६ दिन लगातार घटेको नेप्सेमा २० अंकको वृद्धि

वैशाख २५ देखि जेठ ४ सम्म लगातार घटेको नेप्से सोमबार दोहोरो अंकले बढ्यो

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

A 20-point increase in NEPSE, which has fallen for 6 consecutive days

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १९.३० अंकले बढेको छ । गत वैशाख २५ यता लगातार घटिरहेको नेप्से जेठ ५ (सोमबार) शून्य दशमलव ७४ प्रतिशतले बढेर २ हजार ६ सय २८ दशमलव ३६ बिन्दुमा उक्लिएको छ ।

वैशाख २५ मा १२.०४, वैशाख २८ मा १२.५३, वैशाख ३० मा १४.८७, वैशाख ३१ मा १३.९६, जेठ १ मा ८.४१ र जेठ २ मा नेप्से २.७९ अंकले घटेको थियो । सोमबार कुल १८५ कम्पनीको सेयर मूल्य बढ्यो, ६० कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ७१ हजार २८७ पटकको सेयर किनबेचबाट १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर किनबेच भएको नेप्सेको तथ्यांक छ ।

आइतबारको तुलनामा सोमबार कारोबार रकम घटेको छ । आइतबार ८ अर्ब ५० करोड ९२ लाख २१ हजार रुपैयाँ कारोबार भएकामा सोमबार ७ अर्ब ३५ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार होटल तथा पर्यटन उपसमूहबाहेक सबै उपसमूहका परिसूचक बढे । सो दिन होटल तथा पर्यटन उपसमूह ८६.८५ बिन्दुमा बन्द भएको छ । निर्जीवन बिमा १३७.२९, विकास बैंक ९९.०९, जिवन बिमा ५४.७९, व्यापार २४.६६ अंकले बढेको छ ।

सप्तकोशी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकरमार्फत कारोबार नियन्त्रण गर्नुपरेको थियो । सिन्धु विकास बैंकको ९.९९, ओम मेगाश्री फर्मास्युटिकल्सको ९.९९, तेह्रथुम पावर कम्पनीको ९.९८ र कर्पोरेट विकास बैंकको ९.७९ प्रतिशतले सेयर मूल्य बढे । विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेकर लागेको थियो । छ्याङदी हाइड्रोपावरको ४.४०, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ४.३९, कृषि बैंक डेबेञ्चर २०८३ (१०.३५ प्रतिशत) को ३.८६, विन्दाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३.६७ प्रतिशतले सेयर मूल्य घट्यो ।

कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर र युनिभर्सल पावर कम्पनी अघि रहे ।

कान्तिपुर संवाददाता

Link copied successfully