भुक्तानी नपाउँदा निर्माण व्यवसायीले कामको गति घटाएका छन् । काम गर्न छाडेका छन् । सकिनुपर्ने ठेक्का सकिएका छैनन् ।
काठमाडौँ — हुलाकी राजमार्गको निर्माण थालेको १६ वर्ष भयो । तर अझै आयोजना सम्पन्न हुन सकेको छैन । अझै कतिपय निकुञ्ज क्षेत्रमा सडकको रेखांकन विवाद नै टुंगिएको छैन । निर्माणको गति बढाउन बजेटको समस्या उस्तै रहेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।
हुलाकी राजमार्गअन्तर्गतका योजना कार्यालयहरूबाट फागुनसम्म भएको कामको भुक्तानी अझै हुन सकेको छैन । जसले गर्दा कामको गति बढाउन नसकिएको गुनासो आयोजनाको छ । १ अर्ब रुपैयाँ आन्तरिक रूपमा रकमान्तर गरेर व्यवस्था गरिए पनि थप काम गरेको भुक्तानी दिन नसकिएको हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुवेर नेपालीले बताए ।
‘फागुनसम्म काम भएको २ अर्ब ५० करोड रुपैयाँबराबरको बिल तयार भएर बसेको छ, पैसा नहुँदा आजसम्म भुक्तानी दिन सकिएको छैन,’ उनले भने, ‘जसले गर्दा चालु आवको असारसम्म कति काम गर्ने र कति बजेट पाइन्छ भन्नेमा अन्योल छ ।’ भुक्तानी नपाउँदा निर्माण व्यवसायीले कामको गति घटाएका छन् । काम गर्न छाडेका छन् । सकिनुपर्ने ठेक्का सकिएका छैनन् ।
‘पैसा नभएपछि निर्माण व्यवसायीले काम गर्न नसक्ने स्थिति छ, व्यवसायीसँग आयोजनाको विश्वास गुमे जस्तो भएको छ,’ आयोजनाका एक इन्जिनियरले भने, ‘नभए ३ वर्ष अघिसम्म हाम्रो बोली बिकिरहेको थियो, व्यवसायीलाई काम गर, पैसाको समस्या हुँदैन भनिन्थ्यो ,अहिले त्यस्तो अवस्था छैन ।’ गत आवमा आयोजनाले स्रोत सहमति नै पाएन । यो वर्ष १ अर्ब ५० करोड स्रोत सहमति पाए पनि त्यो प्रयाप्त भएन ।
‘आयोजना सुरु भएको १६ वर्ष भयो, तर निकुञ्ज क्षेत्रको रेखांकन अझै मिलाउन सकिएको छैन,’ ती इन्जिनियरले भने, ‘तत्काल गर्नुपर्ने नीतिगत निर्णयमा समेत सरकारबाट ढिला हुँदा त्यसको प्रभाव सिंगो आयोजनामा परीरहेको छ ।’ राजमार्गमा पर्ने जग्गासमेत समयमै उपलब्ध नहुँदा निर्माण गरिने सडकको भौगोलिक आकार नै बिगारेर काम गर्नुपर्ने अवस्था रहेको आयोजनाको भनाइ छ । कतिपय अवस्थामा अदालती मुद्दा मामिलाकाकारण पनि काममा ढिला हुने गरेको छ ।
तराईका जिल्ला सदरमुकामलाई पूर्व–पश्चिम जोड्ने गरी यसको निर्माण ०६६/६७ सालबाट सुरु गरिएको हो । अहिलेसम्म प्रगति ७१ प्रतिशत मात्र छ । झापाको केचनाकवलदेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्मको भूभागलाई जोड्ने अवधारणाअनुसार यसको निर्माण प्रक्रिया अघि बढाइएको हो । तराई–मधेशका २१ जिल्लाका करिब एक करोड जनता लाभान्वित हुने गरी यसको निर्माण थालिएको हो ।
राजमार्गको कुल दूरी १ हजार ८ सय ५७ दशमलव ४२ किमि हो । यसमा ८ सय ८२ दशमलव ४२ किमि सहायक मार्ग पर्छ । अहिलेसम्म १ हजार २ सय ५४ दशमलव ६८ किमि सडक मात्र कालोपत्र गरिएको छ । संसोधित समय अनुसार आव ०८३/८४ सम्म म्याद छ । आयोजना सुरु हुँदा प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रुपैयाँ थियो । पछि संशोधन गरेर ६५ अर्ब २० करोड पुर्याइयो । अहिले यसको लागत बढेर १ खर्ब १ अर्ब ९३ करोड रुपैयाँ बनाइँदै छ । हालसम्म ६६ अर्ब १० करोड ३३ लाख रुपैयाँ खर्च भइसकेको छ ।
यस आयोजनाका लागि सरकारले चालु आर्थिक वर्षमा ३ अर्ब ३८ करोड रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ । आगामी आवका लागि ३ अर्ब ५० करोड मात्र सिलिङ दिइएको छ, तर अहिले भइरहेको काम अनुसार ५ अर्ब रुपैयाँ चाहिने आयोजनाले जनायो ।
चालु आवमा ७५ किमि सडक र १० वटा पुल बनाउने लक्ष्य आयोजनाको छ । तर लक्ष्य हासिल गर्न बजेट नै बाधक बनिरहेको दाबी आयोजनाको छ । ‘फागुनसम्म पुरानो बिलको भुक्तानी दिन सकेको भए आव ०८३/८४ सम्म चालु ठेक्का प्राय: सबै सकिने थिए,’ हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक नेपालीले भने, ‘भुक्तानी समस्याले आयोजनामा समस्या थपिँदै गएको छ ।’ अन्य आयोजना सोसरह नै ठेक्का लगाउने खण्डको कागजात बोकेर अर्थ मन्त्रालयमा स्रोत सहमतिका लागि जानुपर्ने बाध्यता रहेको उनले सुनाए ।
‘स्रोत सहमति पाउँदैमा मंसिर पुग्छ,’ उनले भने, ‘यसले ठेक्का प्रक्रिया नै बिथोलिएको अबस्था छ, बजेटमै राष्ट्रिय गौरवका आयोजनामा यति रकमसम्मको ठेक्का गर्न पाइने भन्ने उल्लेख गर्नुपर्छ, ठेक्का गर्न मंसिर पुग्ने भए जेठमा बजेट ल्याएको के अर्थ ? ।’ हुलाकी राजमार्गअन्तर्गत २५० वटा पुल बनाउनुपर्नेमा अहिलेसम्म १४२ वटा पुलको निर्माण भइसकेको छ । अहिले १९ वटा पुलको ठेक्का भएर काम भइरहेको उनले सुनाए ।
अहिले सडक विभाग स्रोतका अनुसार विभिन्न पार्टीबीच हुलाकी, मध्यपहाडी राजमार्गको यात्रा गर्न होडबाजी छ । यसरी यात्रा गरे पनि समयमै आयोजना सम्पन्न गर्न के कस्ता समस्या आइपरेका छन् र कसरी समाधान गर्न सकिन्छ भन्नेमा पहलकदमी नहुने गरेको विभागका एक इन्जिनियरले बताए ।
‘अहिले जुन–जुन पार्टीले राजमार्गको यात्रा गरिरहेका छन, भोलि अर्थमन्त्री, भौतिकमन्त्री हुने त्यही पार्टीकै मान्छे हुन्,’ ती इन्जिनियरले भने, ‘ठाउँमै पुगेपछि समस्या के रहे छन्, किन निर्माणमा ढिला भइरहेको रैछ, बजेटको अवस्था के छ, स्थानीय बासिन्दा, योजना प्रमुख र ठेक्का लिने निर्माण व्यवसायी के भन्छन् सबैका गुनासा सुनेर त्यसलाई कार्यान्वयन गर्नेतर्फ ध्यान जानुपर्छ ।’ देखाउनका लागि मात्र नभएर वास्तविक रूपमा राजमार्ग निर्माणमा भइरहेको ढिलाबारे बुझेर छिटो गराउनेतर्फ ध्यान जान जरुरी रहेको ती इन्जिनियरको भनाइ छ ।
