काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्दै आएको कर्जा सीमित व्यक्तिको पहुँचमा मात्र पुगेकाले त्यसलाई विकेन्द्रित गर्न अत्यावश्यक रहेको राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बताएका छन् ।
बैंक तथा वित्तीय संस्थाको शाखा सबै स्थानीय तहसम्म पुगे पनि कर्जा पहुँच अझै सीमित वर्गमै रहेकाले त्यो संरचनालाई परिमार्जन गरेर धेरैभन्दा धेरै नागरिकको पहुँचमा कर्जा पहुँच पुग्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
संघीय संसद्को अर्थसमितिको बैठकमा सोमबार गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार केन्द्रीकृत हुँदै गएको र कुल प्रवाहित कर्जाको ठूलो हिस्सा सीमित व्यक्ति तथा समूहमा जाने गरेको बताएका हुन् ।
‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा गभर्नर पौडेलले भने, ‘अहिले करिब १९ लाख ४० हजार ऋणी रहेका छन्, जसमध्ये ०.०१ प्रतिशत ऋणीले मात्र ३.९ प्रतिशत कर्जा प्रयोग गरेको देखिन्छ, यसबाट केही व्यक्तिलाई मात्रै धेरै ऋण गएको छ कि भन्ने देखिन्छ । यसरी सीमित व्यक्तिलाई मात्र धेरै ऋण जानु राम्रो हो वा होइन र त्यसरी प्रवाहित कर्जाले उत्पादनमा राम्रो गरेको छ वा छैन भन्ने चासोको विषय हो ।’
संशोधनका क्रममा रहेको बाफियाले बैंक तथा वित्तीय संस्थाको सञ्चालक र व्यवसायी छुट्याउने तथा उल्लेख्य स्वामित्व भएका व्यक्ति र बैंकसँग सम्बद्ध व्यक्ति को हो भनेर छुट्याउन खोजेको गभर्नर पौडेलले बताए । सञ्चालकले के–कति कर्जा लिन पाउने–नपाउने भन्ने विधेयकमार्फत स्पष्ट भएर आउने विश्वास उनको भनाइ थियो ।
डिजिटल बैकिङलाई विद्यमान बाफियाले नसमेट्ने भएका कारण अहिलेको संशोधन आवश्यक रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए । अहिले करिब साढे ५५ खर्ब हाराहारी कर्जा प्रवाह भएको उनले जानकारी दिए ।
संशोधनका क्रममा रहेको विधेयकमा डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफैं सेयर धनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्ने लगायतका विषय राखिएका छन् ।
