काठमाडौँ — नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यही जेठ १८ गतेदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । ‘निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८/८९’ नामक उक्त ऋणपत्रको परिपक्को अवधि ७ वर्ष रहेको छ । प्रतिकित्ता एक हजार रुपैयाँ मूल्य रहेको उक्त ऋणपत्रमा बैंकले वार्षिक ६ प्रतिशतका दरले ब्याज भुक्तानी गर्नेछ ।
बैंकले एक कित्ता हजार अंकित दरका ५ अर्ब रूपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको बैंकका प्रमुख कार्याकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिए । ‘निष्काशित सेयरमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र संस्थागत तबरबाट बाँडफाँट गरिनेछ,’ उनले भने, ‘बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।’
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको पनि बैंकले जानकारी गरेको सूचनामा उल्लेख छ ।
उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रमा १८ जेठ देखि २१ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा आवेदन अवधि असार १ गतेसम्म लम्बिने सूचनामा उल्लेख छ ।
इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्राप्त गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ मार्फत अनलाइन आवेदन दिन सक्छन् ।
