संस्थानमा हरेक वर्ष लगानी बढ्दो, घाटा पनि उच्च

सञ्चालनमा रहेका संस्थानमध्ये २८ ले नाफा कमाए, १५ घाटामा, दुई बन्द अवस्थामा, संस्थान उकास्न बजेटमा आएनन् ठोस योजना

जेष्ठ १८, २०८२

राजु चौधरी

The investment in the institute is increasing every year, the loss is also high

काठमाडौँ — सरकारले सार्वजनिक संस्थानमा हरेक वर्ष लगानी बढाए पनि नाफा घट्दै गएको छ । जसले कार्ययोजनाबिनै गरिँदै आएको अर्बौं लगानी खेर गइरहेको देखाएको छ । संस्थानमा सरकारले लगानी बढाए पनि लाभांशमा कमी आइरहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२’ मा उल्लेख छ ।

समीक्षा अवधिसम्म संस्थानमा सरकारको कुल लगानी ७ खर्ब ३ अर्ब ९३ करोड पुगेको छ । २०७९/८० को तुलनामा कुल लगानी ५.८६ प्रतिशतले वृद्धि भएको छ । तर त्यसबाट सरकारले पाउने लाभांश घटेको छ । ‘कुल लगानी ७ खर्ब ३ अर्ब ९३ करोडमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड छ,’ समीक्षामा भनिएको छ, ‘२०७९/८० मा १३ अर्ब ७५ करोड ६७ लाख लाभांश प्राप्त भएको थियो । २०८०/८१ मा घटेर ८ अर्ब ८३ करोड ५६ लाखमा झरेको छ । कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात २०८०/८१ मा २.४ प्रतिशत छ ।’

अर्थ मन्त्रालयका अनुसार संस्थानको कुल सञ्चालन आयमा पनि कमी आएको छ । २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ, जुन २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो । सार्वजनिक संस्थानले समग्र आर्थिक, सामाजिक, आय वृद्धि तथा रोजगारी सिर्जना गर्न योगदान गरे पनि संस्थागत संरचना, सञ्चालन, नीति, कार्य योजना वित्तीय अनुशासन र पारदर्शितामा प्रश्न उठेको छ । जवाफदेहिता, दक्षता तथा सेवा प्रवाहमा सुधारको आवश्यकता देखिएको समीक्षामा उल्लेख छ । 

हाल औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ सार्वजनिक संस्थान सञ्चालनमा छन् । यी संस्थानले ४२ अर्ब ६२ करोड १६ लाख नाफा कमाएका छन् । तर गत समीक्षा अवधिको तुलनामा यो खुद नाफा १२.८८ प्रतिशतले कमी हो । सञ्चालनमा रहेका संस्थानमध्ये २८ ले नाफा कमाएका छन्, १५ घाटामा र दुई वटा बन्द अवस्थामा रहेको समीक्षामा उल्लेख छ । घाटामा रहेका संस्थानमध्ये नेपाल ओरियन्ड म्याग्नेसाइट लिमिटेड र बुटवल धागो कारखाना लिमिटेड बन्द छन् । धौवादी फलाम कम्पनी लिमिटेडले व्यावसायिक कारोबार सुरु गरेको छैन । व्यावसायिक कारोबार नभए तापनि यी संस्थानको नियमित प्रशासनिक खर्च भइरहेकाले नोक्सानी भएको हो । 

जनकपुर चुरोट कारखाना लिमिटेड बन्द भए पनि भवन तथा जग्गा भाडाबापत रकमबाट आय भएको समीक्षामा उल्लेख छ । नेपाल पूर्वाधार निर्माण कम्पनीले उद्देश्यअनुसारको कार्यबाट भन्दा ब्याजबापत बढी रकम आर्जन गरेको छ । 

संस्थानहरू संकटको अवस्थामा पुग्नुको कारणमा अस्पष्ट उद्देश्य, प्रतिस्पर्धात्मक क्षमताको अभाव र सञ्चालनगत अकुशलता रहेको समीक्षामा उल्लेख छ । कमजोर व्यवस्थापन, ट्रेड युनियनका गलत गतिविधिलगायत समस्याले पनि संस्थानहरू असफल भएको पाइएको छ । जसले गर्दा नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी बढ्दै गएको छ । नाफामा रहेका संस्थानको खुद नाफा पनि घटेको छ । 

‘नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेर ३ अर्ब ६३ करोड ६५ लाख छ,’ समीक्षामा भनिएको छ, ‘नाफामा रहेका संस्थानको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ ।’ समस्याग्रस्त संस्थान सुधार गर्न संस्थानको सान्दर्भिकता र दिगोपन सुनिश्चित गर्न तत्काल नीतिगत, संरचनागत तथा व्यवस्थापकीय सुधारको कार्यान्वयन अत्यावश्यक देखिएको उल्लेख छ । २०८०/८१ मा संस्थानको कुल सञ्चित नाफा बढेर ९२ अर्ब ७२ करोड ३६ लाख पुगेको छ । सञ्चित नाफा सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको छ । दूरसञ्चारको सञ्चित नाफा ४८ अर्ब ३ करोड २९ लाख छ । 

सबैभन्दा धेरै सञ्चित नाफा जनोपयोगी क्षेत्र र नोक्सानी औद्योगिक क्षेत्रको देखिएको छ । जनोपयोगी क्षेत्रको नाफा बढेर ९४ अर्ब ७० करोड ८३ लाख पुगेको छ । औद्योगिक क्षेत्रको नोक्सानी २१ अर्ब ७० करोड ७७ लाख छ ।

सार्वजनिक संस्थानको अवस्था खराब भए पनि तिनको अवस्था उकास्न सरकारले ठोस कार्यक्रम ल्याउन सकेको छैन । बिहीबार संसद्का दुवै सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापन स्वायत्तता, प्रविधि हस्तान्तरण तथा नवप्रवर्तनका माध्यमबाट सार्वजनिक संस्थानको प्रतिस्पर्धात्मक क्षमता विकास गरिने जनाए । संस्थानको व्यवस्थापन सुधार गर्न पुनःसंरचना, कम्पनीमा रूपान्तरण, रणनीतिक साझेदारीलगायत उपयुक्त विधि अवलम्बन गरिने उनको भनाइ छ । 

‘सरकारको स्वामित्वमा रहेका बन्द तथा रुग्ण उद्योगलाई उपयुक्तताका आधारमा नवीन प्रविधि प्रयोग गरी व्यवस्थापन गरिनेछ । सार्वजनिक निजी साझेदारीमा धौवादी फलाम कम्पनी सञ्चालन गरिनेछ,’ पौडेलले भने, ‘जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरिन्ड एन्ड म्याग्नेसाइट, हेटौंडा सिमेन्ट उद्योगलगायत प्रतिष्ठानको विद्यमान अवस्था र व्यावसायिक सम्भाव्यता अध्ययन गरी लगानी व्यवस्थापन गरिनेछ ।’ 

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully