सेयर बजारमा गिरावट कायमै

नेप्से शून्य दशमलव १० प्रतिशतले घटेर २ हजार ६ सय ९ दशमलव शून्य पाँच बिन्दुमा

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

The stock market continues to decline

काठमाडौँ — पछिल्ला ६ कारोबार दिनयता सेयर कारोबार मापक नेप्सेको गिरावट कायमै छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २.६९ अंकले घटेको हो । यो दिन शून्य दशमलव १० प्रतिशतले घटेर २ हजार ६ सय ९ दशमलव शून्य पाँच बिन्दुमा ओर्लिएको छ । गत वैशाख २५ यता नेप्से लगातार घटिरहेको छ ।

आइतबार कुल एक सय कम्पनीको सेयर मूल्य बढ्यो, १४५ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको मूल्य स्थिर रह्यो । कुल ७९ हजार ८९३ पटकको सेयर किनबेचबाट ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता सेयर किनबेच भएको छ । 

लघुवित्त, अन्य र होटल तथा पर्यटन उपसमूहबाहेक सबै उपसमूह घटे । लघुवित्त ५६.९८, अन्य उपसमूह ९४.९४ र होटल तथा पर्यटन ७६.६६ अंकले बढे । व्यापार १६४.८८, विकास बैंक १२६.२९, निर्जीवन बिमा १०९.२७ अंकले घटेको नेप्सेले जनाएको छ । 

नेप्से घटेसँगै कुल बजार पुँजीकरण ४ अर्ब २६ करोड ९९ लाख रुपैयाँले घटेको छ  । गत बिहीबार ४३ खर्ब ४४ अर्ब ७० करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण आइतबार ४३ खर्ब ४० अर्ब ४३ करोड कायम भएको छ । यसले उक्त अवधिमा नेप्से करिब ४ अर्ब २६ करोड रुपैयाँले खुम्चिएको देखाउँछ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण घट्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा कमी आउनु हो । यही आधारमा पुँजीकरण घट्दा लगानीकर्ताको सम्पत्तिको मूल्य घटेका रूपमा विश्लेषण गरिन्छ ।

ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो । छ्याङ्दी हाइड्रोपावरको ९.९९, विन नेपाल लघुवित्तको ९.५३, नेपाल रि–इन्स्योरेन्स कम्पनीको ८.४१ र बाराही हाइड्रोपावर पब्लिकको ७.३२ प्रतिशतले सेयर मूल्य बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ८.७१, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ७.५३, ग्रिन डेभलपमेन्ट बैंकको ६.९४, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ६.८६ र युनिभर्सल पावर कम्पनीको ६.७० प्रतिशतले सेयर मूल्य घट्यो । 

कारोबार रकमका आधारमा नेपाल रि–इन्स्योरेन्स कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंक, राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी र हिमालयन रि–इन्स्योरेन्स कम्पनी अघि रह्यो । नेपाल रि–इन्स्योरेन्स कम्पनीको ७० करोड ३७ लाख ५० हजार, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको ५१ करोड ३६ लाख ६१ हजार, राधी विद्युत् कम्पनीको ४८ करोड ४२ लाख, युनिभर्सल पावर कम्पनीको ४३ करोड ८१ लाख र हिमालयन रि–इन्स्योरेन्स कम्पनीको ४२ लाख २७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कान्तिपुर

Link copied successfully