‘आईओ’ कम्पनी ६.५ अर्ब डलरमा खरिद, नयाँ युगअनुसारको एआई डिभाइस बनाउने दाबी
काठमाडौँ — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा तरंग ल्याएका च्याटजीपीटी निर्माता ओपनएआईका प्रमुख साम अल्टम्यानले हार्डवेयर बजारमा हात हालेका छन् । उनले आईफोन, आईप्याड र म्याकबुकजस्ता उत्पादनको डिजाइन गर्ने ख्यातिप्राप्त डिजाइनर जोनी आइभको डिजाइन स्टार्टअप ‘आईओ’ कम्पनी ६.५ अर्ब अमेरिकी डलरमा किनेको घोषणा गरेका छन् ।
गत साता मात्र सार्वजनिक भएको यो सम्झौताले उपभोक्ता प्रविधि, एआई र सिलिकन भ्यालीमै नयाँ प्रतिस्पर्धाको संकेत दिएको विश्लेषकहरूको धारणा छ ।
यो खरिदले जोनी आइभ र ओपनएआईलाई चर्चामा ल्याएको छ । अल्टम्यानका अनुसार अब जोनीले एआईमा आधारित प्रविधियुक्त नयाँ किसिमका डिभाइसहरू बनाउने कार्यको नेतृत्व गर्नेछन् । ती डिभाइसहरूले भविष्यमा स्मार्टफोनसँग पनि प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । ‘जोनी संसारकै उत्कृष्ट डिजाइनर हुन्,’ अल्टम्यान भन्छन्, ‘अब हामी एआई प्रविधियुक्त डिभाइसको नयाँ पुस्ता बनाउने कोसिसमा लाग्नेछौं ।’
यो सम्झौता कुनै डिभाइसको बाह्य डिजाइन वा कुनै डिजाइन कत्तिको आकर्षक देखिन्छ भन्नेमा केन्द्रित नरहेको, बरु यसले मानिस र एआईबीचको सहकार्यलाई नयाँ तरिकाले परिभाषित गर्ने यात्राको थालनी गर्ने ब्लुमबर्गले लेखेको छ । ‘आइभ र अल्टम्यानले दैनिक जीवनमा मिसिने खालको एआई डिभाइस निर्माणमा लामो समयदेखि चुपचाप काम गरिरहेका छन्,’ ब्लुमबर्गको दाबी छ, ‘त्यसले मानिसलाई एआई साथीको सुविधा दिनेछ ।’
यो सम्झौता पूरै स्वपुँजी (इक्विटी) को रूपमा गरिएको हो । ओपनएआईले आईको ५५ सदस्यीय टिमलाई पनि समाहित गरेको छ । त्यसमा धेरैजसो एप्पलका पूर्वइन्जिनियर र डिजाइनर छन् । यद्यपि, जोनी आइभको आफ्नै डिजाइन फर्म (लभ फर्म) भने स्वतन्त्र रूपमा रहनेछ । अब ओपनएआईको हार्डवेयर र सफ्टवेयरसँगै सम्पूर्ण क्रिएटिभ निर्देशनको जिम्मेवारी आइभको नेतृत्वमा हुनेछ ।
अल्टम्यानको यस कदमलाई प्रविधि विश्लेषकहरूले एप्पलको दशक लामो प्रभुत्वमा अहिलेसम्मकै सबैभन्दा ठोस चुनौती मानेका छन् । वालस्ट्रिट जर्नलका एक वरिष्ठ विश्लेषक भन्छन्, ‘यो एप्पलको हार्डवेयर वर्चस्वमा प्रहार गर्ने अहिलेसम्मकै सबैभन्दा बलियो कदम हो ।’ ओपनएआईले हार्डवेयर डिभाइस बनाउने समाचार सार्वजनिक भएपछि एप्पलको सेयर मूल्य २ प्रतिशतले घटेको थियो । च्याटजीपीटीजस्ता उत्पादनमार्फत जेनरेटिभ एआई बजारमा आधिपत्य जमाएको ओपनएआईजस्तो सफ्टवेयर निर्माता कम्पनी अब हार्डवेयर निर्माणको दिशामा अग्रसर हुनुलाई अर्थपूर्ण मानिएको छ । ‘यो टेस्लाको मोडलजस्तै हो, सिलिकनदेखि सफ्टवेयर र सेवासम्म सबै आफैं बनाउन खोजिएको छ,’ रोयटर्सको विश्लेषण छ ।
अल्टम्यानले एआईलाई स्मार्टफोनभित्रै सीमित राखेर थप नवप्रवर्तन सम्भव नभएको उल्लेख गर्दै एआईको नयाँ रूप र संरचना बनाउनुपर्ने बेला आएको प्रतिक्रिया दिएका छन् ।
उनका अनुसार अहिलेका एआई मोडलहरूले स्मार्टफोनबाट गर्न सकिनेजति उपलब्धि हासिल गरिसकेका छन् । अल्टम्यान–आइभको साझेदारीबाट आउने पहिलो डिभाइस सन् २०२६ मा सार्वजनिक हुने अनुमान गरिएको छ । यद्यपि, हालसम्म डिभाइसबारे विस्तृत विवरण दिइएको भने छैन । तर, जानकारहरूले त्यो डिभाइस सहज रूपमा लगाएर वा लिएर हिँड्न मिल्ने, स्मार्टफोनजस्तै दैनिक जीवनको हिस्सा बन्ने तर स्मार्टफोनभन्दा फरक हुने अनुमान गरेका छन् ।
एआई क्षेत्रमा वर्चस्व जमाउँदै आएको ओपनएआईको बजार मूल्य अहिले ३ सय अर्ब डलर आकलन गरिएको छ । यसै वर्ष सुरुमा पाएको ४० अर्ब डलरको ऐतिहासिक लगानीपछि कम्पनीले आफूलाई विश्वकै सबैभन्दा तीव्र गतिमा अगाडि बढिरहेको प्रविधि कम्पनीका रूपमा उभ्याएको छ । आइभसँगको पछिल्लो सम्झौताले कम्पनी अब सफ्टवेयर मात्र नभएर हार्डवेयरमा पनि आक्रामक हुने संकेत मिलेको छ ।
जेनरेटिभ एआई क्षेत्र सन् २०२२ मा १९१ मिलियन अमेरिकी डलरको मात्र थियो भने २०२४ मा यो २६ अर्ब अमेरिकीको बनेको थियो । सन् २०२८ सम्ममा यसले १०० अर्ब डलर बजार पार गर्ने अनुमान गरिएको छ । ओपनएआईले अहिले यो बजारको करिब १७ प्रतिशत हिस्सा ओगटिरहेको छ । अब कम्पनीले हार्डवेयर र डिजाइनको क्षेत्रमा प्रवेश गर्दै यो हिस्सालाई अझ बढाउने योजना बनाएको देखिन्छ ।
विशेषगरी युवापुस्ता र प्रविधिमैत्री प्रयोगकर्ताहरूमा ओपनएआईले विकास गरिरहेको एआईमा आधारित डिभाइसले एप्पलजस्ता कम्पनीहरूको दबदबामै असर पार्न सक्ने हुनाले पछिल्लो सम्झौतालाई सिलिकन भ्यालीले रुचिका साथ हेरेको छ । यदि ओपनएआईले वास्तवमै आकर्षक र प्रयोगमैत्री एआई यन्त्र ल्याउन सफल भयो र त्यसले प्रयोगकर्तामध्ये सानो हिस्साको पनि बानी फेरियो भने ठूला कम्पनीको आम्दानीमा अर्बौं डलरको असर पार्न सक्ने अनुमान गरिएको छ ।
– एजेन्सीको सहयोगमा
