९ महिनामा ३८ प्रतिशतले बढ्यो सेयर कर्जा, बढेन नेप्से

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म थप ३४ अर्ब २ करोड ८३ लाख सेयर कर्जा प्रवाह, नेप्से २५ सयदेखि २७ सय अंकको हाराहारीमै

जेष्ठ ९, २०८२

यज्ञ बञ्जाडे

Share loan increased by 38 percent in 9 months, NEPSE did not increase

काठमाडौँ — चालु आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाले थप ३४ अर्ब २ करोड ८३ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो सेयर कर्जा ३७.८ प्रतिशतले बढी हो । सेयर कर्जा बढेको अनुपातमा सेयर बजार भने बढ्न सकेको छैन ।

चालु आर्थिक वर्षको सुरुदेखि नै सेयर कर्जा बढिरहेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउनदेखि चैतसम्म २५ देखि ५० लाखसम्मको सेयर कर्जा १५.१४ र २५ लाख रुपैयाँभन्दा कमको कर्जा ८.६ प्रतिशतले बढेको छ । सोही अवधिमा १ करोड रुपैयाँभन्दा बढीको कर्जा ५१.४ प्रतिशत र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा भने १९.४ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । 

गत आर्थिक वर्षको नौ महिनामा सेयर कर्जाको वृद्धिदर १३ प्रतिशत थियो । २०८१ चैतसम्म २५ लाखभन्दा कमको कर्जा ४.९, २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा ११ र ५० लाखदेखि १ करोडसम्मको कर्जा २ प्रतिशतले बढेको थियो । उक्त अवधिमा १ करोडभन्दा माथिको कर्जा १७.७ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

चालु आर्थिक वर्षको तथ्यांकअनुसार सानाभन्दा पनि ठूला रकमका कर्जाको वृद्धिदर धेरै छ । हाल राष्ट्र बैंकले व्यक्तिगत लगानीकर्ताका लागि सेयर कर्जामा १५ करोडको सीमा लगाएको छ भने संस्थागत लगानीकर्ताका लागि यस्तो सीमा हटाएको छ । ठूला लगानीकर्ताले सेयर धितोमा लिएको कर्जा अन्यत्र उपयोग गरेकाले पनि सेयर बजारमा सकारात्मक प्रभाव नपरेको जानकारको भनाइ छ ।

लगानीकर्ताले सेयर कर्जा अन्यत्र उपयोग हुने सम्भावना धेरै रहेको नेपाल स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले बताए । ‘बैंक तथा वित्तीय संस्थामा सेयर धितोमा मार्जिन प्रकृतिको कर्जा पाइन्छ । चलनचल्तीमा त्यसलाई मार्जिन लेन्डिङ भनिए पनि त्यो कर्जा फरक प्रकृतिको हो,’ उनले भने, ‘यो कर्जा लिएर सेयरमै लगानी गर्नुपर्छ भन्ने बाध्यात्मक व्यवस्था कहीं पनि छैन । अन्यत्र उपयोग भएको हुन पनि सक्छ ।’ 

अहिले घरजग्गाभन्दा सेयर धितोमा कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्था पनि उत्साहित हुने भएकाले मार्जिन प्रकृतिको कर्जा बढेको हुन सक्ने उनले बताए । ‘वास्तवमा त्यो कर्जा कहाँ उपयोग भएको छ भन्ने यकिन तथ्यांक बैंक र राष्ट्र बैंकसँग पनि नरहेकाले कर्जा बढेअनुसार सेयर बजार बढ्न नसकेको हो,’ उनले भने । यही कारण सेयर धितोमा लिइएको कर्जा सेयर खरिदमै लगानी होस् भन्नकै लागि आफूहरूले ब्रोकरले मार्जिन कर्जा दिन पाउने व्यवस्था माग गर्दै आएको ती अधिकारीले बातए । 

सेयर कर्जाका नाममा जति पैसा आएको छ, त्योभन्दा धेरै पैसा सेयर बिक्री, पुँजीगत करमार्फत सेयर बजारबाट बाहिरिएकाले कर्जा बढेको सकारात्मक प्रभाव नेप्से परिसूचकमा नदेखिएको स्टक ब्रोकर्स एसोसिएसनका अर्का एक पूर्वअध्यक्षले बताए । ‘पछिल्ला महिनामा सेयर कर्जा बढेको देखिन्छ, यसो हुँदा बजारमा सेयरको माग बढ्नुपर्ने हो, तर त्यो देखिँदैन,’ ती अधिकारीले भने, ‘कर्जा बढेअनुसार सेयरको माग नबढेकाले समग्र नेप्से अपेक्षित रूपमा बढ्न नसकेको हो ।’

गत आर्थिक वर्षदेखि नै वित्तीय प्रणालीमा अधिक तरलता छ । ब्याजदर निरन्तर घटेर ४६ महिनायताकै न्यून छ भने कर्जा माग निकै कम छ । 

यसकारण पनि अहिले बैंकले सेयर लगानीकर्तालाई कर्जा लिन आग्रह गर्दै आएका छन् । राष्ट्र बैंकको तथ्यांकले साना लगानीकर्ताले पनि बैंकबाट कर्जा लिएको देखाउँछ । तर पनि बजार किन बढ्न सकेन भन्ने अन्योल लगानीकर्तामा रहेको सेयर ब्रोकरहरू बताउँछन् ।

बजार बढ्न अहिले चाहिएको सकारात्मक संकेत (समाचार) मार्फत लगानीकर्ताको आत्मविश्वास वृद्धि हो । पछिल्ला दिनमा सेयर बजारमा कारोबारको प्रकृति हेर्दा लगानी बढेको देखिन्छ । तर लामो समयदेखि घटिरहेको बजारमा लगानीकर्ताले सकारात्मक आशाको संकेत देखेका छैनन् । कांग्रेस र एमालेको गठबन्धनपछि बनेको सरकारले आर्थिक विकासलाई प्राथमिकता दिने भने पनि अर्थतन्त्रमा अपेक्षित सुधार आउन सकेको छैन । अर्थतन्त्रका अन्य क्षेत्रमा सुधार नआउँदा सेयर बजारमा पनि लगानीकर्ताको आत्मविश्वास बढ्न नसकेको जानकार बताउँछन् । 

कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गत असार १७ मा गरेका थिए । यद्यपि सेयर बजार त्यसअघिका केही सातादेखि नै बढ्न थालेको थियो । ठूला दलहरू मिलेर सरकार बनाउने भएपछि सेयर बजारको उकालो गति बढ्न थाल्यो । जसअनुसार असार अन्तिम साता २ हजार हाराहारीमा रहेको नेप्से साउनको अन्तिममा ३ हजार पुग्यो । त्यो उच्च बिन्दु निकै कम समयमात्र टिक्यो र सेयर बजारले पुनः ओरालो बाटो समात्यो । परिणाम नेप्से परिसूचक २५ सयभन्दा मुनि झर्‍यो । त्यसपछि नेप्से अधिकांश समय २५ सयदेखि २७ सय हाराहारीमै छ । त्यसयताका अधिकांश दिन नेप्से घटेको छ भने बढ्दा पनि वृद्धिदर न्यून छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully