चार करोडमा बनेको ज्येष्ठ नागरिक आवास प्रयोगमा अन्योल

जेष्ठ १८, २०८२

हरिराम उप्रेती

Confusion in the use of senior citizen housing built at a cost of 4 crores

गोरखा — गोरखा नगरपालिका–१० छेवेटारमा सुविधासम्पन्न ज्येष्ठ नागरिक आवास भवन निर्माण भएको लामो समयसम्म प्रयोगमा आउन सकेको छैन । भवन निर्माण सकिएको झन्डै सात महिनासम्म सञ्चालनको स्वामित्व र प्रक्रियाबारे नै अन्योल छ ।

आवास भवन वृद्धाश्रमका लागि प्रयोग गर्ने योजना छ । प्रत्येक प्रदेशमा सुविधासम्पन्न वृद्धाश्रम भवन निर्माण गर्ने सरकारको योजनाअनुसार छेवेटारमा चार करोड खर्चिएर गण्डकी प्रदेशस्तरीय सुविधासम्पन्न भवन निर्माण गरिएको हो । २०७६ भदौ १ मा दुई वर्षभित्रै निर्माण सक्ने गरी ठेक्का सम्झौता भए पनि गत असोजमा मात्र काम सकिएको पूर्वाधार विकास कार्यालय प्रमुख गणेश सुवेदीले बताए । 

भवन निर्माणको जिम्मा आशिष इको जेभीले लिएको थियो । ‘ठेकेदारको ढिलासुस्तीले भवन निर्माणमा ढिलाइ भयो, ठेकेदारलाई बारम्बार ताकेता गरेर यो वर्ष काम सम्पन्न गरेका छौं,’ उनले भने । २०७८ भदौमा निर्माण पूरा नभएपछि तीन पटक म्याद थपेर गत असोजमा काम सकिएको कार्यालयले जनाएको छ । ‘तत्कालीन सहरी विकास तथा भवन कार्यालयले ठेक्का लगाएर काम अघि बढेको थियो, पछि पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरेर काम अघि बढेको हो,’ उनले भने । 

सुरक्षा गार्ड, प्रशासनिक र मुख्य आवास गृहका छुट्टाछुट्टै तीन वटा भवन बनेको कार्यालयले जनाएको छ । आवास भवनमा ३२ जनासम्म वृद्धवृद्धा राख्न सक्ने गरी संरचना बनाइएको छ । छेवेटारको ठुटेबजारस्थित दरौंदी नदी नजिकैको ३ रोपनी जग्गामा भवन निर्माण भएको हो । भवन निर्माण सकिए पनि हस्तान्तरणमा भने अलमल छ । ‘प्रदेशले बनाएको संरचना प्रदेश मातहत नै रहन्छ,’ सुवेदीले भने, ‘सञ्चालन प्रदेशले गर्ने कि स्थानीय सरकारलाई हस्तान्तरण गरेर चलाउने भन्ने विषयमा छलफलकै चरणमा छ ।’

वडा कार्यालयले पनि भवन प्रयोगमा ल्याउन नगरपालिका, पूर्वाधार विकास कार्यालयसँग माग राख्दै आएको छ । ‘भवनको काम समयमै सक्नुपर्‍यो भनेर बारम्बार भन्यौं, ढिलै भए पनि भवन त बन्यो, सरकारको लगानी भइसकेपछि प्रयोगमा आउनुपर्‍यो भनेर माग राखेका छौं,’ वडाध्यक्ष प्रदीप कुँवरले भने, ‘यत्तिकै छाड्दा भवन अलपत्र रहन्छ । जतिसक्दो चाँडो प्रयोगमा ल्याउन भनेका छौं ।’ 

भवनका केही कोठामा ‘एसी’ पनि जडान गरिएको छ । भवन पुग्ने दुई सय मिटर सडक कालोपत्र र ढलान गरिएको छ । रङरोगन सकिएपछि भवन आकर्षक देखिएको छ । भवनको रेखदेखका लागि एक जना हेरालु खटाइएको छ । ‘एकान्त ठाउँमा भवन छ, हेर्ने मान्छे भएनन् भने त अलपत्र पर्छ, भवनको सुरक्षामा पनि चुनौती थपिएको छ,’ उनले भने ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully