किसानको भुक्तानीमा बेवास्ता गर्दै दुग्ध सहकारी

दूध संकलन गरिदिएबापत डेरी उद्योगबाट वर्षको करिब दुई अर्ब उठाए पनि किसानको भुक्तानी नदिएर अन्यत्र लगानी गर्छन् सहकारी

जेष्ठ ११, २०८२

राजु चौधरी

Dairy co-operatives neglecting to pay farmers

काठमाडौँ — –सुक्खा सिजनमै डेरी उद्योगले किसानलाई तिर्नुपर्ने बक्यौता ५ अर्ब नाघेपछि गत मंगलबार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको उपस्थितिमा मन्त्रालयले छलफलमा बोलायो । सचिव दीपक खराल, दुग्ध विकास संस्थान (डीडीसी), पशु सेवा विभाग, डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका पदाधिकारीसहितको बैठकमा सचिव खरालले सहकारीले पैसा अन्यत्र लगानी गरेको बताए । ‘कति सहकारीले त डेरी उद्योगले पैसा दिए पनि किसानलाई नतिरेर अन्य ठाउँमा लगानी गरेका छन्,’ उनले भने ।

–करिब २ वर्षअघि सुक्खा सिजन चल्दा बजारमा दूध अभाव भयो । अभावको मौका छोप्दै केही दुग्ध सहकारीले दूधमा कार्टेलिङ थाले । दूधको रेट मनलाग्दी राखेर बजार बिगारेको आरोप लाग्यो । डेरीबाट बढी मूल्य असुले पनि किसानलाई थोरै दिएको आरोप लाग्यो । त्यही सन्दर्भमा तत्कालीन कृषि तथा पशुसपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, दुग्ध विकास संस्थान, डेरी उद्योगी र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका पदाधिकारीसहित मन्त्रालयमा छलफल भएको थियो । छलफलमा मन्त्री साहले बदमासी कसले गरेको आफूलाई सबै थाहा भएको बताउँदै सहकारीलाई दुग्ध क्षेत्रका बिचौलिया र दलालको संज्ञा दिएकी थिइन् । 

सरकारी स्वामित्वकै डीडीसी र निजी डेरी उद्योगीले किसानलाई भुक्तानी नगरेको महिनौं भइसक्यो । कोभिडयता किसानले समयमै भुक्तानी पाएका छैनन् । किसानबाट खरिद गरेको दूध डेरी उद्योगीले नगदमै बिक्री गरे पनि कतिपय किसानले करिब ६ महिनायता भुक्तानी पाएका छैनन् । 

पछिल्लो समय खुला सिजन चलिरहेको छ । यस्तो बेला दूध उत्पादन कम हुन्छ, स्टक बिक्री गरेर किसानको भुक्तानी चुक्ता गर्नतिर डेरी उद्योग र डीडीसी लाग्नुपर्ने हो । तर डेरी उद्योगबाट किसानले ५ अर्ब रुपैयाँभन्दा बढी पाएका छैनन् । निजी डेरीबाट साढे ३ अर्ब र डीडीसीबाट डेढ अर्ब रुपैयाँ किसानले नपाएको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले जनाएको छ । 

दूध संकलन गरिदिएबापत सहकारीले डेरी उद्योगबाट वर्षको १ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी संकलन गर्छन् । तर किसानले महिनौंदेखि भुक्तानी नपाउँदा उनीहरू चुपचाप बसेका छन्, यसले उनीहरूको भूमिकामै प्रश्न उठेको छ । पूर्वमन्त्री र सचिवले भने जस्तै डेरी उद्योगले भुक्तानी गरेको पैसा किसानलाई समयमै नदिएर बदमासी त गरेका छैनन् भन्ने प्रश्न उठेको जानकार बताउँछन् । 

‘उद्योगले समयमै भुक्तानी गरेका छैनन्, कतिपय सहकारीले पनि भुक्तानीमा ढिलाइ गरेको गुनासो आएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यति बेला सहकारीको भूमिका र पारदर्शितामा पनि प्रश्न उब्जेको छ । अब डेरी उद्योगसँगै दुग्ध सहकारीले पनि भुक्तानी गरे–नगरेकामा अनुगमन निरीक्षण जरुरी छ ।’

दुग्ध उत्पादक सहकारीले किसानलाई भुक्तानी नगरेको कृषक समूह महासंघ नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठले बताए । केहीले सहकारीले किसानलाई भुक्तानी दिन छाडेर अन्य क्षेत्रमा लगानी गरेका छन् । कतिपयले बैंकको ब्याज तिर्न प्रयोग गरेको उनले जनाए । ‘डेरी उद्योगसँगै केही सहकारीले पनि बदमासी गरेका छन् । विडम्बना, यसमा सरकार नै बिचौलिया भइदियो । नीति नियम एउटा छ, काम अर्को गरिएको छ,’ श्रेष्ठले भने, ‘सहकारीले अन्यत्र लगानी गरेको सन्दर्भमा सम्बन्धित पालिकाले अध्ययन गर्न जरुरी छ ।’

दुग्ध क्षेत्रमा करिब ६ लाख किसान प्रत्यक्ष संलग्न छन् । नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले करिब ४ लाख किसानबाट दूध संकलन गर्छ । उनीहरूले करिब १६ सय उत्पादक सहकारीमार्फत दूध संकलन गर्छन् । कृषि मन्त्रालयकै तथ्यांकअनुसार दिनको ७२ लाख लिटर उत्पादन हुन्छ । ३६ लाख लिटर किसान आफैंले खपत गर्छन् । बाँकी १२ लाख लिटर औपचारिक रूपमा बजारमा आउँछ । २४ लाख लिटर अनौपचारिक रूपमा आउँछ । २४ लाख लिटर अनौपचारिकमध्ये केही दूध सहकारीमार्फत डेरी उद्योगमा पुग्छ । यही दूध संकलन गरिदिएबापत सहकारीले लिटरकै ४ देखि ५ रुपैयाँ पाउँछन् ।

दिनको १२ लाख लिटरको औसत ४.५ रुपैयाँका दरले दुग्ध सहकारीले दिनमा ५४ लाख रुपैयाँ उठाउँछन् । वार्षिक रूपमा यो १ अर्ब ९७ करोड पुग्छ । ‘यसरी करिब दुई अर्ब रुपैयाँ संकलन भए पनि उनीहरूले आफ्नो दायित्व पूरा गरेका छैनन् । किसानका नाममा आएको पैसा आफूखुसी खर्च गर्ने गरेका छन्,’ श्रेष्ठले भने । 

दुग्ध सहकारीले बिचौलियाको मात्रै काम गरिरहेको उनको भनाइ छ । किसानले दूध सहकारीमा ल्याइदिएपछि डेरी उद्योगले नै दूध बोक्न ट्यांकरबाट ढुवानी गर्छन् । किसानले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफका आधारमा प्रतिलिटर ६५ रुपैयाँ पाउँछन् । डेरी उद्योगले ढुवानी खर्च भनेर प्रतिलिटर ६ रुपैयाँ, प्याकेजिङ खर्च ८ रुपैयाँ, ओभरहेड खर्च १० रुपैयाँ र नोक्सानका नाममा प्रतिलिटर २ रुपैयाँ जोडर मूल्य निर्धारण गर्छन् । 

यसरी ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफका आधारमा एक लिटरको ९६ रुपैयाँ पुग्छ । तर डेरी उद्योगीले ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफका आधारमा दूध बिक्री गर्दै आएका छन् । यी सबै जोडेर प्रतिलिटर ८९ रुपैयाँ हुन्छ । त्यसमा बिक्री गर्दा रिटेलरलाई प्रतिलिटर ४ रुपैयाँ, बुथम्यानलाई ३ रुपैयाँ र आफ्ना लागि २ रुपैयाँ फाइदा राखेर मूल्य निर्धारण गरिएको उद्योगीहरूको दाबी छ । 

‘ढुवानी, प्याकेजिङदेखि बजार पठाउँदासम्म खर्च हुन्छ । त्यसमा केही प्रतिशत नाफा राखेर उपभोक्ता मूल्य तयार हुन्छ,’ एक उद्योगीले भने, ‘यसमा दुग्ध सहकारीको केही मिहिनेत छैन । संकलन गरेबापत नै वार्षिक अर्बौं रुपैयाँ उठाउँछन् । तर पनि कानुनी दायरामा छैनन्, आफ्नो हिसाबले चलेका छन् । सहकारीको दायित्व दूध संकलन गरिदिने मात्रै हो र ?’

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका महासचिव रामप्रसाद आचार्य भने डेरी उद्योगबाट प्रतिलिटर ४ देखि ५ रुपैयाँ पाउने रकम संस्था सञ्चालनमै खर्च हुने दाबी गर्छन् । ‘कर्मचारीलाई तलब दिनुपर्‍यो । अडिट गर्नुपर्‍यो । बाँकी रहेको पैसा संस्थामै रहन्छ । त्यो पैसा किसानकै हो,’ महासचिव आचार्यले भने, ‘किसानलाई सहजीकरण गर्ने काम पनि गरिरहेकै छौं । किसानका मुद्दामा आन्दोलन पनि गरेका छौं ।’ सहकारीभन्दा डेरी उद्योगले किसानको पैसा नदिएर अन्य क्षेत्रमा लगानी गरेको उनको भनाइ छ । डेरी उद्योगीले बैंकमा जम्मा गरेको पैसा एक दिन पनि नरोकेर किसानलाई दिने गरिएको उनले बताए ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully