पालिकाका ९० प्रतिशत बढी किसान मकै खेतीमा, तर मूल्यको छैन उचित प्रबन्ध
झापा — जेठको मध्याह्न, टन्टलापुर घामले रापिएको छ जमिन । मकैबारी भित्रको गर्मी उस्तै । तर, यी कुनै पनि कुराको पर्वाह छैन उनलाई । निलो सर्ट र निलै पाइन्ट लगाएका उनको थाप्लोमा डोको छ । डोकोभित्र भर्खरै बोटबाट भाँचिएका मकै । उनलाई केबल मकै भाँच्ने चटारो छ । उनी अर्थात् झापा गाउँपालिका–७ का टेकनारायण तामाङ ।
तामाङ मात्रै होइन । झापा गाउँपालिकाका अधिकांश स्थानीय यतिबेला मकै थन्क्याउन व्यस्त छन् । ‘डेढ विगाहमा मकै लगाएका थियौँ । राम्रो फल्यो, हाम्रो आम्दानीको स्रोत नै यही हो,’ मकै भाँच्दै गर्दा भेटिएका तामाङले भने, ‘४६ हजार खर्च गरेर मकै लगाउँदा एक लाखभन्दा बढी आम्दानीसम्म भएको छ ।’
उसो त झापाका १५ पालिकामध्ये मकै खेतीका लागि प्रख्यात छ झापा गाउँपालिका । जहाँ मकै नलगाइएका खेत देख्न मुस्किल पर्छ अनि मकै खेती नगरेका परिवार । अहिले भने यहाँ मकै थन्क्याउने चटारो छ । कोही मकै सुकाइरहेका छन् भने कोही मेसिनबाट मकै छोडाइरहेका छन्, कोही भाँच्नमा व्यस्त छन् ।
बाटोमा मकै सुकाउँदै गर्दा भेटिए झापा गाउँपालिका–३ का धनपति संग्रौला । उनले करिब १५ कट्ठा जग्गामा मकै लगाएका छन् । अहिले भने मकै छोडाएर, सुकाइसकेर बेच्ने तरखरमा छन् । ‘यहाँको मुख्य बाली नै मकै हो । धान त खेत किन बाँझो राख्ने भनेर मात्रै रोप्ने हो, भात खान चाहिन्छ भनेर,’ उनले सुनाए, ‘मकैबाट राम्रो आम्दानी हुन्छ । घरबाटै बिक्छ पनि ।’
उनका अनुसार अहिले तीन हजार रुपैयाँ क्विन्टलमा मकै बिकिरहेको छ । सुकाएर तयार पारेको मकै लिन व्यापारी घरमै आइपुग्छन् । तौल गर्छन् अनि लैजान्छन् । झापा गाउँपालिका र कनकाई नगरपालिकाको माटो मकै खेतीका लागि उर्वर रहेको हुँदा सरकारले २०७६ सालदेखि यहाँ मकै जोन कार्यक्रमसमेत लागू गरेको छ ।
सुरुमा झापा गाउँपालिकाको वडा नं. ६ र कनकाई नगरपालिकाको वडा नं. ९ मा परीक्षणको रूपमा मकै जोन कार्यक्रम लागू भएको थियो । पछि कार्यक्रम विस्तार भयो । झापा गाउँपालिकाको सातै वटा वडा र छिमेकी कनकाई नगरपालिकाको वडा नं. ५ र ६ मा मकै जोन कार्यक्रम लागू भयो । फलस्वरूप यहाँका ९० प्रतिशतभन्दा बढी किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित छन् ।
कृषक संग्रौलाले यहाँ २६ कट्ठा जग्गामा एक सय ४ क्विन्टलसम्म मकै फलाएको सुनाए । अर्थात् एक कट्ठा जग्गामै १० मनसम्म मकै फलाएको उनको दाबी छ । ‘धानभन्दा मकै दोब्बर फल्छ । तर, मकैमा लगाउन रासायनिक मलको भने साह्रै अभाव हुन्छ । न किन्न पाइन्छ, न सरकारले नै दिन्छ,’ उनले भने, ‘रासायनिक मल हाल्ने बेला अभाव नहुने र सुलभ मूल्यमा समयमै पाइने हो भने उत्पादन अझै बढ्ने थियो ।’
झापा गाउँपालिका–३ कै अर्का किसान वीरबहादुर कार्की मकै अत्यन्तै राम्रो फल्ने भएपनि भाँचेर, छोडाएर, सुकाएर, मिलमा पिसाउन मिल्ने बनाउँदा पनि उचित मूल्य भने नपाइरहेको गुनासो गर्छन् । ‘अलिक अगाडीसम्म क्विन्टलको ३७ सयसम्म रहेको मकैको भाउ किसानको मकै निस्किएपछि भने घटेर तीन हजार हाराहारी आइपुग्यो । यो बजार कसको नियन्त्रणमा हुन्छ ?,’ एक विगाहभन्दा धेरै जग्गामा मकै लगाएका उनी भन्छन्, ‘रोग लाग्छ, किरा लाग्छ, औषधि उपचार, रासायनिक मल यी सबै गरेर मकै तयार पार्यो । भाउ घटिदिन्छ । किसान जतिको त्यतिमा बेच्न बाध्य ।’
मकै जोन लागू भएको पालिकामा पालिकाले समर्थन मूल्य पनि तोकिदिए कृषक लाभान्वित हुने भन्दै उनी भन्छन्, ‘पालिकाले समर्थन मूल्य तोकिदिए । भाउ समान हुन्थ्यो । कृषकले उचित मूल्य पाउँथे ।’ यसैगरी मकै सुकाउने ठाउँको अभाव हुँदा कृषकहरू सडक–सडकमा मकै सुकाउन बाध्य छन् यहाँ । दक्षिणी भेग हुँदै पूर्व–पश्चिम जोड्ने हुलाकी राजमार्ग त झन् मकै सुकाउने टनेल जस्तै बनेको छ । अन्य भित्री सडकहरू उस्तै ।
मकै जोन लागू भएको पालिकामा कृषकहरूलाई मकै सुकाउने टनेल अथवा अन्य कुनै विकल्प दिने हो भने सडकमा सुकाउनुपर्ने बाध्यता हट्ने बताउँछन् झापा गाउँपालिका–२ का धरमलाल हेमरम । सिंगो पालिका मकै खेतीमा व्यस्त छ । किसानहरू आफूले लगाएको मकै फलेको देखेर हर्षित पनि छन् । तर, किराको प्रकोप, औषधी उपचार, रासायनिक मलको अभाव, व्यापारीको मनपरी मूल्य देखेर त्यति नै आजित पनि ।
पालिकाभर कति किसान व्यावसायिक मकै खेतीमा लागेका छन् ? पालिकासँग तथ्यांक छैन । हामीले पालिकाको कृषि शाखासँग पालिकाभर कति हेक्टरमा मकै खेती हुन्छ ? भनेर पनि बुझ्यौँ । तर, पालिकाले तथ्यांक नै राखेको छैन । ‘अरू पालिकामाभन्दा झापा गाउँपालिकामा सेवा सुविधा राम्रो छ,’ कृषि शाखा प्रमुख समीक्षा उप्रेतीले भनिन् ।
कृषि ज्ञान केन्द्र झापाका अनुसार झापामा ४४ हजार ३५० हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । पूर्वपश्चिम राजमार्गको उत्तरी क्षेत्रभन्दा दक्षिणी क्षेत्रमा धेरै मकै खेती हुने गरेको छ । ज्ञान केन्द्रका सूचना अधिकारी चेतनाथ भण्डारी जिल्लाका समग्र पालिकामा मकै खेती फस्टाइरहेको बताउँछन् । किसानहरू विशेषगरी हाइब्रिड जातका मकै तर्फ आकर्षित भइरहेको उनको भनाइ छ ।
उन्नत जात र उत्पादन पनि धेरै हुने भएकाले किसानको बढ्दो आकर्षण रहेको उनको भनाइ छ ।
