आणविक ऊर्जातर्फ लगानी बढाउँदै प्रविधि कम्पनी

एआई कम्प्युटिङका आवश्यकता पूरा गर्न फेसबुकको प्यारेन्ट कम्पनी मेटाले ‘कन्स्टिलेसन इनर्जी’ सँग गर्‍यो २० वर्षे सम्झौता

जेष्ठ २४, २०८२

कान्तिपुर संवाददाता

Technology companies increasing investment in nuclear energy

काठमाडौँ — ठूला प्रविधि कम्पनीहरूले आणविक ऊर्जा क्षेत्रमा लगानी गर्दै गएको पछिल्लो शृंखलामा मेटा पनि थपिएको छ । एआई कम्प्युटिङका आवश्यकता पूरा गर्न फेसबुकको प्यारेन्ट कम्पनी मेटाले ‘कन्स्टिलेसन इनर्जी’ सँग २० वर्ष अवधिको सम्झौता गरेको छ । यससँगै इलिनोइसस्थित कन्स्टिलेसन इनर्जीको आणविक ऊर्जा केन्द्रको उत्पादन क्षमता पनि विस्तार हुने भएको छ ।

मेटासँगको सम्झौतापछि कन्स्टिलेसनको ‘क्लिन्टन क्लिन इनर्जी सेन्टर’ पुनः सञ्चालनमा आउने भएको छ । अधिक नोक्सानी बेहोरेपछि सन् २०१७ मै बन्द गर्न लागिएको भए पनि त्यो बेला अमेरिकामा जिरो–इमिसन क्रेडिट प्रोग्राम (शून्य–उत्सर्जन क्रेडिट कार्यक्रम) सम्बन्धी कानुन पारित भएपछि उक्त प्लान्ट सञ्चालनमै राख्न मिल्ने आधार बनेको थियो । न्युक्लियर इनर्जी इन्स्टिच्युटका अनुसार गत वर्ष अमेरिकाका २५ राज्यले उन्नत आणविक ऊर्जालाई प्रवर्द्धन गर्ने कानुन पारित गरेका थिए । यस वर्ष पनि त्यहाँका सांसदले आणविक ऊर्जालाई समर्थन गर्ने गरी २ सयभन्दा बढी विधेयक पेस गरेका छन् ।

नयाँ सम्झौताले प्लान्टको उत्पादन ३० मेगावाटले बढाउने, स्थानीयस्तरमा ११ सय रोजगारी जोगाउनुका साथै वार्षिक १ करोड ३५ लाख अमेरिकी डलर राजस्व सिर्जना गर्ने दाबी गरिएको छ । एपीको समाचारअनुसार क्लिन्टन प्लान्टबाट हाल करिब ८ लाख अमेरिकी घरधुरीलाई विद्युत् आपूर्ति भइरहेको कम्पनीले जनाएको छ । 

एआई र डेटा सेन्टरहरूका लागि आवश्यक ठूलो परिणामको ऊर्जा आपूर्ति बढाउन र हरितगृह ग्यास उत्सर्जन उल्लेख्य रूपमा कटौती गर्ने विषयमा हाल ठूला प्रविधि कम्पनीहरूले दबाब सामना गरिरहेका छन् । स–साना न्युक्लियर रिएक्टरहरूमा लगानी बढिरहेका बेला ठूला कम्पनीहरू वैकल्पिक ऊर्जाका लागि आणविक ऊर्जामा सम्भावना खोजिरहेका हुन् ।

फाइनान्सियल टाइम्सका अनुसार गत वर्ष अमेजन र गुगलले ऐतिहासिक ऊर्जा खरिद सम्झौता गरेका थिए । गुगलले काइरस पावर कम्पनी र अमेजनले एक्स–इनर्जी रियाक्टरसँग सम्झौता गरेको थियो । गुगलले एलिमेन्टर पावरसँग पनि तीन वटा उन्नत आणविक ऊर्जा परियोजनामा लगानी गर्ने घोषणा गरिसकेको छ । माइक्रोसफ्टले कन्स्टिलेसन इनर्जीसँग गरेको खरिद सम्झौता सन् २०२८ बाट कार्यान्वयन आउने र २० वर्ष अवधिका लागि मान्य हुने कन्स्टिलेसन इनर्जीले जनाएको छ । यस प्लान्टले माइक्रोसफ्टलाई झन्डै ८३५ मेगावाट कार्बनरहित ऊर्जा उपलब्ध गराउनेछ ।

प्रविधि कम्पनीहरूले एआईसम्बन्धी आफ्ना विभिन्न परियोजना र डेटा सेन्टर सञ्चालनका कारण ऊर्जाको माग बढ्दै गएपछि आणविक ऊर्जामा चासो र लगानी बढाउन थालेका हुन् । लो–कार्बन इलेक्ट्रिसिटी उत्पादन गर्न प्रयोग गरिने उन्नत स्मल मोडलर रियाक्टर (एसएमआर) को विकासका लागि लगानी गर्ने गरी पछिल्ला सम्झौता भइरहेका छन् । 

योसँगै एसएमआर विकासमा सक्रिय ओक्लो इंक, न्युस्केल पावर, क्यामेको, कन्स्टिलेसन इनर्जी, बीडब्लूएक्स टेक्नोलोजीजस्ता कम्पनीहरूको सेयर मूल्य बढेको छ ।

अमेरिकी नियामकहरूले आणविक ऊर्जालाई स्वच्छ मान्नुका साथै यो चौबिसै घण्टा उपलब्ध हुने र कम लागतमा विकास गर्न सकिने स्मल मोडुलर रियाक्टरहरूमार्फत सञ्चालन हुनुलाई यसका विशेष फाइदाका रूपमा प्रचार गरेका छन् । तथापि वातावरण संरक्षणको पक्षमा वकालत गर्नेहरूले भने आणविक ऊर्जालाई ‘स्वच्छ’ मान्दैनन् । विशेषगरी माइक्रोसफ्ट र कन्स्टिलेसन इनर्जीले थ्री माइल आइल्यान्ड भनिने स्थानमा रहेको पेन्सिल्भेनिया प्लान्ट पुनः सञ्चालन गर्ने विषयमा वातावरणविद्हरूले चिन्ता प्रकट गरेका छन् । यो प्लान्ट सन् १९७९ मा एक दुर्घटना भएपछि बन्द गरिएको थियो । सो दुर्घटनालाई अमेरिकी इतिहासकै खराब परमाणु दुर्घटनाका रूपमा लिइन्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully