भिडका कारण काम गर्न समस्या भएको भन्दै आर्थिक मामिला मन्त्रालयद्वारा सर्वसाधारणसँगको भेटघाट बन्द
हेटौंडा — बजेट तर्जुमा गर्ने पूर्वसन्ध्यामा बागमती प्रदेश सरकारका मन्त्रालयहरुमा एक सातादेखि सांसद, पालिकाका जनप्रतिनिधि लगायतको भीड लाग्ने गरेको छ । आफ्ना योजनामा बजेट पार्नका लागि बिचौलियाहरुको पनि उपस्थिति मन्त्रालयमा बाक्लै देखिन्छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा आफ्ना योजनामा बजेट पार्नका लागि दौडधुप चलेको हो । भिडका कारण काम गर्न समस्या भएको भन्दै आर्थिक मामिला मन्त्रालयले बजेट निर्माणका लागि आइतबारदेखि सर्वसाधारणसँगको भेटघाट बन्द गरेको छ । मन्त्रालयले प्रवेशद्वारमै सूचना टाँसेर जानकारी दिएको छ । सूचनामा भनिएको छ, ‘बजेट तर्जुमा सम्पन्न नहुन्जेल आम नागरिकसँगको भेटघाट स्थगित गरिएको छ ।’
'नीति तथा कार्यक्रमका आधारमा बजेट तर्जुमा भइरहेको छ, तर राजस्व कम र संघीय अनुदान घटेका कारण बजेटको आकार बढाउन चुनौती देखिन्छ,' मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले भने ।
गत १४ गते आगामी आवको नीति तथा कार्यक्रम बागमती प्रदेशसभामा पेस भएको थियो । असार १ गते बजेट ल्याउने गरी प्रदेश सरकारले योजनाको माग, प्रविष्ट गर्ने, छनोट लगायतका कामलाई तीव्र बनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मैनालीले आगामी आवको बजेट बनाउने प्रक्रिया सुरु भइसकेको भन्दै आर्थिक विधेयक र आर्थिक सर्वेक्षण बनाउने तयारीमा जुटिरहेको जानकारी दिए । सरकारको स्रोतको सीमामा रहेर बजेट बनाउनुपर्ने चुनौती र दबाब रहेको उनको भनाइ छ ।
बागमती प्रदेश सरकारले आव २०८०/०८१ मा ६२ अर्ब ७९ करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको थियो । चालु आव २०८१/८२ का लागि बजेटको आकार बढाएर ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको ल्याएको थियो ।
चालु आवको १० महिनामा प्रदेश सरकारले ३८ दशमलव ९१ प्रतिशत अर्थात् २५ अर्ब ११ करोड ४७ लाख १३ हजार मात्र खर्च गरेको छ ।
