काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानले मंगलबार संयुक्त रूपमा आयोजना गरेको योग प्रशिक्षण कार्यक्रममा सञ्चारमन्त्री, सचिव, सहसचिव र कर्मचारीले भाग लिए । सिंहदरबारस्थित रेडियो नेपालको सभाहलमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, सचिव राधिका अर्याल, सहसचिवहरू र कर्मचारीहरूले योग अभ्यास सिकेका थिए ।
कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एपी भानु शर्माले विभिन्न तीन योगासनको प्रशिक्षण दिएको सञ्चार मन्त्रालयले जनाएको छ ।
मन्त्री गुरुङले आफूलाई चिन्न सके धेरै सफलता हात पार्न सकिने धारणा राख्दै कुशल नागरिक बन्न योग र ध्यानले आन्तरिक रूपमा सघाउने धारणा राखे । सञ्चार सचिव अर्यालले कर्मचारीहरूप्रति केन्द्रित हुँदै शान्त, अनुशासित र जिम्मेवार कार्यसम्पादनमा जीवनशैली प्रेरित गर्नुपर्ने बताइन् ।
