काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ७.९४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.२९ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ६९.५१ विन्दुमा ओर्लेर बन्द भएको छ । गत मंगलबार नेप्से ४९ अंक बढेर बन्द भएको थियो ।
मंगलबार उच्च अंकले नेप्से बढ्दा नयाँ गभर्नरको नियुक्तिसँगै लगानीकर्तामा उत्साह थपिएको रूपमा हेरिएको थियो । तर, त्यो वृद्धि बुधबारसम्म पनि टिकेन । कुल बजार पुँजीकरणको हिसाबले दोस्रो बजारमा अझै पनि बैंक तथा वित्तीय संस्थाको हिस्सा धेरै छ ।
यसकारण राष्ट्र बैंकका सामान्य निर्णय तथा निर्देशनले सेयर बजार प्रत्यक्ष प्रभावित हुने गरेको छ । बुधबार सेयर बजार खुलेलगत्तै पहिलो पाँच मिनेटमा उच्च अंकले बढेको थियो । तर, त्यसपछि त्यो वृद्धि टिक्दै टिकेन र कारोबार अवधिभर नै करिब ८ अंकले घटेर बन्द भयो ।
सत्ता गठबन्धन दलहरूबीचको खिचातानीका कारण सरकारले लामो समयसम्म गभर्नर नियुक्त गर्न सकेको थिएन । अन्ततः राष्ट्र बैंकमा ४४ दिनदेखि रिक्त गभर्नर पदमा विश्वनाथ पौडेललाई सरकारले नियुक्त गरेको छ । गभर्नर पौडेलले सेयर बजारमा लगानीकर्ताको आत्मविश्वास बढ्ने गरी काम गर्ने बताएका छन् । ‘म सबै सरोकारवालासँग प्रत्यक्ष संवादमार्फत काम गर्छु । पुँजी बजारका लगानीकर्ताको मनोबल बलियो हुने गरी काम गर्छु,’ उनले भने, ‘पुँजी बजारको योगदान समग्र अर्थतन्त्रमा पुगोस् भन्ने मेरो चाहना छ ।’
बुधबार कारोबारमा आएकामध्ये ९३ कम्पनीको सेयर मूल्य बढ्यो भने १५३ वटाको घट्यो र एउटाको स्थिर रह्यो । ८८ हजार १ सय २१ पटकको सेयर कारोबारमा २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको हो । गत मंगलबार सेयर बजारमा ७ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, विकास बैंक र सामूहिक लगानी कोषको परिसूचक बढे । बाँकी उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएको छ ।
