जगदुल्लाको ठेक्कामा सिउ र हाई हिमालयले पाएनन् अन्तरिम आदेश

कानुनबमोजिम गर्न जगदुल्ला कम्पनीलाई उच्च आदलतको आदेश

जेष्ठ ३, २०८२

कान्तिपुर संवाददाता

Siu and High Himalayas did not get an interim injunction on Jagdulla's contract

काठमाडौँ — सरकारले डोल्पामा निर्माण गर्न लागेको १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावर कम्पनीको विवादित ठेक्कामा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले जगदुल्लाको बोलपत्र मूल्यांकन समितिविरुद्ध दायर गरेको रिट निवेदनमा उच्च अदालत पाटनले आयोजनाको आर्थिक र प्राविधिक प्रस्ताव खोलिसकेकाले अन्तरिम आदेश जारी गर्नु नपर्ने र कानुनबमोजिम गर्न आदेश दिएको हो ।

आफ्नो कम्पनीको प्राविधिक प्रस्तावलाई जगदुल्ला कम्पनीको मूल्यांकन समितिले अयोग्य ठहर गर्नु सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६१, ६२ को विपरीत भएको दाबी गर्दै सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले रिट दर्ता गरेका थिए ।

प्राविधिक मूल्यांकनका क्रममा सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभी अयोग्य ठहर भएको अन्य विषय मुद्दाको अन्तिम निर्णय हुँदा निरुपण हुनेसमेत उच्च अदालतको आदेशमा उल्लेख छ । 

‘निवेदक जेभीको प्राविधिक प्रस्ताव सारभूत रूपमा प्रभावकारी हुँदाहुँदै निवेदकको प्राविधिक प्रस्तावले ‘नन रेस्पोन्सिभ’ ठहर गरेको भनी निवेदकले उठाएको विषय र निवेदकले माग गरेको अन्य विषय प्रस्तुत मुद्दाको अन्तिम निर्णय हुँदा निरुपण हुने देखिएको र उल्लिखित आयोजनाको आर्थिक र प्राविधिक प्रस्ताव खोलिसकेको सन्दर्भमा मागबमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन । कानुनबमोजिम गर्नू,’ आदेशमा भनिएको छ । 

आर्थिक प्रस्तावमा बोलपत्रदाताबाट कबोल गरिएको रकम प्राविधिक प्रस्तावको मूल्यांकनकै क्रममा सार्वजनिक जानकारी हुनुले सम्पूर्ण खरिद प्रक्रिया नै औचित्यहीन भएकाले प्राविधिक प्रस्ताव मूल्यांकन र त्यसकै आधारमा आर्थिक प्रस्ताव खोल्न जारी गरिएकौ सूचना बदर गर्न र सम्पूर्ण खरिद प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश माग गर्दै गर्दै गत वैशाख २२ मा सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले रिट दर्ता गरेका थिए । 

न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले वैशाख २३ मा जगदुल्ला हाइड्रोपावर कम्पनीविरुद्ध कारण देखाऊ आदेश जारी गरेको थियो । जगदुल्ला हाइड्रोपावर कम्पनी र कम्पनीको बोलपत्र मूल्यांकन समितिविरुद्ध दायर रिट निवेदनमा १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत अदालतले आदेश दिएको थियो ।

लगत्तै वैशाख ३० मा उच्च अदालतले जगदुल्ला जलविद्युत् आयोजनाका विवादित ठेक्कासम्बन्धी सक्कल फाइल झिकाएको छ । न्यायाधीशद्वय खडानन्द तिवारी र प्रकाश खरेलको इजलासले जगदुल्ला हाइड्रोपावर कम्पनीलाई विवादित ठेक्काको बोलपत्र मूल्यांकनसम्बन्धी सक्कल फाइल नै इजलासमा ल्याउन आदेश गरेको थियो ।

जगदुल्ला हाइड्रोपावर कम्पनीले वैशाख ९ मा जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभी र सिनो हाइड्रो कर्पोरेसनयोग्य रहेको भन्दै आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गरेको थियो । वैशाख २४ मा खोलेको आर्थिक प्रस्तावबाट सबैभन्दा कम मूल्य कबोल गरेपछि ठेक्का जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभीले पाउने भएका छन् ।

कम्पनीसम्बद्ध स्रोतका अनुसार सिनो हाइड्रोले मूल्य अभिवृद्धि कर (भ्याट) सहित १५ अर्ब ७ करोड रुपैयाँ र जियाङ्सी र एएनके जेभीले १३ अर्ब ७३ करोड रुपैयाँ रकम कबोल गरेका थिए । प्राप्त आर्थिक प्रस्ताव मूल्यांकन भइरहेको कम्पनीले जनाएको छ ।

जगदुल्ला लिमिटेडले २०८१ माघ ६ मा दोस्रो पटक आयोजनाको ठेक्का प्रक्रिया आह्वान गरेको थियो  । यसअघि २०८१ जेठ २० मा सिभिल र हाइड्रो मेकानिकलअन्तर्गत इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (ईपीसी) तर्फ आह्वान गरेको ठेक्का प्रक्रिया विवादमा परेपछि रद्द भएको थियो । 

कान्तिपुर

Link copied successfully