चेम्बर र आईएमएफका प्रतिनिधिबीच नेपालको आर्थिक अवस्थाबारे छलफल

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

Discussion between the representatives of the Chamber and the IMF on the economic situation of Nepal

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्स र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधिबीच नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका कठिनाई, आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल भएको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा बिहीबार आयोजित कार्यक्रममा मुलुकको औद्योगिक र व्यावसायिक वातावरण, कोभिड पछिको अर्थतन्त्र, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा केन्द्रित भएर छलफल भएको हो ।  

आईएमएफका प्रतिनिधिसँग चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रको वर्तमान समस्यालाई सम्वोधन गर्नेगरी आगामी आर्थिक बर्षको बजेट आएकाले निजी क्षेत्रमा आशा पलाएको बताए । ‘सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन र निजी क्षेत्रले दिएका सुझावका आधारमा नै आगामी अर्थिक वर्षको बजेट ल्याएको छ,’ उनले भने, ‘बजेट समग्रमा सन्तुलित छ । कार्यान्वयनको पाटो प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छौं ।’

कुल ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने गरी ल्याइएको बजेटको लक्ष्य पूरा गर्न सोही अनुसारको सहजीकरण हुनेगरी मौद्रिक नीति आउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।

कोभिड १९ पछि अंगिकार गरिएका संकुचित नीतिहरुका कारण निजी क्षेत्रले धेरै ठूलो क्षति बेहोर्नुपरेको र वर्तमान आर्थिक शिथिलताको कारण पनि सोही नीतिहरु नै रहेको अध्यक्ष अग्रवालले बताए । 

मुलुकको अर्थतन्त्र केही दवावमा रहेपनि आगामी बजेटको प्रभावकारी कार्यन्वयन हुन सके अधिकांश समस्या सम्वोधन हुनेमा आफुहरु विश्वस्त रहेको अध्यक्ष अग्रवालले जनाए ।

आइएमएफ मिसन चिफ डा. सर्वात जाहान नेतृत्वको प्रतिनिधि मण्डललले चेम्बर पदाधिकारीहरुसंगको भेटमा नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका समस्या, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा जिज्ञासा राखेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully