काठमाडौं दुग्ध वितरण आयोजनाले चिस्यान केन्द्रहरूलाई पत्र पठाएपछि घटाइयो दूध संकलन
काठमाडौँ — धुलो दूध र बटर स्टक बढेको भन्दै सरकारी दुग्ध विकास संस्थान (डीडीसी) ले किसानबाट दूध संकलनमा कडाइ गरेको छ । कन्भर्सन गरिएको धुलो दूध र बटर राख्ने ठाउँ नभएको र बिक्री नहुँदा किसानको बक्यौता बढेको भन्दै काठमाडौं दुग्ध वितरण आयोजनाले दूध संकलन कम गर्न चिस्यान केन्द्रलाई पत्र पठाएको छ ।
नियमित दूध दिने संघसंस्थाबाहेक अन्यबाट दूध नकिन्न र खरिद गरे चिस्यान केन्द्र इन्चार्ज नै जिम्मेवार हुनेसमेत उसले चेतावनी दिएको छ ।
‘मौज्दात अत्यधिक हुँदा ५ महिनादेखि किसानको दूध खरिदबापतको भुक्तानी दिन सकिएको छैन । त्यसलाई दृष्टिगत गर्दै चिस्यान केन्द्रमा दैनिक संकलन हुने कच्चा दूध परिमाणमा न्यूनीकरण गर्दै नियमित दूध दिने संस्था र फर्मबाट संकलन गर्न जानकारी गराइन्छ,’ काठमाडौं दुग्ध वितरण आयोजनाले सबै चिस्यान केन्द्रलाई पठाएको पत्रमा भनिएको छ, ‘दूध संस्थानको मापदण्डअनुसार मात्रै संकलन गर्नू । पत्रअनुसार दूध संकलन नगरे त्यसमा चिस्यान सेन्टर इन्चार्जको जिम्मेवारी रहनेछ ।’
आयोजनाले जेठ ११ मा पत्र पठाएपछि चिस्यान केन्द्रले दूध संकलन घटाएका छन् । यसअघि काठमाडौं उपत्यकामा दिनको ५८ हजारदेखि ६० हजार लिटर दूध संकलन हुन्थ्यो । अहिले घटेर ४६ हजारदेखि ५४ हजार लिटर मात्रै संकलन भइरहेको आयोजना प्रमुख इन्द्रभूषण कुमार यादवले जनाए । ‘किसानलाई तिर्नुपर्ने बक्यौता रकम १ अर्ब २ करोडभन्दा बढी भइसकेको छ । धुलो दूध ८ सय ८० टन र बटर ७ सय २८ टन मौज्दात छ,’ उनले भने, ‘स्टक धेरै भएकाले संकलनमा सावधानी अपनाएका हौं । दूध खरिदको कोटा लगाउन केन्द्रीय कार्यालयलाई पत्र पठाएका छौं ।’
दूध संकलनमा डीडीसीले नियन्त्रणको नीति लिएपछि मिल्क होलिडेको सम्भावना बढेको किसान बताउँछन् । ‘उत्पादन बढाऊ भन्ने तर उत्पादन भएको दूध राज्यले नै नकिने किसानले कहाँ गएर बेच्ने ? सीमित संस्थाबाट खरिद गर्ने आयोजना र चिस्यान केन्द्रको निर्णय सिन्डिकेटबाट प्रेरित देखिन्छ,’ कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले भने, ‘किसानले उत्पादन गरेको दूध किन्नु राज्यको दायित्व हो । मौज्दात बढे निर्यातमा जोड दिनुपर्छ । तर संकलन खरिद नै नगर्नु गलत हो ।’ बक्यौता रकम पनि तत्काल भुक्तानी गर्नुपर्ने अधिकारीको भनाइ छ । राज्यकै संस्थानले दूध नकिन्दा त्यसको सिको डेरी उद्योगले पनि गर्ने उनले जनाए ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीका अनुसार किसानको बक्यौता करिब ५ अर्ब छ । यसमध्ये डीडीसीको करिब १ अर्ब रुपैयाँ रहेको उनले बताए ।
‘किसानलाई भुक्तानी गर्नुपर्ने रकम ४ देखि ५ अर्ब बाँकी छ । त्यसमध्ये डीडीसीको करिब १ अर्ब छ । हामी जिम्मेवारीबाट पन्छिन मिल्दैन, सबै उद्योगी व्यवसायीले इमानदार बन्न जरुरी छ,’ मंगलबार डेरी उद्योग संघको वार्षिक साधारणसभामा मन्त्री अधिकारीले भने, ‘साना किसानले परिवार चलाउन दुई वटा भैंसी पालेर दैनिक ५/७ लिटर दूध बेच्छन्, बिहानदेखि बेलुकीसम्म समस्या छ । त्यसको व्यवस्थापन, व्यवस्थापन र जिम्मेवारी सबैले लिनुपर्छ । बाँकी बक्यौता तत्काल भुक्तानी गर्नुपर्छ ।’
अर्बौं रुपैयाँ बक्यौता राखेका निजी डेरी र डीडीसीले दूध संकलनमा समेत कडाइ गर्दा किसान मारमा पर्ने किसानको भनाइ छ । कन्भर्सन गरिएको धुलो दूध र बटर राख्ने ठाउँ नभएर काठमाडौं दुग्ध वितरण आयोजनाले पत्र पठाएको डीडीसीका महाप्रबन्धक पशुपति ढुंगानाले बताए । काठमाडौं, हेटौंडा, विराटनगरलगायत सबैतिर समस्या देखिएको छ । ‘राख्ने ठाउँ नै नभएपछि के गर्ने, भाडामा लिएर पनि स्टक राख्नुपरेको छ,’ ढुंगानाले भने, ‘मूल्य समायोजन गरेर भए पनि बटर बेच्ने तयारी गरिराखेका छौं । बिक्री भए केही सहज हुन्थ्यो ।’
गत साउनयता करिब ७ करोड लिटर दूध कन्भर्सन भएको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जनाए । स्टक बढी भएकै कारण बजारमा केही समस्या देखिए पनि निजी डेरीले संकलनमा कमी नगरेको उनको दाबी छ । ‘वैशाखदेखि दूध अभाव हुने सिजन हो । तर उत्पादन बढेर जेठसम्मै दूध कन्भर्सन भयो । असोज, कात्तिकदेखि फेरि दूध उत्पादन सिजन सुरु हुन्छ,’ दाहालले भने, ‘अहिले कन्भर्सन भएको दूध बिक्री नभए थप समस्या आउने देखिन्छ । अहिले संकलन नघटाए पनि अब त्यही बाटो अपनाउनुपर्ने बाध्यता हुँदै छ ।’
