चार दिन लगातार घटेको नेप्से २३ अंकले बढ्यो

नेप्से बढेपछि एकै दिन सेयर बजारको आकार ३९ अर्बले विस्तार, १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ वटाको घट्यो र एउटाको स्थिर रह्यो 

जेष्ठ २७, २०८२

कान्तिपुर संवाददाता

After four consecutive days of decline, NEPSE increased by 23 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २३.१९ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.८८ प्रतिशतले बढ्दा समग्र नेप्से २ हजार ६ सय ५३.०९ बिन्दुमा पुगेर बन्द भएको छ । अघिल्ला चार कारोबार दिन लगातार घटेको नेप्से सोमबार दोहोरो अंकले बढेको हो ।

गत मंगलबार ३५.७३, बुधबार ११.९७, बिहीबार ५.९९ र आइतबार ११.०६ अंकले नेप्से घटेको थियो । सोमबार भने बजार खुलदेखि नै सेयर बजार उकालो लागेको थियो । मध्याह्नमा नेप्सेमा उच्च अंकको सुधार भए पनि अन्त्यमा सवा २३ अंकको वृद्धि भएको हो । 

सोमबार नेप्से बढे पनि पछिल्ला साताहरूमा प्रायः दिन नेप्से घटेको छ । ब्याजदर न्यून अवस्थामा रहेको, वित्तीय प्रणालीको अधिक तरलता कायमै रहेको अवस्थामा सेयर बजारमा सकारात्मक असर पर्ने अनुमान धेरैले गरेका छन् । तर, बजारले अपेक्षाविपरीत प्रवृत्ति देखाउँदै आएको छ । सेयर बजार वृद्धिका लागि आवश्यक सूचकहरू सकारात्मक रहे पनि लगानीकर्ताको आत्मविश्वास बढ्न नसकेकाले नेप्से बढ्न नसकेको हो । 

सेयर बजार वृद्धिका लागि राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १ सय प्रतिशत मात्र कायम गरेको छ । बजार वृद्धिमा सकारात्मक टेवा पुर्‍याउने उद्देश्यले राष्ट्र बैंकले जोखिम भार घटाए पनि त्यसको सकारात्मक असर भने नेप्सेमा देखिएको छैन । 

यद्यपि सोमबार नेप्से बढेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि ३९ अर्बले बढेर ४४ खर्ब १९ अर्ब कायम भएको छ । आइतबार कुल बजार पुँजीकरण ४३ खर्ब ८० अर्ब कायम थियो । 

सोमबार कारोबारमा आएकामध्ये १९१ कम्पनीको सेयर मूल्य बढ्यो भने ५६ वटाको घट्यो र १ वटा कम्पनीको स्थिर रह्यो । कारोबारमा आएकामध्ये घट्नेभन्दा बढ्ने कम्पनी धेरै भएपछि समग्र नेप्सेको वृद्धिमा सकारात्मक टेवा पुगेको हो । 

सो दिन ७८ हजार ८ सय ४८ पटकको सेयर कारोबारमा १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको हो । आइतबार सेयर बजारमा ९ अर्ब १३ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन, जीवन बिमा र व्यापारको परिसूचक घटे । बाँकी सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेमा दोहोरो अंकको वृद्धि भएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully