राष्ट्र बैंक सेयर कर्जामा लचिलो बन्दा पनि बढेन नेप्से

मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले सेयर कर्जाको जोखिम भार घटाएर १ सय प्रतिशत कायम गरेको छ, यसअघि यस्तो जोखिमभार १२५ प्रतिशत थियो 

जेष्ठ १३, २०८२

कान्तिपुर संवाददाता

Napse did not increase even if Rashtra Bank shares became flexible in loans

काठमाडौँ — अघिल्लो दिनको तुलनामा सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवै घटेका छन् । आइतबार ८.५७ अंकले घटेको नेप्से सोमबार पनि ५‍.२१ अंकले घटेको हो । अघिल्लो दिनको तुलनामा शून्य दशमलव १९ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ७४.७६ बिन्दुमा ओर्लिएको छ । 

लामो समयदेखि बढ्न नसकेको नेप्से नयाँ गभर्नर नियुक्तिसँगै बढ्ने अपेक्षा गरिएको थियो । गभर्नर नियुक्त भएकै दिन गत मंगलबार नेप्से करिब ४९ अंकले बढेको थियो । त्यसयता चार दिन सेयर कारोबार भयो, जसमा गत बिहीबार नेप्से १९ अंकले बढेको थियो । बाँकी सबै दिन नेप्से घटेको छ । गभर्नरमा विश्व पौडेल नियुक्त भएको चार दिनपछि आइतबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले सेयर कर्जाको जोखिम भार घटाएर १ सय प्रतिशत कायम गरेको छ । 

सेयर कर्जाका विषयमा राष्ट्र बैंकको स्थिर नीति देखिँदैन । कहिले लचिलो त कहिले खुकुलो नीति अवलम्बन गर्दै आएको राष्ट्र बैंक अहिले चार वर्षअघिको अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले २०६७ देखि एकीकृत निर्देशन जारी गर्न थालेको हो । त्यतिबेला सेयर धितोमा प्रवाह हुने सबै कर्जाको जोखिम भार १ सय ५० प्रतिशत थियो । २०७५ पुस ११ मा सो व्यवस्था परिमार्जन गरेर सेयर कर्जाको जोखिम भार १ सय प्रतिशत बनाइयो । कोभिड संक्रमणपछि आक्रामक कर्जा विस्तार भएको भन्दै २०७८ फागुन ११ मा जोखिम भार बढाएर १ सय ५० प्रतिशत पुर्‍याइयो । २०७९ मा २५ लाख रुपैयाँसम्मको सेयर कर्जाको जोखिम भार १ सय प्रतिशत र बाँकी सबैमा १ सय ५० प्रतिशत बनाइएको थियो । २०८० मा ५० लाख रुपैयाँसम्मको सेयर कर्जामा १ सय र बाँकी सबैमा १ सय २५ प्रतिशत जोखिम भार पुर्‍याइयो । अहिले सेयर कर्जाको जोखिम भार १ सय प्रतिशत कायम गरिएको हो । 

सोमबार कारोबारमा आएकामध्ये ९२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १५५ वटाको घट्यो । कुल ६९ हजार ६ सय ५१ पटकको कारोबारमा १ करोड ७१ लाख ६० हजार ६ सय २५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ५८ करोड ५० लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । जुन आइतबारको तुलनामा कम हो । आइतबार ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

नेप्से घटेसँगै कुल बजार पुँजीकरण ८ अर्ब ६८ करोड रुपैयाँले घटेको छ  । गत आइतबार ४४ खर्ब ५९ अर्ब ४७ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण सोमबार ४४ खर्ब ५० अर्ब ७९ करोड कायम भएको छ  । यसले एकै दिनमा नेप्सेको आकार ८ अर्ब ६८ करोड रुपैयाँले खुम्चिएको देखाउँछ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण घट्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा कमी आउनु हो । यही आधारमा पुँजीकरण घट्दा लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको रूपमा विश्लेषण गरिन्छ ।

सोमबार उत्पादन तथा प्रशोधन ५७.०५ र बैकिङ २.४८ अंकले बढेको छ । बाँकी सबै उपसमूह घटे । होटल तथा पर्यटन ६२.०८, विकास बैंक १४.७२, जीवन बिमा २७.४४ अंक र लघुवित्त ७४.८४ ले घटेका छन् । ओम मेगाश्री फर्मास्युटिकल्सको ९.९९, उपकार लघुवित्तको ६.१९, कृषि विकास बैंक डेबेन्चर (२०८३) को ४.९८, उन्नति सहकार्य लघुवित्तको ४.९८, एनआईएमबी डेबेन्चरको ३.९७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

गुराँस लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेकरमार्फत कारोबार नियन्त्रण गरिएको थियो । बाराही हाइड्रोपावरको ९.८५, एनआईसी एसिया डेबेन्चर (२०८५/८६) को ५.५२, अभियान लघुवित्तको ३.९२ र नदीप लघुवित्तको ३.६५ प्रतिशतले सेयर मूल्य घटेको छ । कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी, ङादी ग्रुप पावर, युनिभर्सल पावर कम्पनी, कुमारी बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट अघि रहे । यसअनुसार राधी विद्युत् कम्पनीको ६४ करोड ३१ लाख, ङादी ग्रुप पावरको ५६ करोड ८६ लाख, युनिभर्सल पावर कम्पनीको ४५ करोड ३९ लाख, कुमारी बैंकको २१ करोड ९५ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १८ करोड ३५ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully