बंगलादेशले एलसी नखोल्दा ४० मेगावाट बिजुली निर्यात अन्योल

 सन् २०२४ को नोभेम्बर १५ मा निर्यात गरिएको ४० मेगावाट बिजुलीको पैसा पनि बंगलादेशले भुक्तानी गरेन 

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

40MW power export confusion as Bangladesh does not open LC

काठमाडौँ — आगामी असार १ देखि ४० मेगावाट बिजुली नेपालले निर्यात गर्नुपर्ने भए पनि बंगलादेशले जेठ मसान्तसम्म प्रतीतपत्र (एलसी) खुलाएको छैन । यसकारण ६ दिनपछि बिजुली निर्यात सुरु हुने–नहुनेमा अन्योल देखिएको छ । 

गत वर्षको नोभेम्बर १५ मा नेपालले निर्यात गरेको बिजुलीको बक्यौतासमेत बंगलादेशस्थित बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले अहिलेसम्म तिरेको छैन । यस वर्ष पनि सम्झौताअनुसार नै जुन १५ देखि बिजुली निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।

सन् २०२४ नोभेम्बर १५ मा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कविर खानले भर्चुअल विधिमार्फत संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यातको उद्घाटन गरेका थिए । प्राधिकरण स्रोतका अनुसार उक्त दिन ४ लाख ७० हजार युनिट बिजुली बिक्री गरिएको थियो । यसबाट ३० हजार ८० डलर आम्दानी भएको प्राधिकरण स्रोतले बताएको छ । तर हालसम्म बीपीडीबीले उक्त रकम भुक्तान गरेको छैन ।

हरेक वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको जुन १५–नोभेम्बर १५ सम्म बिजुली बिक्री गर्ने गरी नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा सम्झौता भएको थियो । तर सन् २०२५ मा बिजुली निर्यात हुने/नहुनेमा अन्योल हुँदा एलसी प्रक्रियामा नगएकाले गत वर्षको भुक्तानी नभएको प्राधिकरणका प्रवक्ता ढकालले बताए । 

‘गत वर्ष बिजुली निर्यात हुने/नहुने अन्योलबीच अन्तिम दिन दिउँसो १२ देखि बेलुका १२ बजेसम्म बिजुली निर्यात भयो,’ उनले भने, ‘त्यसैले गत वर्ष एलसीको प्रक्रिया नै सुरु भएन । एक दिनको भुक्तानी गर्न ६ महिनाको एलसी खोल्ने कुरा भएन । उनीहरूले अर्को वर्ष एकैचोटि पठाउँछु भनेर आग्रह गरेकाले हामीले मान्यौं ।’

बीपीडीबीले एलसीको मस्यौदा पठाएकाले त्यसमा केही ‘कमेन्ट’ गरेर पठाइसकेकाले एलसी खोल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको ढकालको भनाइ छ । ‘एलसी भनेको भुक्तानीको ग्यारेन्टी हो, एलसी खोल्दा हामीलाई तिर्ने तीन महिनाको पैसा राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘एलसी छिट्टै खुल्छ । बिजुली निर्यात पनि हुन्छ नै ।’

यसअघि नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएकामा सन् २०२४ देखि नेपालको बिजुली तेस्रो देशमा समेत विस्तार भएको हो । नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बंगलादेशसम्म पुगेको

छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुगेको हो । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बंगलादेशबीचको बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत् पुग्छ ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यातका लागि स्वीकृति दिएको छ । केन्द्रीय विद्युत् प्राधिकरणले दुई आयोजनाहरूबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यात स्वीकृति दिएको हो । यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् ।

प्राधिकरणले वर्षायाममा ४० मेगावाट विद्युत् पाँच वर्षसम्म अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्ने जनाएको छ । नेपाल–बंगलादेशबीच विद्युत् व्यापार डलरमा भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी सम्झौता भएको छ । बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्ने छ ।

मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्ने प्राधिकरणले बताएको छ । नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण ग्रिड प्रयोग गरी बंगलादेश लैजानका लागि नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बीपीडीबीबीच त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो ।

त्रिपक्षीय विद्युत् बिक्री सम्झौतापछि प्राधिकरणले गत २३ असोजमा बंगलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले स्वीकृति दिएपछि विद्युत् निर्यात सुरु गरिएको हो ।

कानुनमा भएको व्यवस्थाबमोजिम बीपीडीबी १६ पुस २०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरूबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको थियो ।

प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो । प्राधिकरणले पेस गरेको बोलपत्र स्वीकृति भएपछि त्रिपक्षीय विद्युत् बिक्री सम्झौताको प्रक्रिया अगाडि बढेको थियो ।

कान्तिपुर

Link copied successfully