैजसो खाद्यवस्तुको मूल्य बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । सबैभन्दा धेरै खाने तेल र बेसारको मूल्य बढेको संघका महासचिव अमुलकाजी तुलाधरले बताए । ‘चालु आर्थिक वर्षको १० महिनाको तुलनामा थोरै वस्तुको मूल्य घटे पनि धेरैजसोमा बढेकै छ । सरकारी तथ्यांकले मूल्य घटेको देखाए पनि बजारको वास्तविकता त्यस्तो छैन,’ उनले भने, ‘खाद्य वस्तुको मूल्य घटेको छैन, बरु बढेकै छ ।’
चालु आर्थिक वर्षको १० महिनामा चामल, तेल, गहुँ, मकैदेखि गेडागुडी सबैको मूल्य बढेको छ । खाने तेलको मूल्य अचाक्ली वृद्धि भएको छ । गत साउनमा लिटरको ३ सय ७० रुपैयाँ मूल्य रहेको भुटेको तोरीको तेल गत वैशाखमा बढेर ४ सय १० रुपैयाँ पुगेको छ । काँचो तोरीको तेल प्रतिलिटर ३ सय रुपैयाँबाट बढेर ३ सय २५ रुपैयाँ अनि भटमास तेल २ सय १० रुपैयाँबाट बढेर प्रतिलिटर २ सय ५० रुपैयाँ पुगेको छ । सनफ्लावर तेल पनि लिटरको २ सय १० रुपैयाँबाट बढेर २ सय ५० रुपैयाँ पुगेको छ ।
बेसार किलोमै १ सय रुपैयाँ बढेको छ । गत साउनमा किलोको ३ सय ५० रुपैयाँ मूल्य रहेको बेसार बढेर ४ सय ५० रुपैयाँ पुगेको संघले जनाएको छ । खाद्य वस्तुको मूल्य घटबढ हुनुमा खुद्राभन्दा ठूला व्यापारी (उद्योग, आयातकर्ता) को भूमिका रहने संघको भनाइ छ । ‘बजारमा ठूला व्यापारीको सिन्डिकेट छ । उनीहरूले नै मूल्य तोक्ने हुन् । खुद्राले डिलर अनि होलसेलबाट खरिद गरेका आधारमा मूल्य तोकिन्छ । डिलरले मूल्य बढाए खुद्राले पनि वृद्धि गर्छन्,’ तुलाधरले भने, ‘राष्ट्र बैंकले भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार विश्लेषण गर्दा बजारसँग मेल खाएको छैन ।’
वस्तु आयात गर्दा भन्सारमा न्यून बीजकीकरण गरिन्छ । वस्तुको मूल्यांकन थोरै गरेर भन्सार छुटाइन्छ । राष्ट्र बैंकले सोही आधारमा बजार विश्लेषण गर्ने भएकाले बजारभाउसँग मूल्यको तालमेल नभएको व्यवसायीको दाबी छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले पनि खाद्य वस्तुको हकमा राष्ट्र बैंकको तथ्यांक बजारसँग नमिलेको बताए । ‘बजार हेर्दा सबैजसो वस्तुमा बढेको देखिन्छ । यस विषयमा उजुरी पनि परेको छ । तर राष्ट्र बैंकले मूल्यवृद्धि घटेको तथ्यांक सार्वजनिक गरेको देखिन्छ, के के आधारमा घटेको हो, प्रस्ट पार्न सक्नुपर्छ,’ उनले भने, ‘सर्वसाधारणले मूल्य घटेको अनुभूति पाएका छैनन् ।’
संघका अनुसार गत साउनमा एक किलो पोखरेली चामलको मूल्य १ सय १० रुपैयाँ थियो । वैशाखमा आइपुग्दा मूल्य बढेर १ किलोको १ सय २० रुपैयाँ पुगेको छ । एक किलो ताइचिन चिउराको मूल्य पनि त्यसैगरी १ सय ५० रुपैयाँबाट बढेर १ सय ८० रुपैयाँ पुगेको छ । किलोको १ सय ६० रुपैयाँ पर्ने मुसुर दालको मूल्य बढेर १ सय ६५ रुपैयाँ, किलोको १ सय ६५ रुपैयाँ पर्ने मुङ गेडाको मूल्य बढेर २ सय रुपैयाँ पुगेको छ । राजमा, गहुँ, मकै, मौदालगायत खाद्यवस्तुको मूल्य पनि बढेको संघले बताएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले पनि खाद्य वस्तुको मूल्य नघटेको पुष्टि गरे । खाद्य वस्तुमा कम्तीमा ५ प्रतिशत मूल्यवृद्धि भएको उनको दाबी छ । ‘लत्ताकपडामा मूल्य केही घटेको देखिन्छ, तर खाद्य वस्तुमा त्यस्तो छैन । खाद्य वस्तुमा कम्तीमा ५ प्रतिशत मूल्यवृद्धि देखिन्छ । राष्ट्र बैंककले साढे ६ सय बढी वस्तुमा औसत प्रतिशत निकाल्ने भएकाले केही घटेको देखिएको हुन सक्छ,’ महानिर्देशक दाहालले भने । खाद्य वस्तुको आन्तरिक उत्पादन र आपूर्ति नहुँदा मूल्य नघटेको उनको भनाइ छ ।
राष्ट्र बैंकले भने आन्तरिकभन्दा बाह्य कारणले मूल्यवृद्धिमा कमी आएको जनाएको छ । बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा आयात मूल्य सूचकांक २.६ प्रतिशतले घटेको छ ।
