आजदेखि नागढुंगा-नौबिसे सडक थप ५ दिन बन्द

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

Nagadhunga-Naubise road will be closed for another 5 days from today

काठमाडौँ — नागढुंगा-नौबिसे सडकको पिप्लामोड खण्ड आजदेखि थप पाँच दिन बन्द हुने भएको छ ।  बिहान साढे १० बजेदेखि ३ बजेसम्म सडक बन्द रहनेछ ।

यसअघि जेठ १० देखि आइतबार सम्म दैनिक साढे चार घण्टा उक्त खण्ड बन्द हुँदै आएको थियो ।  सवारी आवागमन रोकेर सडक निर्माण तथा सुधारको काम भइरहेको छ ।  यसअघि सडक बन्द गर्दा काम नसकिएपछि थप पाँच दिन त्यही समय राखेर सवारी आवागमन बन्द गरी काम गर्न लागिएको नागढुंगा-मुग्लिन सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।

अब थप गरिएको समयभित्र काम सकिने उनको भनाइ छ । ‘अब नागढुंगा चेकपोस्टबाट १ किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ,’ उनले भने, ‘झ्याप्ले खोलामा १ सय मिटरमा कालोपत्र गरिँदैन, नागढुंगा-सिस्नेखोला सुरुङबाट काठमाडौंतर्फ आउने सडक २.२ किमि कालोपत्र गरिसकिएको छ ।’

उक्त अवधिभर सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ । आयोजनाले साना तथा मझौला सवारीसाधनका लागि वैकल्पिक रुटका रट्ठपमा सीतापाइला-रामकोट-धार्के सडक र सामाखुसी-टोखा-छहरे-त्रिशूली-गल्छी सडक प्रयोग गर्न भनेको छ । विभिन्न जिल्लाबाट काठमाडौं भित्रिने सवारी साधनलाई धादिङको खानीखोलामा रोकेर काम गरिएको आयोजनाले जनाएको छ । 

कान्तिपुर

Link copied successfully