नेप्सेमा झन्डै १२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

NEPSE fell by almost 12 points, trading volume also fell

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ११.९७ अंकले घटेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ०.६५ प्रतिशतले घट्दा समग्र नेप्से २ हजार ६ सय ४६.९५ बिन्दुमा पुगेर बन्द भएको छ । 

मंगलबार ३५ अंकले घटेर बन्द भएको नेप्सेमा बुधबार पनि दोहोरो अंकको गिरावट आएको हो । मंगलबार करिब ३६ अंकले घटेको नेप्सेमा बुधबार पनि दोहोरो अंकको गिरावट भएको हो ।

खासगरी गभर्नरको नियुक्ति र त्यसलगतै जारी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १ सय प्रतिशत कायमलगायत व्यवस्था गरिएको थियो ।

यो व्यवस्थाले लगानीकर्ताको आत्मविश्वास बढ्ने भएकाले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको थियो । तर, त्यसको सकारात्मक असर सेयर बजारमा देखिएको छैन । मौद्रिक नीतिको समीक्षा जारी भएपछिका अधिकांश दिन नेप्से घटेको छ भने बढेको दिन पनि वृद्धिदर निकै कम छ । 

बजारलाई आवश्यक अपेक्षित उत्साह अझै प्राप्त हुन नसकेकाले लगानीकर्ताले अझै लगानी विस्तारका हिम्मत गर्न नसकेको, उनीहरू पर्ख र हेरको अवस्थामा रहेको जानकारहरू बताउँछन् । बुधबार कारोबारमा आएकामध्ये ६६ कम्पनीको सेयर मूल्य बढ्यो भने १८१ वटाको घट्यो र १ वटा कम्पनीको स्थिर रह्यो । 

५९ हजार १ सय ३० पटकको सेयर कारोबारमा १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब १६ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । मंगलबार सेयर बजारमा ६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेसँगै कारोबार रकम पनि घट्नुले लगानीकर्तामा आत्मविश्वासमा कमी आएको पुष्टि हुने सेयर ब्रोकर बताउँछन् । 

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोष र व्यापारबाहेक सबैको परिसूचक घटे । सामूहिक लगानी कोष उपसमूहको परिसूचक ०.०८ र व्यापारको २१.०९ अंकले बढे । सेयर बजार बढ्न नसके पनि सेयर धितोमा कर्जा लिने प्रवृत्ति ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully