विद्युत् र सिँचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

जेष्ठ १९, २०८२

रासस

257 million USD loan approved by the World Bank for improvement of electricity and irrigation sector

काठमाडौँ — विश्व बैंकले नेपालका दुईवटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत गरेको छ ।

विश्व बैंकले आज प्रेस विज्ञप्ति जारी गर्दै गत मे २९ मा बसेको विश्व बैंक निर्देशक समिति बैठकले उक्त ऋण स्वीकृत गरेको जनाएको हो । 

नेपालको विद्युत् वितरण प्रणाली सुधार र सिँचाई सेवामा सुधार गरी कृषि उत्पादन बढाउने उद्देश्यका लागि उक्त ऋण सुविधा उपलब्ध गराइएको हो ।

जसमध्ये, विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनाका लागि १२ करोड अमेरिकी डलर ऋण सुविधा लिइएको छ । उक्त रकमबाट कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको विद्युत् वितरण प्रणालीलाई मजबुत र विश्वसनीय बनाइने जनाइएको छ । 

नेपाल विद्युत् प्राधिकरणमार्फत सञ्चाचन हुने आपूर्ति प्रणाली सुधार परियोजनाले सबस्टेसन निर्माण, वितरण संरचनाको स्तरोन्नति तथा त्यसको निगरानी गर्ने स्वचालित प्रणाली विकास गर्ने उद्देश्य राखिएको जनाइएको छ ।

त्यस्तै, रानी जमरा कुलरिया सिँचाई आयोजनाको तेस्रो चरण (फेज–३) का लागि १३ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत भएको छ । 

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षैभरि सिंचाई सुविधा उपलब्ध गराई कृषि उपजको उत्पादन वृद्धि गर्ने लक्ष्य यो परियोजनाले राखेको छ । यो परियोजनाबाट थप १७ हजार ५०० हेक्टर जमिनमा वर्षभर सिँचाइ सुविधा पुर्‍याइने र यसबाट करिब एक लाख ६० हजार मानिस लाभान्वित हुने ठानिएको छ ।

रासस

Link copied successfully