काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर र हिरा–तथा बहुमूल्य पत्थर जडित गहनामामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएकामा सुनचाँदी व्यवसायीहरुले आपत्ति जनाएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
‘सुनचाँदीका गरगहना नेपालमा विलासिताको वस्तु होइनन्, बरु जन्मदेखि मृत्युसम्म कुनै न कुनै रुपमा आफ्नो गच्छेअनुसार उपभोग गरिने संस्कृति, परम्परा र सामाजिक रीतिरिवाजको अभिन्न हिस्सा हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘विवाह, पूजाआजा, संस्कारदेखि आम सर्वसाधारणले बुझ्ने बचत र लगानीको एक माध्यमको रूपमा पनि सुनका गरगहनाको महत्वपूर्ण स्थान रहँदै आएको छ ।’
सरकारले लागू गर्न खोजेको नयाँ कर संरचनाले उपभोक्तामाथि २ प्रतिशतदेखि १३ प्रतिशतसम्मको प्रत्यक्ष आर्थिक भार थप्ने सुनचाँदी व्यवसायीहरु बताउँछन् । बजारमा महँगी थप्ने र छिमेकी देशको बजारमा भन्दा अत्यधिक मूल्यवृद्धि भई चोरीपैठारीदेखि अवैध कारोबारलाई समेत प्रोत्साहन गर्ने खतरा रहेको उनीहरुको ठम्याई छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर लाग्ने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको बजेटमा १० लाख रुपैयाँभन्दा माथिका सुन तथा सुनका गरहगना, हिरालगायतमा २ प्रतिशत विलासिता लाग्ने गरेको थियो ।
सुनचाँदी तथा हिरा–पत्थर जडित गहनाको कारोबारमा फिर्ता बिक्री ग्यारेन्टी अनिवार्य भएकोले बजार कायम राख्न बिक्री मूल्य र खरिद मूल्यमा कमभन्दा कम फरक हुनुपर्ने उनीहरुको माग छ । तर करको नयाँ संरचनाले त्यसमा बाधा पुग्ने उनीहरु बताउँछन् ।
‘सुनको आकासिँदो मूल्यले सुनचाँदी बजारमा पहिलै मन्दी ल्याइसकेको अवस्थामा कर वृद्धिको यो व्यवस्थाले थप मन्दी सिर्जना गर्ने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट लाखौं व्यवसायी, कालीगढ र मजदुरको रोजगारी र जीविकोपार्जन धरासायी हुने खतरा छ ।’
वैदेशिक रोजगारीबाट फर्कने नागरिकहरूले झिटीगुन्टा बापत ल्याउने सुन तथा सुनका गहनाको परिमाण सम्बन्धी व्यवस्थाको व्यवसायीहरु स्वागत गरेका छन् । ‘निर्यातमुखी उद्योगलाई ‘बन्डेड वेयरहाउस’ सुविधा उपलब्ध गराउने तथा ५० प्रतिशत अग्रिम भुक्तानी भएको अवस्थामा आवश्यक सुनचाँदी उपलब्ध गराउने अलग व्यवस्था गरिदिने प्रतिबद्धता पनि अत्यन्तै सकारात्मक छ,’ विज्ञप्तिमा भनिएको छ ।
