क्रिप्टोमा सीमित लगानी खुला गर्दै दक्षिण एसियाली देश

बिटक्वाइन माइनिङका लागि आफ्ना जलविद्युत् परियोजनाबाट उत्पादित ऊर्जा प्रयोग गर्दै भुटान, पाकिस्तानले छुट्यायो दुई हजार मेगावाट बिजुली 

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

South Asian country opening up limited investment in crypto

काठमाडौँ — बिटक्वाइन माइनिङ र एआई डेटा सेन्टरहरूका लागि पाकिस्तान सरकारले दुई हजार मेगावाट बिजुली छुट्याएको छ । क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिनुका साथै वैदेशिक लगानी आकर्षित गर्ने गरी पाकिस्तानले यस्तो कदम चालेको रोयटर्सले जनाएको छ ।

क्रिप्टो नियमनका लागि हालै मात्रै ‘पाकिस्तान क्रिप्टो काउन्सिल’ स्थापना गरिएको र त्यसले ऊर्जा व्यवस्थापनदेखि हाई–टेक रोजगारी सिर्जनामा पहल गर्ने पाकिस्तानको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मे १५ मा पाकिस्तानका लागि अमेरिकी कार्यवाहक राजदूत नटालिया बेकरसँग भेट गर्दै काउन्सिलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिलाल बिन सकिबले डिजिटल अर्थतन्त्रमा अमेरिका–पाकिस्तान सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताएका थिए ।

ब्लकचेन प्रविधिलाई कूटनीति, शिक्षा र सशक्तीकरणमा प्रयोग गर्न पाकिस्तान क्रिप्टो काउन्सिल प्रतिबद्ध रहेको उनको भनाइ छ । काउन्सिलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्रिप्टो प्रोजेक्ट सम्झौतामा हस्ताक्षरसमेत गरेको छ ।

हाल बिजुलीको उच्च महसुल र अधिक उत्पादन क्षमताजस्ता चुनौतीहरू पाकिस्तानले सामना गरिरहेको छ । सौर्य ऊर्जाको तीव्र विस्तारसँगै उपभोक्ताहरू उच्च लागत छल्न बिजुलीको विकल्प रोजिरहेका छन् । यसले उत्पादन भएको बिजुली खेर जाने चुनौती देखिएको छ ।

मुद्राका रूपमा कारोबार गर्न सकिने निजी क्षेत्रबाट जारी गरिएको डिजिटल वस्तु, क्रिप्टोकरेन्सी अपनाउन र यसको प्रयोग बढाउने गरी पछिल्लो समय पाकिस्तानजस्तै भुटान, भारतलगायत देशमा पनि पहल भएको देखिन्छ । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लाटफर्म बाइनान्सको प्रतिवेदन अनुसार भारत र श्रीलंकासहित दक्षिण एसियाको क्रिप्टो बजार द्रुत गतिमा स्थापित हुँदै छ । श्रीलंकाको केन्द्रीय बैंकले भने क्रिप्टोकरेन्सीलाई हालसम्म वैधानिक मान्यता दिएको छैन । 

गत वर्ष बिटक्वाइनको मूल्य प्रतिसिक्का ९७ हजारभन्दा माथि पुगेका बेला भुटान सरकारले एकसाथ ठूलो परिमाणमा बिटक्वाइन बेचेर सबैलाई चकित बनाएको थियो । याहु फाइनान्सका अनुसार त्यो बेला भुटानको सरकारी कम्पनी ड्रुक होल्डिङ एन्ड इन्भेस्टमेन्टले १० करोड अमेरिकी डलरको बिटक्वाइन बेचेको थियो । 

भुटानले बिटक्वाइन माइनिङका लागि आफ्ना जलविद्युत् परियोजनाहरूबाट उत्पादित ऊर्जा प्रयोग गरिरहेको विवरण सार्वजनिक भएका छन् । हालसम्म भुटानमा निजी रूपमा क्रिप्टोको लेनदेन पूर्ण रूपमा वैधानिक भने छैन । सरकार र केन्द्रीय बैंकले डिजिटल मुद्राको सम्भाव्यता र सुरक्षित प्रयोगबारे नीति निर्माण गरिरहेको छ । हालै मात्र भुटानले अन्तर्राष्ट्रिय पर्यटकहरूलाई लक्ष्य गर्दै क्रिप्टोकरेन्सीमा आधारित भुक्तानी प्रणाली सुरु गरेको घोषणा गरेको छ । 

नेपालमा भने क्रिप्टोकरेन्सी प्रतिबन्धित छ । भारतमा क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता छैन । तर त्यहाँ यो पूर्ण अवैध छैन । भारत सरकारले सन् २०२२ को बजेटमा क्रिप्टोबाट हुने नाफामा ३० प्रतिशत कर लगाएको थियो । यसले परोक्ष रूपमा क्रिप्टो कारोबारलाई स्वीकार गरेजस्तो देखिए पनि स्पष्ट कानुनी व्यवस्था नहुँदा लगानीकर्ता अलमलमा छन् । त्यहाँको सर्वोच्च अदालतले यसै साता भारत सरकारलाई क्रिप्टो नियमनका लागि कानुनी व्यवस्था तर्जुमा गर्न निर्देशन दिएको छ । एजेन्सी

कान्तिपुर

Link copied successfully