सातामै ५२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सरकारले सुन र सुनका गरगहनामा २ प्रतिशत विलासिता कर लगाउादा उपभोक्ता मूल्यमा थप ६ प्रतिशत कर लाग्छ : सुनचाँदी व्यवसायी

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

The price of gold increased by 5200 rupees in a week

काठमाडौँ — सुनको मूल्य गत सातामा ५ हजार २ सय रुपैयाँले बढेको छ । अघिल्लो शुक्रबार (जेठ १६) मा सूनको मूल्य तोलामा १ लाख ८८ हजार ५ सय रुपैयाँ थियो । गत साताको पहिलो दिन आइतबार प्रतितोला सुन १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो साताको शुक्रबारको तुलनामा सुनको मूल्य सातामै ५ हजार २ सय रुपैयाँले वृद्धि भएको महासंघले बताएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको सुस्त आर्थिक गतिविधि, भूराजनीतिक अनिश्चिततालगायत विविध कारणले सुरक्षित लगानीका रूपमा रहेको सुनको मूल्य बढ्न पुगेको विश्लेषक बताउँछन् ।

गत साता चाँदी प्रतितोला १ सय ७० रुपैयाँले महँगिएको छ । नेपाली बजारमा चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको महासंघका महासचिव किरणभाइ बज्राचार्यको भनाइ छ । गत शुक्रबार चाँदी प्रतितोला २ हजार १ सय ५० रुपैयाँ पुगेको छ । अघिल्लो शुक्रबार चाँदीको मूल्य तोलाको एक हजार ९ सय ८० रुपैयाँ थियो । ‘साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ७ सय २ रुपैयाँ रहेकोमा साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ८ सय ४३ रुपैयाँ कायम भएर हालसम्मकै उच्च मूल्य रहन पुग्यो,’ उनले भने ।

अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रबार सुनको मूल्य शून्य दशमलव २ प्रतिशतले बढेर प्रतिऔंस ३३५९.२६ अमेरिकी डलर पुगेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । चाँदीको मूल्य सन् २०१२ यताकै उच्च भएको समेत जनाइएको छ । विभिन्न तथ्यांकले अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने आशालाई बढावा दिएका कारण सुनको मूल्य साप्ताहिक रूपमा बढ्ने अनुमान गरिएको छ । बढ्दो व्यापार तनाव, कर, खनिजलगायत विवादबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार फोनवार्ता भए पनि त्यसबाट ती समस्या समाधान नहुने र भन्सारसम्बन्धी नकारात्मक समाचार आइरहे सुनको मूल्य अझै बढ्ने विश्लेषकहरू बताउँछन् ।

यसैबीच आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर र हिरालगायत बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ । उपभोक्तालाई सुन र सुनका मात्रै गरगहनामा ६ देखि ८ प्रतिशत मूल्य बढ्ने व्यवसायी बताउँछन् । साथै सुन र पत्थरजडित मिश्रित गरगहनामा १३ प्रतिशत भ्याट र ६ देखि ८ प्रतिशत विलासिता कर थपिने उनीहरूको भनाइ छ । यसअघि १० लाख रुपैयाँभन्दा माथिका सुन तथा सुनका गरहगना, हीरालगायतमा २ प्रतिशत विलासिता लाग्ने गरेको थियो ।

सरकारले २ प्रतिशत विलासिता कर भने पनि उपभोक्तासम्म पुग्दा त्यस्तो बहु कर थपिने महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यको भनाइ छ । ‘वाणिज्य बैंकले सुन आयात गर्दा २ प्रतिशत विलासिता कर तिर्छ, त्यसपछि महासंघको सिफारिसमा व्यवसायीले किन्दा थप २ प्रतिशत, गरगहना बनाएर बेच्दा थप २ प्रतिशत थपिँदा ६ प्रतिशत पुग्छ,’ उनले भने, ‘उपभोक्ताले गरगहना बनाउँदा ६ प्रतिशत विलासिता कर मात्रै तिर्नुपर्छ । त्यसैले बहु कर भयो ।’ 

हीरा, नीलम, पन्ना, रुबिमालगायत पत्थरका गहनामा १३ प्रतिशत भ्याट लाग्ने भन्दै सुनसहित मिश्रित गहना बनाउँदा १९ प्रतिशत कर तिर्नुपर्ने देखिएको उनको भनाइ छ । ‘सय रुपैयाँको सुन र १० रुपैयाँको बहमूल्य पत्थर जोडिएको छ भने त्यसको उत्पादनमा ११० रुपैयाँको १३ प्रतिशत भ्याट लाग्छ । यसरी हेर्दा उपभोक्तालाई ६ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट गरी १९ प्रतिशत कर तिर्नुपर्छ,’ उनले भने । पहिला खरिददर र बिक्रीदरको अन्तर सामान्य मात्रै हुने गरे पनि अब उच्च अन्तर देखिने उनले बताए ।

बढ्दो सुनको मूल्यले बजार मन्दीको अवस्था रहेको र विवाहलगायत बाध्यकारी अवस्थाले मात्रै बजार धानिरहेको उनको भनाइ छ । ‘सरकारको नीतिले अब सुनचाँदी बजार बन्द हुन्छ भन्ने लाग्छ,’ उनले भने, ‘सरकारले हतारोमा ल्याएको नीति हो । राज्यले गृहकार्य गरेको भए यो अवस्था आउँदैनथ्यो । यसमा पुनर्विचार गरियोस् ।’ 

चालु आर्थिक वर्षको १० महिनामा १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँको सुन आयात भएको भन्सार विभागको तथ्यांक छ । विभागका अनुसार दुबईबाट १६ अर्ब ३ करोड, टर्किएबाट १ अर्ब ४ करोड, कतारबाट ४ करोड ८३ लाख र कुवेतबाट ३६ लाख ७९ हजार रुपैयाँको सुन आयात भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully