सातामै ८२ अर्ब ८३ करोडले खुम्चियो सेयर बजारको आकार

अघिल्लो बिहीबार ४४ खर्ब २७ अर्ब ५३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण गत साता घटेर ४३ खर्ब ४४ अर्ब ७० करोड रुपैयाँ कायम

जेष्ठ ४, २०८२

कान्तिपुर संवाददाता

The size of the stock market decreased by 82.83 billion in a week

काठमाडौँ — गत साता सेयर बजारको आकार (कुल बजार पुँजीकरण) करिब पौने ८३ अर्ब रुपैयाँले खुम्चिएको छ । सातामा सबै कारोबार दिन नेप्से घटेपछि कुल बजार पुँजीकरणमा पनि कमी आएको छ । यसैलाई सेयर बजारको आकार घटेको रूपमा विश्लेषण गरिएको हो ।

गत साता चार दिन सेयर कारोबार भएकोमा सबै दिन नेप्से घट्यो । नेप्से घटेसँगै सो अवधिमा कुल बजार पुँजीकरण ८२ अर्ब ८३ करोड १४ लाख रुपैयाँले घटेको छ  । अघिल्लो बिहीबार ४४ खर्ब २७ अर्ब ५३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण गत बिहीबार ४३ खर्ब ४४ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ । यसले सो अवधिमा नेप्से करिब पौने ८३ अर्बले खुम्चिएको देखाउँछ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण घट्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा कमी आउनु हो । यही आधारमा पुँजीकरण घट्दा लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको रूपमा विश्लेषण गरिन्छ ।

गत साता सेयर कारोबार मापक नेप्से परिसूचक ४९.७९ अंकले घटेको छ । साताको चार कारोबार दिन नेप्से घट्दा २ हजार ६ सय ११.८५ बिन्दुमा ओर्लिएको नेप्से अघिल्लो साताको अन्तिम कारोबारका दिन २ हजार ६ सय ६१.६४ बिन्दुमा बन्द भएको थियो । 

गत साता ४ दिन मात्रै सेयर कारोबार भयो । यसअनुसार आइतबार १२.५३, मंगलबार १४.८७ , बुधबार १३.९६ र बिहीबार ८.४१ अंकले नेप्से घट्यो । गत साता ३५ अर्ब ६५ करोड ७४ लाख ३२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । अन्य साता जस्तै गत साता पनि नेप्से कारोबारमा जलविद्युत्कै वर्चस्व रह्यो । साताभर जलविद्युत्को मात्रै १९ अर्ब ११ करोड ८५ लाख ९६ हजार रुपैयाँको कारोबार भयो । जबकि बैंक, बिमा र वित्तीय संस्थाको ९ अर्ब ३४ करोड ९३ लाख ८७ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाइएको छ । 

सो अवधिमा होटल तथा पर्यटनको १ अर्ब २७ करोड ४२ लाख, इन्भेस्टमेन्टको २ अर्ब ५४ करोड २७ लाख ९६ हजार, उत्पादन तथा प्रशोधनको १ अर्ब ११ करोड, सामूहिक लगानी कोषको ७ करोड ३० लाख, अन्य उपसमूहको १ अर्ब ३६ करोड ३४ लाख, प्रमोटर सेयरको ७२ करोड ६४ लाख र व्यापारको ९ करोड ९४ लाख ८१ हजार रुपैयाँको कारोबार भएको नेप्सेको तथ्यांक छ । 

गत साता ३ लाख ८२ हजार ४७० पटकको सेयर किनबेचबाट ८ करोढ १७ लाख ५९ हजार ३२६ कित्ता सेयर खरिदबिक्री भयो ।

कान्तिपुर

Link copied successfully