काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लट–१ सिभिल तथा हाईड्रोमेकानिकलतर्फ ८१ प्रतिशत र लट–२ इलेक्ट्रोमेकानिकलतर्फ ५० प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ ।
ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव सहितको टोलीले निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको निरीक्षण गरेको छ । टोलीले स्थलगत निरीक्षण गरी आयोजनाको कार्य प्रगति एवं निर्माणबारेमा जानकारी लिएको थियो ।
आयोजनाको कुल अनुमानित लागत ९ अर्ब १७ करोड २६ लाख रुपैयाँ छ । भारतको एक्जिम बैंकबाट ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र बाँकी रकम नेपाल सरकार तथा प्राधिकरणले संयुक्त रूपमा लगानी गर्ने व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०८२/८३ को पुससम्म आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।
आयोजना निर्माणलाई सिभिल तथा हाइड्रो–मेकानिकल कार्य र इलेक्ट्रो–मेकानिकल कार्य गरी दुइटा लटमा विभाजन गरिएको छ । आयोजनाको लट–१ सिभिल तथा हाईड्रोमेकानिकल कार्यको लागि ठेकेदार जयप्रकाश एसोसियसट्स लिमिटेड (भारत) सँग ठेक्का सम्झौता भइ काम भइरहेको छ । सिभिल कार्यअन्तर्गत बाँध, इन्टेक, डिस्याण्डर, टनेल, विद्युत् गृह लगायतका कार्य छन् । हालसम्म सिभिल कार्यअन्तर्गत ८१ प्रतिशत भौतिक प्रगति भएको छ ।
आयोजनाको लट–२ इलेक्ट्रोमेकानिकल कार्यका लागि ठेकेदार भारत हेभी इलेक्ट्रिकल (भारत)सँग खरिद सम्झौता भई इलेक्ट्रोमेकानिकलसम्बन्धी काम भइरहेको छ । इलेक्ट्रोमेकानिकल लटअन्तर्गत टर्बाइन, जेनेरेटर, गभर्नर, ट्रान्सफर्मर लगायतका उपकरण आपूर्ति तथा जडानलगायतको काम भइरहेको प्राधिकरणले जनाएको छ ।
हालसम्म इलेक्ट्रोमेकानिकल कार्यअन्तर्गत निर्माण व्यवसायीको प्लान्टमा भएको विभिन्न यन्त्र उपकरणहरुको निर्माण तथा सोको सफल इन्सपेक्सन, निर्माण स्थलमा भइसकेको आपूर्तिको प्रगति र जडान भइसकेको प्रगतिको आधारमा इलेक्ट्रोमेकानिकल कार्यको प्रगति करिब ५० प्रतिशत छ ।
आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रसारण गर्न दाना–कुस्मा २२० केभी प्रसारण लाइनमा जोडिनेछ ।
