निर्यात ७३ प्रतिशत बढे पनि व्यापार घाटा उस्तै, पुग्यो साढे १२ खर्ब

१० महिनामा २ खर्ब १७ अर्ब नाघ्यो निर्यात, १ खर्ब ११ अर्ब १३ करोडको खानेतेलको कच्चा पदार्थ आयात हुँदा ८८ अर्ब ८७ करोडको प्रशोधित तेल निर्यात

जेष्ठ ८, २०८२

राजु चौधरी

Although exports increased by 73 percent, the trade deficit remained the same, reaching 12.5 trillion

काठमाडौँ — खानेतेल निर्यातमा भन्सार सहुलियत र अग्रिम भुक्तानी सुविधाले निर्यात व्यापार ७३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो निर्यात रकम हालसम्मकै धेरै हो । गत आर्थिक वर्षको १० महिनामा १ खर्ब २६ अर्ब १७ करोडको वस्तु निर्यात भएको थियो ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार निर्यात व्यापार बढे पनि मुलुकको व्यापार घाटामा भने सुधार छैन । चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको भन्दा करिब ७ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०/८१ को उक्त अवधिमा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो । 

आर्थिक वर्ष २०७८/७९ मा पहिलो पटक २ खर्ब ३ करोडको वस्तु निर्यात भएको थियो । त्यसयता अहिले (२०८१/८२ को १० महिनामा) निर्यात २ खर्ब १७ अर्ब रुपैयाँ नाघेको विभागले जनाएको छ । खानेतेलका कारण समग्र निर्यात व्यापार बढेको हो । निर्यात भएका वस्तुमध्ये खानेतेलको हिस्सा ४१ प्रतिशत छ । उक्त अवधिमा ८८ अर्ब ८७ करोड रुपैयाँको खानेतेल निर्यात भएको छ । 

‘अन्य मुलुकबाट भारतमा भित्रिने तेलको भन्सार दर २७ प्रतिशत पुगेको छ । नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन भएका वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउँछ,’ वाणिज्य विज्ञ रवि सैंजुले भने, ‘त्यही भएर उद्योगी व्यवसायीले कच्चा तेल आयात र प्रशोधन गरेर भारत पठाएका छन् । जसले गर्दा निर्यात अस्वाभाविक बढेको हो, यो दिगो होइन ।’ 

विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै सोयाबिन तेल ७८ अर्ब ७५ करोड, सनफ्लावर तेल १० अर्ब ९ करोडको निर्यात भएको छ । पाम तेलको निर्यात ३ करोड रुपैयाँ पुगेको छ । खानेतेलको कच्चा पदार्थ अमेरिका, अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया, थाइल्यान्डबाट आयात हुँदै आएको छ । १० महिनामा आयात व्यापारमा खानेतेल (कच्चा) को हिस्सा साढे ७ प्रतिशत छ । चालु आर्थिक वर्षको १० महिनामा १४ खर्ब ७४ अर्ब १८ करोडको वस्तु आयात भएको छ । 

आयातित वस्तुमध्ये खानेतेल (कच्चा पदार्थ) १ खर्ब ११ अर्ब १३ करोडको आयात भएको छ । जसमध्ये सोयाबिन (कच्चा तेल) ८१ अर्ब ८९ करोड, सनफ्लावार (कच्चा तेल) २४ अर्ब ६४ करोड र पाम तेल (कच्चा तेल) ४ अर्ब ६० करोड रुपैयाँको आयात भएको छ । यसरी आयात भएको कच्चा तेल उद्योगी व्यवसायीले प्रशोधन गरेर भारत निर्यात गरेका हुन् । भन्सार सहुलियतसँगै भारतमा निर्यात गर्दा अग्रिम भुक्तानी पाउने भएकाले उद्योगी पनि उत्साहित छन् । 

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा १४ खर्ब ७४ अर्ब १८ करोडको वस्तु आयात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिभन्दा १३.११ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोडको वस्तु आयात भएको विभागले जनाएको छ । आयातमध्ये पहिलो नम्बरमा डिजेल १ खर्ब २ अर्ब ३८ करोडको आयात भएको छ । दोस्रोमा नम्बरमा भने सोयाबिन तेल (कच्चा पदार्थ) नै हो । 

तेस्रो नम्बरमा भने पेट्रोल ५३ अर्ब ५ करोड, खाना पकाउने एलपी ग्यास ५१ अर्ब ८१ करोड रुपैयाँ बराबरको आयात भएको छ । त्यस्तै, ४१ अर्ब ४९ करोडको आइरन, २८ अर्ब ७६ करोडको स्मार्टफोन, २८ अर्ब ७५ करोडको स्टिल आइरन, २४ अर्ब ६४ करोडको सनफ्लावर तेल (कच्चा), १८ अर्ब ९५ करोडको धान, १७ अर्ब १२ करोडको सुन, १६ अर्ब १४ करोडको हवाई इन्धन, १४ अर्ब ९७ करोडको मकैलगायत वस्तु आयात भएको छ । 

निर्यातमा पहिलो नम्बरमा सोयाबिन तेल, सनफ्लावर तेल नै पर्छ । त्यसपछि ८ अर्ब ८४ करोडको कार्पेट, ६ अर्ब ६७ करोडको अलैंची, ४ अर्ब ७९ करोडको स्टिल तथा आइरन, ४ अर्ब ५५ करोडको जुट, ४ अर्ब ५२ करोडको जुस, ४ अर्ब ४४ करोडको धागोलगायत वस्तु निर्यात भएको छ ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully