संसद्‍मा आर्थिक सर्वेक्षण पेस : प्रतिव्यक्ति आय १,५१७ अमेरिकी डलर पुग्यो

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

Economic Survey submitted to Parliament: Per capita income reached 1,517 US dollars

काठमाडौँ — उपप्रधान तथा  अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गरेका छन् । चालु आवमा देशको आर्थिक, सामाजिक एवं भौतिक विकासको स्थिति समेटिएको आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।

मंगलबारको बैठकमा उनले चालु आर्थिक वर्षको पहिलो आठ महिना र गत आर्थिक वर्षको मुलुकको समग्र विकासको अवस्था प्रस्तुत गरिएको  बताए ।

मन्त्री पौडेलका अनुसार चालु आवमा मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान छ । ‘प्रदेशगत रूपमा मधेश प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको छ,’ उनले भने, ‘चालु आवमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ ।’

यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान गरिएको छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १,५१७ अमेरिकी डलर पुगेको र औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको मन्त्री पौडेलले बताए ।

कान्तिपुर

Link copied successfully